समाजवादी मोर्चाले सरकारविरूद्ध प्रदर्शन गर्ने

हिमाल प्रेस १६ माघ २०८१ १८:५२ | Wednesday, January 29, 2025
समाजवादी मोर्चाले सरकारविरूद्ध प्रदर्शन गर्ने फाइल तस्बिर।

काठमाडौँ- समाजवादी मोर्चाले सरकारविरूद्ध प्रदर्शन गर्ने भएको छ। बुधबार नेकपा (एकीकृत समाजवादी) को आलोकनगरस्थित कार्यालयमा बसेको बैठकले चैत २४ गते सरकारविरूद्ध जनप्रदर्शनसहितको सभा गर्ने निर्णय गरेको हो।

वर्तमान सरकारको कार्यशैली र देशमा देखिएका सबै खाले समस्याविरूद्ध चैत २४ गते प्रदर्शन गर्ने निर्णय भएको एकीकृत समाजवादीका प्रचार विभागका उपप्रमुख दामोदार अर्यालले जानकारी दिए।

उनले मोर्चालाई थप सक्रिय बनाउँदै सातै प्रदेशमा राजनीतिक गतिविधि अगाडि बढाउने निर्णय बैठकले गरेको बताए। अर्यालले भने,‘मोर्चालाई सातै प्रदेशमा सक्रिय बनाउने कुरा भएको छ। राष्ट्रिय मुद्दामा एक भएर गतिविधि अगाडि बढाइन्छ।’

मोर्चाले चैतको पहिलो साता मधेशमा जनप्रदर्शनसहितको सभा गर्ने निर्णय गरेको उनले बताए। जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव माओवादीबाट असन्तुष्ट बने पनि मोर्चामा पुनः सामेल हुने उनको भनाइ छ।

‘मोर्चाभन्दा पनि माओवादीसँग उहाँको केही असन्तुष्टि देखिएको छ। उहाँलाई मोर्चामा ल्याउन हाम्रो प्रयास जारी छ, उहाँ फर्किनु हुन्छ,’ अर्यालले भने।

प्रचार विभाग उपप्रमुख अर्यालले सरकारले संसद छलेर ल्याएको अध्यादेशको प्रतिवाद गर्ने निर्णय भएको छ।

मोर्चाका साथै एकीकृत समाजवादीले छुट्टै पनि सरकारको कार्यशैलीविरूद्ध आन्दोलनको तयारी गरिरहेको उनले बताए। अब बस्ने केन्द्रीय कमिटी बैठकबाट सरकारका कामकारबाही र कार्यशैलीविरूद्ध आन्दोलनको निर्णय हुन सक्ने उनले बताए।

प्रकाशित: १६ माघ २०८१ १८:५२ | Wednesday, January 29, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast