दोधाराचाँदनीस्थित महाकाली नदी पुल।
कञ्चनपुर– कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१ स्थित सुक्खा बन्दरगाह निर्माणको बाटो खुलेको छ।
बन्दरगाह निर्माणस्थलमा भएका रूख कटानका लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र नेपाल इन्टरमोडल यातायात विकास समितिबीच सम्झौता भएपछि बन्दरगाह निर्माणको बाटो खुलेको हो।
एकीकृत जाँचचौकी निर्माणका लागि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा रहेको राष्ट्रिय वनक्षेत्रको ४२ दशमलव ३६ हेक्टर जग्गा प्रयोग गर्न र उक्त जग्गामा रहेका विभिन्न प्रजातिका एक हजार सात सय दुई वटा रूख र खम्बा हटाउन स्वीकृतिका लागि विभाग र समितिबीच सम्झौता भएको समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले जानकारी दिए।
‘रूख कटानका लागि विभाग र समितिबीच सम्झौता भएको छ शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयले एकीकृत जाँचचौकी निर्माणस्थलमा भएको रूखको छपान मूल्यांकन गरी विभागमा पठाउनेछ र विभागबाट प्रमाणित भएपछि शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयबाट रूख कटानको आदेश उपलब्ध गराउनुपर्ने हुन्छ,’ कार्यकारी निर्देशक गजुरेलले भने, ‘आदेश प्राप्त भएपछि समितिले प्रचलित कानुनअनुसार आफ्नै खर्चमा रूख कटानलगायत काम गर्नेछ।’
उनले समिति रूख कटानको आदेशको पर्खाइमा रहेको र रूख कटानको आदेश प्राप्त हुनासाथ तत्काल काम सुरू गर्ने बताए।



