६ महिनामा एक लाख बढीले घुमे चितवन राष्ट्रिय निकुञ्ज

हिमाल प्रेस ४ माघ २०८१ १६:२८ | Friday, January 17, 2025
६ महिनामा एक लाख बढीले घुमे चितवन राष्ट्रिय निकुञ्ज चितवनको सौराहामा रमाउँदै पर्यटक। तस्बिरः पर्यटन बोर्ड

चितवन- चालु आर्थिक वर्ष २०८१/८२ को ६ महिनामा चितवन राष्ट्रिय निकुञ्जमा एक लाख १० हजार तीन सय ४५ पर्यटकले अवलोकन भ्रमण गरेका छन्। भ्रमण गर्नेमा सबैभन्दा बढी आन्तरिक पर्यटक रहेका छन्।

निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार साउनयता निकुञ्जमा ५३ हजार एक सय तीन नेपालीले भ्रमण गरेका छन्। दक्षिण एसियाली मुलुकका १० हजार आठ सय ५० र तेस्रो मुलुकका ४६ हजार तीन सय ९२ जनाले निकुञ्जको भ्रमण गरेका छन्। पर्यटकबाट रु १३ करोड एक लाख ४६ हजार राजस्व सङ्कलन भएको उनले बताए।

निकुञ्जमा दुर्लभ एकसिङ्गे गैँडा, पाटेबाघ, गोहीलगायत वन्यजन्तु, जलचर र चराचुरुङ्गी हेर्न पर्यटक आउने गरेका छन्। निकुञ्ज र मध्यवर्ती क्षेत्रमा हात्ती, डुङ्गा, जिप र पैदल यात्रा गरेर पर्यटक रमाउने गर्दछन्। चितवनको मुख्य आकर्षण नै चितवन राष्ट्रिय निकुञ्ज हो।

यसैबीच, निकुञ्जमा एउटा पोथी गैँडा मृतावस्थामा भेटिएको छ। बिहीबार निकुञ्जको धु्रव पोष्ट नजिक ताप्लेतालमा अन्दाजी ३० वर्षको पोथी गैँडा मृत भेटिएको हो। उक्त गैँडा प्राकृतिक कारण मरेको आशङ्का गरिएको छ। मृत भेटिएको गैँडाको खाग खुर सुरक्षित छ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्म १३ गैँडा मृत भेटिएका छन्। जसमध्ये पाँच भाले, पाँच पोथी र लिङ्ग पहिचान नभएका तीन रहेका छन्। मृत भेटिएकामध्ये एउटा विद्युतीय करेन्ट लागेर मरेको हो भने अन्य सबै प्राकृतिक कारणले मरेका हुन्।

प्रकाशित: ४ माघ २०८१ १६:२८ | Friday, January 17, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast