बजेटमा शिक्षा क्षेत्रलाई प्राथमिकता नदिएसम्म सुधार हुँदैन : डा.बाबुराम भट्टराई

हिमाल प्रेस १८ पुष २०८१ ११:०१
662
SHARES
बजेटमा शिक्षा क्षेत्रलाई प्राथमिकता नदिएसम्म सुधार हुँदैन : डा.बाबुराम भट्टराई

काठमाडौँ- नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का संयोजक डा.बाबुराम भट्टराईले बजेटमा शिक्षा क्षेत्रलाई प्राथमिकता दिन जरुरी रहेको बताएका छन्। शैक्षिक सुधारका लागि उभिएर आन्दोलन गरिरहेका नेत्र चापागाईँलाई ऐक्यबद्धता जनाउन माइतीघरमा बुधबार आयोजित खुला शैक्षिक बहस कार्यक्रमलाई सम्बोधन गर्दै डा.भट्टराईले बजेटमा शिक्षा क्षेत्रलाई प्राथमिकता दिनुपर्ने र सही राजनीति भएमात्र शिक्षा क्षेत्रको विकास हुने धारणा राखे।

सीमित साधनस्रोतबीच पनि प्राथमिकीकरण गरेर शिक्षा क्षेत्रको विकास गर्न जरुरी रहेको औँल्याउँदै उनले यसतर्फ राजनीतिक नेतृत्वले ध्यान दिनुपर्ने बताए। उनले भने,‘शिक्षाका लागि बजेट र प्राथमिकीकरणका कुराहरू गर्नुपर्ने हुन्छ। साधनस्रोतको सिमितता सबैमा हुन्छ। त्यो सीमित स्रोतको पहिलो प्राथमिकता केमा दिने भन्ने हो। यसलाई बुझ्न‚ विकासका नीति र नियम बुझ्न सही राजनीति नै हुनुपर्छ। हामी गरिब छौँ तर दिमागको गरिबी सबैभन्दा खतरनाक कुरा हो। त्यसलाई सच्याउने र सुधार्ने भनेको शिक्षाबाटै हो।’

उनले शिक्षा आयोगको प्रतिवेदनलाई तुरुन्त लागु गर्न पनि दबाब दिनुपर्ने बताए। केही पुराना भन्नेहरूले आन्दोलनभित्र पसेर लाभ लिने र चुनावको रोटी सेक्ने प्रवृत्ति रहेकाले सजग हुन उनले सुझाव दिए। भट्टराईले युवाको सक्रियतामा नै यस क्षेत्रको सुधार सम्भव रहेको धारणा राखे। आफू अर्थमन्त्री र प्रधानमन्त्री हुँदा शिक्षा र कृषि क्षेत्रमा सबैभन्दा बढी बजेट विनियोजन गरे पनि पछिल्लो समय त्यसलाई बढाउनेभन्दा घटाउने काम भएको भट्टराईले बताए।

कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका नेता पूर्व शिक्षामन्त्री शिशिर खनालले शिक्षालाई बलियो र प्रभावकारी नबनाएसम्म देश विकास नहुने बताए। उनले पछिल्लो समयमा सार्वजनकि विद्यालयमा विद्यार्थीको संख्या घटिरहेको भन्दै चिन्ता प्रकट गरे। उनले पैसा हुने र नहुनेबीच दुईवटा समाज निर्माण भएको बताउँदै सार्वजनिक स्कुलमा पढ्ने विद्यार्थीले राम्रो शिक्षा आर्जन गर्न सक्छन् भन्ने ग्यारेन्टी सरकारले गर्नुपर्नेमा जोड दिए।

उनले भने,‘पछिल्लो समय नेपालमा सार्वजनिक शिक्षा लिनेहरूको संख्या निरन्तर घटेर ७५ प्रतिशतभन्दा तल पुगेको छ। नेपाल जति अर्गनाइज हुँदैछ, जति सहरीकरण हुँदैछ त्यति सार्वजनिक विद्यालयहरू र विद्यालयमा पढ्ने विद्यार्थीको संख्या घटेको देखिन्छ। सहरीकरणसँगै नेपालको सार्वजनिक विद्यालय अथवा सार्वजनिक विद्यालयमा पढ्ने विद्यार्थीको संख्या घट्दो छ।’

सांसद खनालले सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थीले शिक्षा आर्जन गर्नसक्छ भन्ने ग्यारेन्टी राज्यले दिन नसकेको बताए। उनले शिक्षामा सबैको पहुँच पुर्‍याउन सरकारले निजी शैक्षिक संस्थाहरूलाई निरुत्साहित गर्न जरुरी रहेको बताए।

कार्यक्रममा नागरिक पहिलो अभियानका डम्बर खतिवडा,विवेकशील साझा पार्टीकी रञ्जु दर्शना, शिक्षक महासंघका उपाध्यक्ष पुष्पराज कुँवर, बृहत् नागरिक आन्दोलनका शिशिर उप्रेती, बालविकास शिक्षक जयन्ती बस्नेतलगायतले शैक्षिक गुणस्तर सुधारका लागि आमूल परिवर्तनको खाँचो रहेको औँल्याएका थिए।

प्रकाशित: १८ पुष २०८१ ११:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast