काठमाडौँ- एमालेको साधारण सदस्यसमेतबाट निकालिएका भीम रावलले अध्यक्ष केपी शर्मा ओलीको कडा आलोचना गरेका छन्। रावलले बुधबार राजधानीमा पत्रकार सम्मेलन गरी ओलीलाई लुब्ध, प्रतिशोधी, भ्रष्टाचारी, पाखण्डीजस्ता आरोप लगाएका हुन्।
रावलले आफू राष्ट्रिय स्वाधीनता, स्वाभिमान र जनजीविका पक्षमा झन्डा उठाउन अग्रसर भएको बताएका छन्। उनले राष्ट्रियताको हितको पक्षमा अघि बढ्न लाग्दै गर्दा साथ दिन सबै पक्षलाई आह्वान गरे।
रावल कार्की ब्यांक्वेट पुग्दा समर्थक र शुभचिन्तकले स्वागत गरेका थिए रावललाई गत पुस १० गते बसेको एमाले सचिवालय बैठकले पार्टीको साधारण सदस्य नरहने गरी हटाएको थियो। त्यसपछि उनी नयाँ पार्टी घोषणा गर्ने तयारीमा छन्। रावलले ओलीले आफ्नो ४९ वर्षको पार्टीको राजनीतिक जीवन र ५१ वर्षको राजनीतिक जीवन सिध्याउन खोजेको पनि आरोप लगाएका छन्।
रावलले पत्रकार सम्मेलनको सुरुमै नेकपा एमालेका अध्यक्ष केपी ओलीलक्षित ‘लुब्ध नाइके’ शिर्षकको व्यंग्यात्मक कविता बाचन गरेर गरेका थिए।
लुब्ध नाइके
सिद्धान्त सोधे उत्तेजित हुने, के रोग लाग्यो नि?
गन्तव्य सोधे लाठो नै लाउने के झोँक जाग्यो नि!
तथ्य र सत्य घोच्दछ तिम्लाई, के भयो भनन
के दियौ देशलाई घरिना हुँदा कुरा त सुनन
सुनलाई पित्तल, पित्तललाई सुन किन पो भन्दछौ?
रातदिन केवल सत्ताको हिसाब लुब्ध भई गन्दछौ।
चामल र ढुंगा उस्तै हो भन्छौ स्वार्थको बगरमा
फनफनी जनता घुमाउँछौ किन त्यो कालो कहरमा
भनन भन, तृप्ति तिम्लाई कहिले हुने हो
भ्रष्ट आचार बेलगाम कृते असैह्य हुने भो
सामूहिक घर कसरी भन्छौ एकलौटी मेरै हो ।
पाखण्ड तन्त्र, अवसरतन्त्र अब त धेरै पो
यहाँ मातृभूमि चीत्कार गर्छिन्, अट्टहास गर्दछौँ
स्वाधीनता गौरव जोगाउनुपर्दा लुसुक्क गर्दछौँ।
नठान यहाँ स्वाभिमान हाम्रो मरेर जानेछ
शक्तिको उन्माद सबैलाई अब खर्लप्प खानेछ।