सुन्तलाखेतीले फेरियो दोसल्ले गाउँको मुहार

हिमाल प्रेस १४ माघ २०८१ १२:५१ | Monday, January 27, 2025
सुन्तलाखेतीले फेरियो दोसल्ले गाउँको मुहार

म्याग्दी- रोजगारको सिलसिलामा १४ वर्ष विदेशी भूमिमा बिताएका अन्नपूर्ण गाउँपालिका-७ दोसल्लेका प्रेमलाल मगर अहिले गाउँमै सुन्तलाखेतीमा रमाइरहेका छन्। उनी यसैले आफूलाई आत्मनिर्भर बनाएको बताउँछन्। बाह्र वर्षअघि करिब तीन रोपनी बारीमा सुन्तला रोपेका मगरको सुन्तला बगैँचामा ९० वटा बोटले फल दिन्छन्।

यसवर्ष बगैँचाबाटै १० लाखको सुन्तला बिक्री भएको मगरले बताए। ‘पहिले घरपरिवारको आर्थिक स्रोतकै लागि ११ वर्ष कतार र तीन वर्ष दुबईमा काम गरेँ, तर अहिले सुन्तलाले उत्पादन दिन थालेपछि विदेश जान छोडेको हुँ, अहिले आफ्नै सुन्तलाबारीमा पसिना बगाउँदा आनन्द लाग्छ’, मगरले भने।

केही वर्ष अघिसम्म दोसल्लेका अधिकांश परिवारका लागि रोजगारीका लागि विदेश जानु बाध्यता थियो। तर अहिले गाउँ कृषिबाट आत्मनिर्भर बनेको छ। गाउँका अधिकांश परिवारले व्यावसायिक रूपमा सुन्तलाखेती गरिरहेका छन्। कूल ४२ घरधुरीको बसोबास रहेको दोसल्लो गाउँमा यसवर्ष सुन्तलाबाट एक करोड ६० लाख बढी भित्रिएको छ।

पोखरा र काठमाडौँका व्यवसायी बगैँचामै पुगेर सुन्तला खरिद गरेपछि अहिले धमाधम सुन्तला टिप्ने काम भइरहेको छ। दोसल्ले व्यावसायिक सुन्तलाजात किसान समूहका अध्यक्ष प्रेम पाइजाले अघिल्लो वर्ष गाउँबाट ८० लाखको सुन्तला बिक्री भएकोमा यसवर्ष दोब्बरले आम्दानी बढेको जानकारी दिए।

‘पहिले गाउँमा सामान्य जीविकोपार्जन गर्नसमेत कठिन थियो, गाउँमा आम्दानीको कुनै स्रोत थिएन, आज सुन्तलाखेतीले स्थानीयलाई आर्थिक लाभ दिएको छ, कृषिबाटै गाउँलेको जीवनस्तर बदलिएको छ’, पाइजाले भने।

उनका अनुसार दोसल्लेमा १० हजार सुन्तलाका बोट छन्। २०६८ मा पोखराबाट माटो परीक्षण विभागबाट विज्ञ ल्याएर माटो परीक्षण गरी सुन्तला खेतीमा लागेका दोसल्लेवासीले हरेक वर्ष सुन्तलाखेतीलाई विस्तार गर्दै लगेका छन्। परम्परागत रूपमा धान, मकै, कोदो, मटमास हुने खेतबारी सुन्तलाले ढाकिएको छ। नयाँ बोटलेसमेत फल दिन सुरु गरेकाले अबको केही वर्षमा यस गाउँमा सुन्तलाबाट वार्षिक तीन करोड बढी रकम भित्रने स्थानीयवासीको अनुमान छ।

दोसल्लेका सबै घरमा सुन्तलाखेती गरिएको छ। गाउँबाट बसाइँसराइ रोकिएको छ। पहिले बेनी, पोखरालगायतका ठाउँमा बसाइँसराइ गरेकालेसमेत गाउँमा फर्किएर बाँझिएको जग्गामा सुन्तला रोपण गरेका छन्। विभिन्न पेसा, व्यवसायमा लागेकासमेत अहिले दोसल्लेमा सुन्तलाखेतीमा लामबद्ध भएका छन्। बेनीमा व्यवसाय गर्दै आएका विकास श्रेष्ठलेसमेत दोसल्लेमा व्यावसायिक सुन्तलाखेती गरेका छन्। अन्नपूर्ण गाउँपालिकाका पूर्वउपाध्यक्ष केशमाया मगरलेसमेत सुन्तला खेतीलाई विस्तार गरेकी छन्।

खेतीयोग्य जमिन सबैमा सुन्तला रोप्ने अभियान चलेको दोसल्ले व्यावसायिक सुन्तलाजात किसान समूहले जनाएको छ। दोसल्लेमा विगत करिब १३ वर्षदेखि सुन्तलाखेती हुँदै आएको छ। सुन्तलाबाट राम्रो नगद आम्दानी हुन थालेपछि यहाँका किसान परम्परागत अन्नबाली लगाउन छाडेर सुन्तलाखेती विस्तारमा जुटेको स्थानीय मायादेवी गर्वुजाले बताइन्।

सुन्तला गाउँको रूपमा विकास भएको दोसल्लेका स्थानीय कामको खोजीमा भौतारिनुपर्ने बाध्यता हटेको छ। बिहानदेखि बेलुकासम्म आफ्नै खेतबारीका सुन्तला बगैँचाको स्याहार गर्ने र आफ्नै घरपरिवारसँग गाउँमै बसेर सुन्तला फलाएर आयआर्जन हुन थालेपछि दोसल्लेबासीको मुहारमा खुसी र जीवनमा सन्तुष्टि छाएको छ। गाउँमा सुन्तला खेतीसँगै आलुलगायतका तरकारीखेती, बाख्रापालन, कुखुरापालन लगायतको व्यावसायिकताले यो गाउँ आत्मनिर्भर र समृद्ध बन्ने बाटोमा छ।

सुन्तला खेती विस्तार, रोगकीराको उपचार, औजार उपकरण खरिद र सिँचाइ विस्तारमा बाली संरक्षण विभाग पोखरा, कृषि ज्ञान केन्द्र, सुन्तला जोन र अन्नपूर्ण गाउँपालिकाबाट भएको सहयोगले सुन्तलाको व्यावसायिकखेतीमा हौसला थपेको समूहका अध्यक्ष पाइजाले जानकारी दिए।

जिल्लामा यसवर्ष ३३ करोड ४६ लाखको सुन्तला बिक्री भइसकेको कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख सञ्जीव बाँस्तोलाले जानकारी दिए। म्याग्दीमा आठ सय २० हेक्टर जमिनमा  सुन्तलाखेती हुँदै आएकोमा चार सय २५ हेक्टर जमिनको सुन्तलाका बोटले मात्रै फल दिने गर्छ । किसानको बगैँचाबाटै प्रतिकिलो रू ६० देखि एक सय २० सम्मको मूल्यमा व्यापारीले सुन्तला खरिद गरेका छन्।

प्रकाशित: १४ माघ २०८१ १२:५१ | Monday, January 27, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast