काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले शिक्षाको गुणस्तर सुधार गर्न आफू प्रतिबद्ध रहेको बताएकी छन्। मन्त्रालयमा बिहीबार अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैटौँ) को ज्ञापनपत्र बुझ्दै मन्त्री भट्टराईले शिक्षाको गुणस्तर सुधार गर्न आफू प्रतिबद्ध रहको बताएकी हुन्।
भट्टराईले अनिवार्य तथा निःशुल्क शिक्षाको कार्यान्वयन, उच्च शिक्षामा व्यावहारिक शिक्षा, विद्यालयहरूको भौतिक सुधार र विद्यालय शिक्षाको गुणस्तर सुधारका विषयलाई पहिलो प्राथमिकता दिएर काम गरिरहेको बताइन्। साथै उनले नीतिगत सुधार गर्दै समग्र शिक्षाको विकासका लागि निरन्तर कार्य गरिरहेको बताइन्।
उनले विद्यार्थी संगठनबाट प्राप्त भएका सुझावहरूले आफूलाई काम गर्न थप सजिलो हुने, अहिलेको सरकारको संरचना अनुसार शिक्षा संघ, प्रदेश र स्थानीय सरकार तीनै तहको जिम्मेबारीमा भएकोले हरेक तहका सरकारले प्राथमिकताका साथ यसलाई हेर्नुपर्ने र स्थानीय सरकारले शिक्षा कोष बनाई शिक्षाको दीगो विकासमा योगदान दिनुपर्ने बताइन्।