काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले विद्यालय र विश्वविद्यालयबीच संवाद तथा अन्तर्क्रिया आवश्यकता रहेको बताएकी छन्। विश्वविद्यालय अनुदान आयोग भक्तपुरमा मंगलबार मन्त्री भट्टराईले विद्यालय र विश्वविद्यालय बीचमा संवाद र अन्तर्क्रियाको आवश्यकता रहेको बताएकी हुन्।
उक्त कार्यक्रममा उनले उच्च शिक्षा क्षेत्रमा सुधार र गुणस्तर कायम राख्नका लागि सबै विश्वविद्यालयका नेतृत्वले विशेष ध्यान दिनुपर्ने बताइन्। उनले सम्वन्धनको विषय पेचिलो भएकोले यस विषयलाई वैज्ञानिक दृष्टिकोणबाट हेरिनुपर्ने, विश्वविद्यालय स्वायत्त संस्था भएकोले नियन्त्रणको आवश्यकता नपर्ने तर स्वःअनुशासन र स्वः नियन्त्रण आवश्यक रहने बताइन्।
शिक्षाको विस्तार गर्ने मात्र नभइ यसले जीवनस्तर सुधार्नका लागि पर्याप्त आम्दानी र अवसर सिर्जना गर्नुपर्ने विषयतर्फ सोच्नुपर्ने समय आएको उनको धारणा थियो। मन्त्री भट्टराईले शिक्षाबाट समाजमा वर्ग निर्माण हुन नहुने तथा यसबाट सामाजिक न्यायको पक्षमा काम हुनुपर्नेमा जोड दिइन्।
उच्च शिक्षा क्षेत्रमा गुणस्तरको मापन प्रतिस्पर्धामा आधारित हुनुपर्ने साथै, विश्वविद्यालयहरूले गुणस्तर कायम राख्नका लागि सक्रिय भूमिका लिनुपर्ने धारणा उनको छ। शैक्षिक क्यालेण्डर पालना नगरेमा विश्वविद्यालयहरूमा जाने स्रोत रोक्नुपर्नेसम्मको अवस्था आउन सक्ने पनि उनले छलफलमा बताइन्।
साथै विश्वविद्यालयका पदाधिकारीहरू बीचमा सामन्जस्य र समन्वयको वातावरण बनाउनु आवश्यक भएकोमा मन्त्री भट्टराईले जोड दिइन्।