काठमाडौँ- एन्फा महिला लिगको सुपर लिग चरण बिहीबारदेखि सुरु हुँदैछ। लिग चरणमा सहभागी १० टिममध्ये नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल प्रहरी क्लब, वालिङ नगरपालिका र कोशी प्रदेश सुपर लिगका लागि छनोट भएका थिए। लिग चरणमा टिमहरूले एक अर्कासँग सिंगल राउन्ड रोबिन ढाँचामा खेलेका थिए।
बागमती युथ क्लब, संकटा एफसी, चन्द्रपुर नगरपालिका, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लिग चरणबाटै बाहिरिएका थिए। तर, कोशी प्रदेशले नाम फिर्ता लिएपछि बागमती युथ क्लबले सुपर लिग खेल्ने अवसर पाएको छ।
नेपाल एपीएफ क्लबले लिग चरणमा आठ खेल जितेर एक खेलमा बराबरी खेल्दै उत्कृष्ट प्रदर्शन गरेको थियो। एपीएफले ५३ गोल गर्दा २ गोल मात्र खाएको थियो। दशौं स्थानमा रहेको सुदूरपश्चिमले भने सबै नौ खेल हार्दै ७१ गोल खायो र तीन गोल मात्र गर्न सक्यो।
सुपर लिगमा पाँच टिमले डबल राउन्ड रोबिन ढाँचामा प्रतिस्पर्धा गर्नेछन्, जसमा प्रत्येक टिमले अन्य टिमसँग दुई-दुई पटक खेल्नेछन्। शीर्ष चार टिम क्वालिफायर्स, एलिमिनेटर र फाइनलमा प्रतिस्पर्धा गर्न अघि बढ्नेछन्। सबै खेलहरू सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुनेछन्।