
काठमाडौँ- एन्फा महिला फुटबल लिगको अन्तिम चरणका खेल बिहीबार (आज) बाट सुरु हुँदैछन्। अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा हुने अन्तिम चरणको पहिलो खेलमा बिहीवार विभागीय टोली त्रिभुवन आर्मी क्लब र बागमती युथ क्लबबीच हुँदैछ। दुई टोलीबीचको खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा दिउँसो ३ बजे सुरु हुनेछ।
पहिलो चरणको लिगमा आर्मी दोस्रो स्थानमा रहेको थियो। कोशी प्रदेशले अन्तिम चरणको लिगबाट नाम फिर्ता लिएपछि छैटौं स्थानको बागमतीले लिगमा मौका पाएको थियो। पहिलो चरणको लिगमा आर्मीले बागमतीलाई ३-० को गोल अन्तरमा पराजित गरेको थियो।
अन्तिम चरणको लिगमा ५ टोलीलले प्रतिस्पर्धा गर्दैछन्। गत भदौ अन्तिममा भएको पहिलो चरणको लिगमा सहभागी दस टोलीबाट शीर्ष पाँच टोली अन्तिम चरणका लागि छनोट भएका हुन्। माघ १६ गतेसम्म चल्ने अन्तिम चरणको लिगमा विभागिय टोलीहरु नेपाल पुलिस, नेपाल एपिएफ क्लब र त्रिभुवन आर्मी क्लब, वालिङ नगरपालिका र बागमती युथ क्लबले सहभागीता जनाउँदै छन् ।
अन्तिम चरणमा २४ खेल हुनेछन् । लिग चरणको २० खेलपछि शीर्ष ४ टोलीले प्लेअफमा स्थान बनाउनेछन्। लिगका सबै खेलको प्रत्यक्ष प्रशारण हाम्रो खेलकुदको युट्युब च्यानलमा हुनेछ।