काठमाडौँ– श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आगामी फागुनमा राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन आयोजना गर्ने भएको छ।
श्रम मन्त्रालयले बुधबार पत्रकार सम्मेलन गरेर आगामी फागुन १६ र १७ गते काठमाडौँमा राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन आयोजना गर्ने जानकारी दिएको हो।
आन्तरिक रोजगारी क्षेत्रलाई व्यवस्थापन, कानुन निर्माण, श्रम बजारमा युवाको सहभागिता र रोजगारी सिर्जना गर्ने उद्देश्यले राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन आयोजना गर्न लागिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाले जानकारी दिए।
उनकाअनुसार सम्मेलनमा आन्तरिक बजारको अवस्था, रोजगारदाता कम्पनीको सहभागिता र सेवा सुविधाका विषयमा बहस हुने छ।
आन्तरिक श्रम बजारलाई वैदेशिक रोजगारीसँग जोडेर हेरिने गरिएको बताउँदै उनले आन्तरिक रोजगारी वैदेशिक रोजगारीभन्दा फरक रहेको भन्ने सन्देश सम्मेलनबाट दिन लागिएको उल्लेख गरे।
‘नेपालमा रोजगारीका अवसर सिर्जना हुन्छन्। त्यसको वेवास्ता भइरहेको छ। सुरक्षित रोजगारी भए पनि छाडेर वैदेशिक रोजगारीमा जाने क्रम बढ्यो। यो रोक्नुपर्छ,’ उनले भने।
राष्ट्रिय श्रम तथा रोजगार सम्मेलनले पनि देशभित्र सिर्जना भएकै रोजगारीमा जति सकिन्छ त्यति गरौँ भने सन्देश पनि दिने उनको भनाइ छ।
राष्ट्रिय श्रम तथा रोजगार सम्मेलनमा देशका रोजगारदाता कम्पनी, श्रमविज्ञ, रोजगारी खोज्ने युवा र सरकारको सहभागि हुने श्रम मन्त्रालयले जनाएको छ। श्रम मन्त्रालयका अनुसार दुई दिने सम्मेलनमा ५ सयभन्दा बढी रोजगारदाता सहभागी हुनेछन्।