शिक्षामन्त्रीसँग विद्यालय भौतिक संरचना, शिक्षक दरबन्दी र सेवासुविधा दिन माग

हिमाल प्रेस १० माघ २०८१ १०:५८ | Thursday, January 23, 2025
शिक्षामन्त्रीसँग विद्यालय भौतिक संरचना, शिक्षक दरबन्दी र सेवासुविधा दिन माग

काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले दुर्गम र भौगोलिक रूपमा पिछडिएको क्षेत्रका विद्यालयहरूलाई सरकारले पहिलो प्राथमिकताका साथ काम गर्ने बताएकी छन्।

बुधबार मन्त्रालयमा डोल्पाको शे–फोक्सुण्डो गाउँपालिकाका उपाध्यक्ष तथा गाउँ शिक्षा संयोजक पेम्मा वाङ्छेन गुरुङसहितको टोलीले गाउँपालिकाको विद्यालयको अवस्था र बालबालिकाको शिक्षाबारे समस्या राखेपछि मन्त्री भट्टराईले दुर्गम र भौगोलिक रूपमा पिछडिएको क्षेत्रका विद्यालयलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने बताइन्।

उपाध्यक्ष गुरुङले गाउँपालिका भरी जम्मा एउटा माध्यमिक विद्यालय, ९ वटा आधारभूत विद्यालय र तीनवटा बालविकास केन्द्र रहेको, एउटा गाउँबाट अर्को गाउँमा जान पनि २/३ दिन लाग्ने र आधारभूत तहको शिक्षा पूरा गरेपछि माध्यमिक विद्यालय पढ्न घर नै छाडेर बस्नु पर्ने भएको मन्त्रीलाई बताएका थिए।

गाउँमा रहेको एउटा मात्र माध्यमिक विद्यालयमा छात्रावासको व्यवस्था नभएको हुँदा बालवालिकाहरू थप अध्ययनको लागि सहर पस्नु पर्ने बाध्यता रहको कुरा उक्त भेटमा गुरुङले राखे।

शिक्षा मन्त्रीसँगको भेटमा उपाध्यक्ष गुरुङले तारिपिचा माध्यमिक विद्यालयको भौतिक पूर्वाधार बनाउँदा बनाउँदै बीचैमा रोकिएकोले उक्त भवन निर्माण सम्पन्न गर्न आवश्यक बजेट व्यवस्थापन गरिदिन अनुरोध गरेका थिए। साथै उनले त दुई वटा विद्यालयका लागि सेवा सुविधाको माग गरे।

जसमा वडा नं.८ स्थित तापिरिचा माध्यमिक बिद्यालय (कक्षा १-१०) लाई CTEVT सहितको मा.वि. (कक्षा १-१२) मा स्तरवृद्धि गरी आवश्यक भौतिक संरचना, शिक्षक दरबन्दी र सेवा सुविधा सम्पन्न आवासीय विद्यालयमा रुपान्तरण गर्ने र हाल पालिकाको केन्द्र वडा नं.३ साल्दाङमा रहेको शेली डुग्ड्रा आ.वि. लाई माध्यामिक तह (कक्षा १-१०) मा स्तरवृद्धि गरी आवश्यक भौतिक संरचना, शिक्षक दरबन्दी र सेवा सुविधा सम्पन्न आवासीय विद्यालयमा रुपान्तरण गर्ने छन्।

विद्यालयको भौतिक पूर्वाधार विकास, दुर्गम क्षेत्रमा न्यायोचीत तरिकाबाट शिक्षक दरबन्दी मिलान जस्ता विषयमा ध्यान दिई कार्यक्रम बनाइने पनि मन्त्रीले उनीहरूलाई बताइन्।

प्रकाशित: १० माघ २०८१ १०:५८ | Thursday, January 23, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast