काठमाडौँ- सिन्धुपाल्चोकको माझीटार केन्द्रविन्दु भएर भूकम्प गएको छ। बिहीबार अपराह्न १ बजेर २ मिनेट जाँदा ४.८ म्याग्नेच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले हिमालप्रेसलाई जानकारी दिए।
‘सिन्धुपाल्चोकको माझीटार आसपास केन्द्र भएर ४.८ म्याग्नेच्युडको भूकम्प गएको हो’, उनले भने। भूकम्पको धक्का सिन्धुपाल्चोकसहित, काठमाडौँ उपत्यका,काभ्रेलगायतका जिल्लामा महसुस भएको थियो।
विद्यालयमा पढाइरहेका बेला भूकम्पको धक्का महसुस भएपछि बालबालिका केहीबेर त्रसित भएको सिन्धुपाल्चोकको कमलादेवी माविकी शिक्षक सुनिता नेपालले बताइन्। यसैगरी स्थानीय बासिन्दमा पनि खैलाबैला भएको थियो। काभ्रेमा पनि भूकम्पको धक्का महसुस गरिएको स्थानीय बासिन्दाले बताएका छन्। भूकम्पको क्षतिको विवरण भने प्राप्त भइनसकेको अधिकारीले बताएका छन्।