काठमाडौँ- सरकारले गत चैतमा सुन्तलालाई ‘राष्ट्रिय फल’ घोषणा गरेको थियो। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले जोन तथा सुपर जोन निर्धारण गरी सुन्तला उत्पादन वृद्धिका लागि राष्ट्रिय फल घोषणा गरेको हो।
राष्ट्रिय फल घोषणा गरे पनि सुन्तला उत्पादन वृद्धिमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयले नयाँ योजना ल्याउन सकेको छैन। राष्ट्रिय फल वर्षमा एक सिजन मात्र उत्पादन हुँदै आएको छ। नेपाल सुन्तला विक्रेता समितिका बजार प्रमुख धीरेन्द्र पुनमगरका अनुसार नेपाली बजारमा मंसिर, पुस र माघ स्वदेशी सुन्तलाले धान्ने गरेको छ। स्टोर गर्ने ठाउँ नहुँदा किसानलाई माघ अन्तिममा सस्तो मूल्यमा सुन्तला बेच्नुपर्ने बाध्यता छ। ‘चैतदेखि भारतीय र चिनियाँ सुन्तला भित्रिन्छ’, पुनमगरले भने।
सुन्तलाको कोल्डस्टोर भएमा स्वदेशी उत्पादनले ६ महिना धान्ने उनी बताउँछन्। कृषि तथा पशुपन्छी विकास मन्त्रालयकी प्रवक्ता डा. मतिना जोशी वैद्यले परियोजना तथा कार्यक्रमबाट सुन्तला जातको वृद्धि विकास, बगैँचा व्यवस्थापन र बिरुवा उत्पादनका लागि जोन तथा सुपर जोन घोषणा गरिएको बताइन्। उनका अनुसार पुरानै परियोजना तथा कार्यक्रमबाट काम हुँदैछ। नयाँ योजना आएका छैनन्। सुन्तलाको उत्पादन र खेती बढाउने विषयमा छलफल भइरहेको उनले बताइन्।
‘राष्ट्रिय फल सुन्तलाका बारेमा कुनै नयाँ योजना थपिएको छैन। सुन्तला उत्पादन हुने जोन तथा सुपर जोन क्षेत्रमा कोल्डस्टोर बनाउन पहल भइरहेको छ। स्वदेश सुन्तलालाई चैतदेखि पछाडि पनि बेच्न मिल्ने गरी चालु आर्थिक वर्षभित्र कोल्डस्टोर निर्माण हुन्छन्’, वैद्यले भनिन्।
वैद्यका अनुसार कृषि ज्ञान केन्द्रले पनि सुन्तलालाई प्राथमिकतामा राखेर काम गरिरहेको छ। सुन्तलाको गुणस्तर वृद्धि, बजारीकरण, बगैँचा विस्तार र रोग परीक्षण भइरहेको उनको भनाइ छ। मन्त्रालयले परियोजनाअन्तर्गत गोरखा, गुल्मी, जाजरकोट, सोलुखुम्बु, उदयपुर, म्याग्दी, नवलपरासी, दैलेख, रामेछाप, धनकुटा, सङ्खुवासभा, भोजपुर, पाल्पा, डोटी र दार्चुला गरी १५ जिल्लालाई सुन्तला उत्पादनका लागि जोन घोषणा गरेको थियो। बजारीकरण, उत्पादकत्व वृद्धि, भण्डारणका लागि सिन्धुली र स्याङ्जामा २ वटा सुन्तलाका सुपर जोन घोषणा गरिएको छ।
राष्ट्रिय फलफूल विकास केन्द्रका वरिष्ठ बागवानी विकास अधिकृत सूर्यप्रसाद बरालले प्रधानमन्त्री परियोजनामार्फत बगैँचा र बजार व्यवस्थापनका लागि काम भइरहेको जानकारी दिए। सुन्तलाका बिरुवा उत्पादनका लागि मापदण्ड लागू गरेर अनुगमन गर्ने र बगैँचा स्थापना गर्ने किसानलाई स्वस्थ बिरुवा वितरणका लागि प्रदेश र स्थानीय तहले काम गर्ने उनले बताए।
‘सुन्तलाबाट राम्रो आम्दानी हुने, बाँझो खेतमा रोप्न मिल्ने, बाँदरले खासै दुःख नदिने भएकाले उत्पादनमा स्थानीय तहले प्राथमिकता दिएको हो। सुन्तलाको तीनवटा जात दर्ता भएको छ। थप दुईवटा जात दर्ता गर्ने प्रक्रिया छ।’ उनले भने, ‘बाँस खर्क स्थानीय, खोकु स्थानीय, धनकुटा अगौटे सुन्तला जात दर्ता भएका छन्।’ विभिन्न जातका सुन्तला फल्ने गरे पनि दर्ता भएका छैनन्। अब सबै प्रकारका सुन्तलाको पहिचान गरेर दर्ता गरिने बरालले बताए।
नेपालमा ३० अर्ब रुपैयाँभन्दा बढीको सुन्तला उत्पादन भई बजारमा आउने गरेको राष्ट्रिय फलफूल विकास केन्द्रको तथ्यांक छ। बजार र अर्थतन्त्रका हिसाबले आँपभन्दा सुन्तलाको हिस्सा बढी छ। नेपालमा वार्षिक एक करोड २० लाखभन्दा बढी दाना सुन्तला उत्पादन हुने गरेको कन्द्रेको अनुमान छ। नेपालमा उत्पादन भएको २० प्रतिशत सुन्तला निर्यात हुने गरेको छ ३० प्रतिशतभन्दा बढी कागती–सुन्तला बजारमा आउँदैन।
देशभर २९ हजार हेक्टरमा लगाइएको सुन्तला खेतीबाट वार्षिक करिब तीन लाख मेट्रिक टन सुन्तला उत्पादन भएर बजारमा आउने गरेको राष्ट्रिय फलफूल विकास केन्द्रका वरिष्ठ बागवानी विकास अधिकृत सूर्यप्रसाद बराल बताउँछन्।
बरालका अनुसार देशका ६७ जिल्लामा सुन्तलाखेती हुन्छ। ५८ जिल्लामा सबभन्दा बढी सुन्तला उत्पादन भइरहेको छ। देशका ८ सय ७ वडामा सुन्तलाखेती हुन्छ। मध्यपहाडको नगदे बालीका रूपमा सुन्तला खेतीलाई लिइन्छ। सुन्तला हाल देशभर २९ हजार हेक्टरमा खेती भइरहेको केन्द्रले जनाएको छ। तीन हजार क्षेत्रफलमा सुन्तला जातका फलफूलको बगैँचा विस्तार गर्ने लक्ष्यका साथ काम भइरहेको बराल बताउँछन्।
आयोजनाको १० हजार हेक्टर क्षेत्रफलमा तीन हजार क्षेत्रफल सुन्तला, जुनार र कागतीखेती विस्तार गर्ने गरी लक्ष्य भएको उनले बताए। ‘सुन्तलालाई राष्ट्रिय फल घोषणा गरिएको जियोग्राफी इन्डिकेडर लिन मिलोस् भनेर हो। नेपालमा व्यापक क्षेत्रफल ओगटेको बाली कमै छ। तर सुन्तलालाई वर्षमा दुई पटक फल्ने फलका रुपमा विकास गर्ने योजनाका साथ काम भइरहेको छ’, उनले भने।
सुन्तलामा करिब ७ लाख जनशक्ति प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा रोजगारीमा आबद्ध छन्। बजारसँग जोड्नका लागि निजी क्षेत्र, सहकारी, स्थानीय तहसँग सहकार्य गरेर विभिन्न पूर्वाधार कोल्ड स्टोर र प्रशोधनका अभाव हुँदा सुन्तलाखेती व्यावसायिक रुपमा विकास हुन सकेको छैन। सुन्तलाबाट राम्रो आम्दानी हुने, बाँझो खेतमा रोप्न मिल्ने, बाँदरले खासै दुःख नदिने भएकाले उत्पादनमा स्थानीय तहले प्राथमिकता राख्नुपर्ने किसानको माग छ।
पहाडी क्षेत्रमा काष्ठफल तथा फलफूल विकास आयोजना (नाफा) ले फलफूलको बगैँचा विस्तार गर्ने मुख्य गरी सुन्तलाखेतीलाई राखेको छ। नाफाले भने लक्ष्यअनुसार काम गरेको छैन।
कृषि मन्त्रालयअन्तर्गतको राष्ट्रिय फलफूल विकास केन्द्रले आँप, सुन्तला, केरा, लप्सी, नासपती र स्याउ गरी ६ वटा फललाई राष्ट्रिय फलको मान्यता दिएको हो।