‘विलक्षण क्षमताकी’ कूटनीतिज्ञ विन्देश्वरी अब सम्झनामा मात्र

जसले राजा महेन्द्र र बीपीलाई अमेरिकी लाइब्रेरीकाे सदस्य बनाएकी थिइन्

चन्द्रशेखर अधिकारी १८ पुष २०८१ १६:१८
296
SHARES
‘विलक्षण क्षमताकी’ कूटनीतिज्ञ विन्देश्वरी अब सम्झनामा मात्र

काठमाडौँ- अब्बल कूटनीतिज्ञ एवं पूर्वराजदूत विन्देश्वरी मल्ल शाहको बिहीबार बिहान निधन भएको छ। नेपालकी पहिलो महिला राजदूत शाहको काठमाडौँ कालीमाटीस्थित निवासमा निधन भएको हो।  उनी ९२ वर्षकी थिइन्।

पहिलो महिला राजदूत मात्रै नभएर नेपालको कूटनीतिक क्षेत्रमा खेलेको भूमिकालाई लिएर शाहको नाम श्रद्धापूर्वक लिने गरिन्छ। स्वदेशमा मात्रै  होइन विदेशी नेताहरूसामु पनि आफ्नो व्यक्तित्वलाई उचाइमा पुर्‍याउन सफल विन्देश्वरीबाट सिक्नुपर्ने धेरै कुरा रहेको जानकारहरू बताउँछन्।

शाह सहसचिव हुँदा २०४४ सालमा भारतका लागि राजदूत भएकी थिइन्। उनी कात्तिकमा राजदूतमा सिफारिस भए पनि सार्कको तेस्रो शिखर सम्मेलनपछि चैतमा मात्रै भारत गएकी थिइन्। शाहअघि कोही पनि नेपाली महिला राजदूत भएकी थिएनन्। शाहलाई तत्कालीन राजा वीरेन्द्रले भारतका लागि नेपाली राजदूतमा नियुक्त गरेका थिए।

१८ अप्रिल १९८८ मा तत्कालीन भारतीय राष्ट्रपति आर बेंकटरमणसमक्ष ओहदाको प्रमाणपत्र प्रस्तुत गरेकी थिइन्। प्रमाणपत्र प्रस्तुत गर्दा उनको स्वागत र परिचय दिँदा भनिएको थियो, ‘पहिलो नेपाली महिला राजदूतका रूपमा भारतमा स्वागत गर्न पाउँदा हामी खुसी छौँ।’  शाह २०४५ सालको भारतीय नाकाबन्दी ताका राजदूत थिइन्। नाकाबन्दी हटाएर दुई देशबीचको सम्बन्ध सामान्यीकरण गर्न उनले निर्वाह गरेको सक्रिय भूमिकाको  नेपालको कूटनीतिक क्षेत्रमा प्रशंसा हुँदै आएको छ।

विन्देश्वरी शाह तेस्रो पटकको प्रयासमा सन् १९५९ अन्त्यमा शाखा अधिकृतबाट परराष्ट्रसेवा प्रवेश गरेकी थिइन्। उनीसँगै अधिकृत हुनेमा यादवकान्त सिलवाल, उद्धवदेव भट्ट, विश्व प्रधान, भानुप्रसाद थपलिया र केदारप्रसाद कोइराला थिए। भट्ट, प्रधान र सिलवाल सचिव भए। उनीसँगै अस्थायीमा प्रवेश गरेकी शान्ता राणाले स्थायीमा नाम निकाल्न नसकेपछि बिदा भइन्। विन्देश्वरीले भने अतिरिक्त ‘परराष्ट्र सचिव’ सम्म बन्ने अवसर प्राप्त गरिन्। अतिरिक्त परराष्ट्र सचिव पद अहिले छैन।

विन्देश्वरीले लोकसेवा परीक्षा दिएर अधिकृत हुँदा परराष्ट्रमा उनी एक्लो महिला अधिकृत थिइन्। सन् २०१० पछि मात्रै परराष्ट्रमा महिला अधिकृतको संख्या बढ्न थालेको हो। अहिले त महिला राजदूत पनि अधिक भइसकेका छन भने अधिकृत र उपसचिव बन्नेको संख्या पनि तीन दर्जन नाघिसकेको छ।  शाह राजदूत भएको समयमा अम्बिका मानन्धर लुइटेल अधिकृतमा प्रवेश गरेकी थिइन्।

शाह २०४६ सालमा मुलुकमा प्रजातन्त्र आएपछि २०४७को सुरुमा नै नयाँदिल्लीबाट नेपाल फर्किइन्। राजदूत रहँदा सहसचिव रहेकी उनी फर्कँदा अतिरिक्त सचिव बनिन्। प्रजातन्त्र आएपछि ३० वर्षे सेवा अवधि लगाएर अवकाशमा जान बाध्य नपारिएको भए शाह पहिलो महिला परराष्ट्र सचिव बन्ने सम्भावना रहेको जानकारीहरू बताउँछन्।  शाहले पनि आफ्नो इच्छा पहिलो महिला शिष्टाचार महापाल र परराष्ट्र सचिव बन्नु रहेको सन् २००३ मा राइजिङ नेपालमा दिएको अन्तर्वार्तामा बताएकी छन्। उनले सेवा छोडेको ३२ वर्षपछि बल्ल परराष्ट्र मन्त्रालयले महिला सचिव पाएको थियो। तर अहिलेका कूटनीतिज्ञले शाहको पदचाप पछ्याउन नसकेको भनेर  प्रश्न  उठ्ने गरेको छ।

शाहले सानैमा महत्त्वपूर्ण जिम्मेवारी वहन गर्नु परेको थियो। परराष्ट्र अधिकृतका रूपमा उनले पहिलो पोस्टिङ अमेरिकामा पाएकी थिइन्। त्यति बेला मातृकाप्रसाद कोइराला र जनरल पदमबहादुर खत्रीसँग काम गर्ने अवसर पाइन्। सोही संगतले उनी कूटनीतिमा धारिलो भइन्। अमेरिकामा उनी कार्यवाहक राजदूतसमेत भएकी थिइन्। त्यतिबेला उनी वासिङ्टन क्षेत्रमा कार्यवाहकको जिम्मेवारी सम्हाल्ने एक्लो महिला कूटनीतिज्ञ थिइन्।

सन् १९६१ मा मातृका अमेरिकाको राजदूत भएका बेला वासिंटन डीसीस्थित नेपाली दूतावासमा विन्देश्वरी द्वितीय सचिव थिइन्। कुनै पनि महिला विदेशस्थित नेपाली नियोगको जिम्मेवारी सम्हाल्न गएको त्यो पहिलोपटक थियो। अमेरिकाका लागि पूर्वराजदूत प्राध्यापक श्रीधर खत्रीले उनलाई अमेरिकामै राम्रोसँग चिनेको बताउँछन्। त्यतिबेला खत्रिका पिता जनरल पमबहादुर खत्री डीसीमा नियोग उपप्रमुख थिए।  खत्री बढुवा भएर फर्केका थिए भने कोइराला राजीनामा दिएर फर्केका थिए।

उपसचिव भएपछि तत्कालीन राजा वीरेन्द्रले ढाका पठाएका थिए। बंगलादेश स्वतन्त्र भएपछि कूटनीतिक सम्बन्ध स्थापना गर्ने जिम्मेवारी विन्देश्वरीले पाएकी थिइन्। पूर्वी पकिस्तान हुँदासम्म नेपालको वाणिज्यदूतावास रहेकोमा बंगलादेश स्वतन्त्र भएपछि कूटनीतिक सम्बन्ध र दूतावास स्थापना विन्देश्वरीले नै गरेकी थिइन्। सैनिक विद्रोह र राष्ट्रपति सेख मुजिबुर रहमानको हत्याका समयमा उनी बंगलादेशमा थिइन्।  श्रीधरले कुराकानीका क्रममा हिमालप्रेससँग भनेका थिए, ‘विन्देश्वरी शाह खासमा पहिलो महिला राजदूतमात्र होइन, मुलुकको परराष्ट्र सेवमा विशिष्ट योगदान गर्नुभएकी एक अब्बल कूटनीतिज्ञ हो। हाम्रो मुलुकको परराष्ट्र सेवाको एक ओजनदार व्यक्तित्व हो। कूटनीतिक इतिहासमा एउटा सम्मानित नाम पनि हो।’

विन्देश्वरी सन् १९३३ मा भारतको खर्साङमा जन्मिएकी हुन्। तत्कालीन राणा प्रधानमन्त्री चन्द्रशमशेरको अपमानका  कारण  विन्देश्वरीका पिता पद्मसुन्दर मल्ल (भक्तपुरे मल्ल) ले मुलुक छाडेका थिए। त्यसपछि उनीहरूको परिवार पश्चिम बंगाल अर्थात् दार्जिलिङको खर्साङमा बस्दै आएको थियो। उनका बुबाले जापानमा विद्युत् इन्जिनियरिङमा स्नातक गरेपछि अमेरिका मिसिसिपी विश्वविद्यालयमा स्नातकोत्तर गर्न पुगे। त्यसपछि सन् १९२२ मा नेपाल फर्कँदा ‘धेरै पढ्ने जान्ने हुने?’ भनेर राणाले निकालेको प्रसंग नाति अनिलकेशरीले बेलाबेलामा सुनाउँछन्। बैंकरमा नाम कमाएका अनिलकेशरी विन्देश्वरीका छोरा हुन्।

आमा विन्देश्वरी शाहसँग अनिलकेशरी शाह। तस्बिर सौजन्य : अनिलकेशरी शाह

विन्देश्वरीले खर्साङको सेन्ट हेलेन विद्यालयमा अध्ययन गरेकी थिइन। राम्रो निबन्ध लेख्ने एक सय जनालाई अमेरिका भ्रमण गराउने प्रचलनअनुसार ‘द वर्ल्ड अफ टुमरो’ शीर्षकमा निबन्ध लेख्दा विन्देश्वरी अमेरिका भ्रमणका लागि छनोटमा परेकी थिइन्। सन् १९५२ मा अमेरिका जाने अवसर पाएकी उनले तत्कालीन राष्ट्रपति ह्यारी ट्र्युम्यानसँग पनि भेट्न गरेकी थिइन्। त्यहाँको पत्रिकामा उनको नाम छापिएको थियो। नेपाल सरकारका प्रतिनिधिबाहेक आमनागरिकका रूपमा अमेरिकी राष्ट्रपतिसँग भेट्ने उनी पहिलो नेपालीका रूपमा चिनिइन्।

त्यतिबेला केही समय भ्रमण गरेर फर्किएपछि उनी उच्चशिक्षा अध्ययनका लागि फेरि अमेरिका गइन्। सन् १९५६ मा विन्देश्वरीले कोलम्बिया विश्वविद्यालयको बर्नार्ड कलेजबाट लिबरल आर्ट्समा स्नातक गरिन्। उनी अमेरिकामा स्नातक गर्ने पहिलो नेपाली महिला पनि बनिन्। लगत्तै उनले जोन्स हप्किन्स युनिभर्सिटी, वासिंटन डीसीबाट सन् १९५८ मा अन्तर्राष्ट्रिय मामिलामा स्नातकोत्तर सकिन्। त्यही बीचमा उनले लाइब्रेरियनको प्रशिक्षण पनि लिएकी थिइन्।

स्नातकोत्तर सकेर नेपाल फर्किएकी उनले काठमाडौँस्थित अमेरिकी लाइब्रेरीमा चिफ लाइब्रेरियन भएर जागिर खान थालिन्। अमेरिकी लाइब्रेरी न्युरोडमा थियो। उनी त्यहाँ काम गरिरहँदा राजा महेन्द्र र प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाले लाइब्रेरी कार्ड बनाएका थिए। विन्देश्वरी अध्ययनका लागि आउने बीपीकै सल्लाहमा परराष्ट्रमा प्रवेश गरेको पनि भनिन्छ। विन्देश्वरी विवाह  भिरकोटे राजाका छोरा डा. नारायणकेशरी शाहसँग विवाह भएको थियो। चिकित्सक नारायणकेशरी नेपालका प्रसिद्ध कूटनीतिज्ञ हृषीकेश शाहका भाइ थिए।

परिवारका सदस्यका साथ विन्देश्वरी शाह। तस्बिर सौजन्य : अनिलकेशरी शाह

पूर्वराजदूत डा. भेषबहादुर थापा भारतमा राजदूत रहँदा विन्देश्वरीले निर्वाह गरेको भूमिका स्मरणीय रहिरहने बताउँछन्। थापाले भने, ‘विन्देश्वरीजस्तो व्यक्ति भारतमा राजदूत भएका कारण कतिपय बिग्रिसकेका विषय समाधान भए। धेरै बिग्रन पाएन। आन्तरिक समस्या थियो। एक्लो राजदूतले के गर्ने?’  तत्कालीन समयमा उत्पन्न समस्या समाधान गर्न विन्देश्वरीले खेलेको भूमिकाले उनलाई अब्बल कूटनीतिज्ञ बनाएको  डा. थापा बताउँछन्।

उनले भने, ‘हाम्रो कूटनीतिक इतिहासमा विन्देश्वरी विलक्षण क्षमता भएकी व्यक्ति हो। उहाँ कसैको फुर्को नसमाती कुनै कोटा नलिईकन आफ्नै क्षमतामा त्यहाँ पुगेको व्यक्ति हो’, डा. थापाले भने।

विन्देश्वरीका बारेमा नेपाली कूटनीतिज्ञले मात्र होइन उनलाई पटकपटक भेट्ने अवसर पाएकी बंगलादेशकी पूर्वप्रधानमन्त्री सेख हसिनाले समेत नेपालको चम्किलो व्यक्तित्व भन्ने गरेकी थिइन्। नेपालका कूटनीतिज्ञ भेट्दा हसिना विन्देश्वरीलाई सम्झन्थिन्।  म उहाँको प्रशंसक नै हो समेत भन्थिन् उनी। विन्देश्वरीको कूटनीतिक कुशलता र गहिरो अध्ययनबाट प्रभावित हसिना प्रभावित रहेको बंगलादेशमा राजदूत बनेर फर्किएकाहरूले बताउने गरेका छन्। कैयाैँ कूटनीतिज्ञका रोल मोडल रहेकी विन्देश्वरी अब सम्झनामा मात्र। अलबिदा महामहिम!


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast