काठमाडौँ- केपी शर्मा ओली २०७१ साउनमा पहिलोपटक एमाले अध्यक्षमा निर्वाचित भए। त्यसपछि २०७८ कात्तिकमा चितवन महाधिवेशनबाट उनी दोस्रोपटक एमालेको नेतृत्व सम्हाले।
चितवन अधिवेशनबाट सर्वसम्मत पार्टी अध्यक्ष बन्ने उनको चाहना थियो। ओलीको त्यो चाहना स्वाभाविक पनि थियो। किनभने पार्टीभित्र राजनीतिक रूपमा उनलाई चुनौती दिने ‘हेभीवेट’ का अरू नेताहरू कोही थिएनन्। महाधिवेशनअगावै ऐमालेभित्र उत्पन्न विग्रहका कारण माधवकुमार नेपाल, झलनाथ खनालहरू बाहिरिएर नेकपा(एकीकृत समाजवादी) पार्टी बनाइसकेका थिए।
प्रतिस्पर्धामा उत्रिएर चुनौती दिनेहरू कोही नभएपछि ओली र उनी निकटस्थहरू सर्वसम्मत अध्यक्ष चुनिनेमा ढुक्क थिए। चितवन महाधिवेशनबाट सर्वसम्मत अध्यक्ष निर्वाचित हुने ओली र उनका निकटस्थहरूको विश्वासमाथि ‘ब्रेक’ लगाइदिए, नेता भीम रावलले। चुनावी प्रक्रियामा ओलीलाई टक्कर दिन नसक्ने थाहा हुँदाहुँदै रावलले पार्टीको भावी अध्यक्ष पदका लागि उम्मेदवारी दिए।
हुन पनि त्यस्तै भयो। रावल ओलीसँग भारी मतान्तरले पराजित भए। दुवै जनाबीचको मतको अन्तर फराकिलो थियो। रावलले पार्टीभित्र लोकतान्त्रिक परिपाटी बसाल्न उम्मेदवारी दिएको भन्दै बचाउ गरे। तर, उनी त्यही बेला ओलीको निशानामा परिसकेका थिए। चितवन महाधिवेशनपछि एमालेभित्र रावलको सक्रियता मलिन हुँदै गयो। पूर्वउपाध्यक्षसमेत रहेका उनी पार्टी बैठकहरूमा बोलाउन छोडिए। यहाँसम्म कि २०७९ सालको निर्वाचनमा एमालेबाट उनले टिकटसमेत पाएनन्। रावलको ठाउँमा एमालेले झपट रावललाई उम्मेदवार बनायो। समयक्रमसँगै पार्टीभित्र ओझेलमा पर्दै गएका रावल एकदिन ‘भित्ता लगाइने’ अनुमान धेरैले गरिसकेका थिए। अन्ततः चितवन महाधिवेशन सकिएको तीन वर्षपछि रावल एमालेबाट निकालिएका छन्।
ओली पार्टी नेतृत्वमा उदाएपछि पछिल्लोपटक पूर्वउपाध्यक्षसमेत रहेका भीम रावल पार्टीबाट अलग भएका छन्। ओली अध्यक्ष हुँदा पार्टीबाट अलग हुने रावल एक्ला शीर्ष नेता भने होइनन्। यसअघि माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतमलगायतका नेता ओली नेतृत्वको एमालेबाट अलग भइसकेका छन्।
रावलबाहेकका अन्य नेता ओलीका समकक्षी र प्रतिपस्पर्धी हुन्। यद्यपि रावलको बहिर्गमनको मूल कारण पनि ओलीसँग पार्टी अध्यक्षमा प्रतिस्पर्धा गर्नु नै हो।
२०७१ अगाडि पनि अोली प्रभावशाली नेता थिए। २०४६ को जनआन्दोलनपछि एमालेको राजनीतिमा उदाएका उनी २०४७ मा प्रजातान्त्रिक राष्ट्रिय युवा संघको संस्थापक अध्यक्ष बनेका थिए। उनको संसदीय यात्रा भने २०४८ सालको चुनावमा झापा–६ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएको हो। ओलीले २०४९ सालमा एमाले विदेश विभाग प्रमुखको जिम्मेवारी पाए। त्यसयता पोलिटब्युरो सदस्य, प्रचार विभाग प्रमुख, संसदीय दलको उपनेता हुँदै २०६५ मा झलनाथ खनालसँग अध्यक्षमा पराजित भएका ओली पछिल्लो एक दशकदेखि निरन्तर पार्टी नेतृत्वमा छन्।
२०५१ सालमा गृहमन्त्री बनेर सत्ता यात्रामा थालेका ओली २०६३ सालमा उपपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री बनेका थिए। २०७२ असोज २४ गते पहिलोपटक प्रधानमन्त्री भएका ओलीले करिब १० महिना सरकारको नेतृत्व गरेका थिए भने २०७४ मा फागुन ३ मा दोस्रोपटक प्रधानमन्त्री नियुक्त भएपछि ४० महिना सरकारमा रहे। २०७८ सालमा तीन महिना सरकारको नेतृत्व गरेका ओलीसँग कुनै समय निटक रहेका नेताहरू माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र भीम रावल अहिले उनको साथमा छैनन्। एमालेबाट अलग भएका यी नेताहरू ओलीलाई प्रतिशोधी भनेर आरोप लगाउँछन्।
को कहिले बाहिरिए?
भीम रावल : रावल एमालेका पूर्वउपाध्यक्ष हुन्। उनी एमालेबाट संसद्मा निर्वाचित भएर उपप्रधान, गृहमन्त्री, पर्यटनमन्त्री भइसकेका नेता हुन्। कुनै बेला एमाले संगठनमा सुदूरपश्चिममा पडक राख्ने रावल अब एमालेमा छैनन्। उनी एमालेमा आफूले ४९ वर्ष बिताएको बताउँछन्। उनी चितवनमा सम्पन्न एमालेको १० औँ महाधिवेशनमा ओलीसँग अध्यक्षमा चुनाव लडेका थिए। अध्यक्षमा हारे पनि रावल निरन्तर ओलीको पेलानमा पर्दै आएका थिए। उनले २०७९ को चुनावमा टिकट पाएनन् भने ओलीले पार्टी जिम्मेवारी पनि दिएनन्।
अहिलेको एमालेले गरेको वामपन्थी धारमा आफूले ५ दशक बिताएको रावलको दाबी छ। अन्य कम्युनिस्ट पार्टीका नेताले जस्तै रावलले पनि बुधबार आफ्ना पूर्व अध्यक्ष ओलीको कडा आलोचना गरेर बाहिरिए। यद्यपि एमालेले यसअघि नै रावललाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको थियो। रावलले ओलीमाथि प्रतिक्रियावादी, देशघाती, भ्रष्टचारी, दम्भी, अरूलाई निषेध गर्ने, दुराग्रही, पूर्वाग्रही, द्वेषी, निषेधात्मक प्रवृत्ति भएका र असहिष्णु प्रवृत्तिका, स्वेच्छाचारी, षड्यन्त्रकारी, प्रतिशोधी जस्ता आरोप लगाएका छन्।
माधव नेपाल : एमाले वरिष्ठ नेता रहेका नेपालले २०७८ भदौ २ मा आफूसहित ५८ जना केन्द्रीय सदस्यलाई समेटेर नेकपा एकीकृत समाजवादी पार्टी दर्ता गराएका थिए। अध्यक्ष केपी शर्मा ओली एकलौटी रुपमा अघि बढेको आरोपमा नेपाल समूह अलग भएको थियो। त्यतिबेला नेपाल समूहमा रहेका भीम रावल र घनश्याम भुसाल समाजवादीमा गएका थिएनन्।
भुसाल केही वर्षपछि समाजवादीमा प्रवेश गरिसकेका छन्। २०५० पछि १५ वर्षसम्म पार्टी महासचिव हुँदा ओलीले नेपाललाई सहयोग गरेको एमालेका पुराना कार्यकर्ताहरू बताउँछन्। ७० को दशकको अन्त्यतिर भने ओली नेता नेपाललाई कारबाही गर्ने हैसियतमा पुगे। एमालेको समानान्तर कमिटी निर्माण गर्न थालेको भन्दै ओलीले २०७७ चैतमा नेपाललाई ६ महिनाका लागि निलम्बन गरेका थिए। त्यतिबेला ओलीको निलम्बन पर्नेमा रावल पनि थिए। त्यसको ६ महिनापछि नेपाल र झलनाथ खनाल एमालेबाट अलग भएर नेकपा एकीकृत समाजवादी गठन गर्न पुगेका थिए। रावल भने एमालेमै थिए।
झलनाथ खनाल : निर्वाचन आयोगमा नेकपा समाजवादी पार्टी दर्ता हुँदा वरिष्ठ नेता बनेका खनाल एमालेका पूर्वअध्यक्ष हुन्। २०२५ सालमा पार्टी सदस्यता प्राप्त गरेका खनाल २०३९ सालमै ३३ वर्षको उमेरमा तत्कालीन नेकपा (माले) को महासचिव भएका थिए। उनी २०४६ साल भदौसम्म पार्टी महासचिव रहे। २०४६ पछि खनाल एमालेका पोलिटब्युरो सदस्य बनेका थिए। २०६५ को बुटवलमा सम्पन्न आठौँ महाधिवेशनबाट अध्यक्षमा निर्वाचित भएका खनाल एमालेबाटै २०६७ माघ २० मा प्रधानमन्त्री भएका थिए। उनी पनि माधकुमार नेपालसँग एमालेबाट अलग भएका हुन्।
वामदेव गौतम : गौतम पनि एमालेका पूर्वअध्यक्ष हुन्। कुनै बेला वामपन्थी राजनीतिमा शीर्ष भूमिकामा रहेका वामदेव गौतम केही समय राजनीतिबाट पलायनजस्तै भए। यद्यपि उनी नेकपा समाजवादीमा प्रवेश गर्ने लगभग निश्चित भएको छ। तत्कालीन नेकपामा उपाध्यक्ष रहेका गौतम नेकपा एमाले र माओवादी केन्द्र पूर्ववत् अवस्थामा फर्कँदा कतै गएनन्।
गौतम ‘नेकपा एकता अभियान’ मा सक्रिय भए। अभियानमा कुनै वामपन्थी नेताहरू ध्रुवीकरण भएनन्। प्रधानमन्त्री र पार्टी अध्यक्षसम्म हैसियत बनाउने अवस्थामा पुगेका गौतम एक्लिएका थिए। उपप्रधानमन्त्री एवं गृहमन्त्रीसमेत बनिसकेका गौतम आफूलाई राष्ट्रिय राजनीतिबाट सकाउन केपी ओलीको षड्यन्त्र बढी रहेको बताउने गर्छन्। उनी २०५४ सालमा एमाले फुट्दा मालेका महासचिव बनेका थिए।