काठमाडौँ– नेकपा माओवादी केन्द्रले ६ महिने जागरण अभियान सुरु गर्ने भएको छ। माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहीबार बसेको स्थायी समिति बैठकले ६ महिने जागरण अभियान चलाउने निर्णय गरेको हो।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले मदन भण्डारी लोकमार्ग र हुलाकी राजमार्गलाई केन्द्रित गरेर बेग्लाबेग्लै अभियान चलाइने जानकारी दिए।
‘देशलाई गम्भीर संकटबाट बचाउन दुईवटा अभियान चलाउनुपर्छ भनेर अध्यक्षले भन्नुभएको छ’, प्रचण्डको भनाई उधृत गर्दै सापकोटाले भने, ‘एउटा मदन भण्डारी लोकमार्गमा आधारित र अर्को हुलाकी राजमार्ग केन्द्रित भएर ६ महिना जनतामा गएर के चाहेका छन् ?के खोजेका छन् ? यी समग्र कुराको अध्ययनसहित सिक्ने सिकाउने र रुपान्तरणको प्रक्रियामा जानुपर्छ।’ उनले अग्रगामी कार्यदिशासहित जनतालाई सुसूचित गर्नुपर्ने र समेट्नुपर्ने निष्कर्ष बैठकले निकालेको जानकारी गराए।
उनले बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुनः एकपटक जनताको बीचमा गएर पार्टी रूपान्तरणको प्रक्रियामा पार्टी लाग्ने बताएको जानकारी दिए। साथै बैठकमा पहिलो र दोस्रो पार्टी मिलेर बनेको सरकार जाने र देश गम्भीर संकटमा पर्ने निष्कर्ष निकालेको छ।