शिक्षकलाई क्षमता विकास तालिम दिँदै काठमाडौँ महानगर

हिमाल प्रेस २८ पुष २०८१ ११:४८ | Sunday, January 12, 2025
शिक्षकलाई क्षमता विकास तालिम दिँदै काठमाडौँ महानगर

काठमाडौँ- काठमाडौँ महानगरपालिकाको शिक्षा विभागले ७२० जना शिक्षकका लागि विषयगत, प्रारम्भिक बालविकास केन्द्र सञ्चालन व्यवस्थापन र एकीकृत पाठ्यक्रम विषयमा तालिम आयोजना गर्ने भएको छ। ‘टिचर कलेज कार्यक्रम’अन्तर्गत शिक्षकको क्षमता विकास गराएर प्राप्त योग्यता र सिपलाई नतिजा सुधारको लक्ष्य राखेर तालिम सञ्चालन गर्न लागिएको हो।

माघ ३ गतेबाट सुरु हुने तालिममा महानगरपालिका क्षेत्रभित्र सञ्चालनमा रहेका जुनसुकै विद्यालयमा अध्यापन गराइरहेका शिक्षकलाई सहभागी गराइने भएको छ। तालिममा सहभागी हुन महानगरपालिकाले जारी गरेको क्युआर कोड वा लिंकबाट आवेदन गर्न सकिनेछ। आवेदकमध्येबाट सामुदायिक विद्यालयका शिक्षकलाई छनोट प्राथमिकतामा राखिने महानगरले जनाएको छ।

शिक्षकको क्षमता विकास गराएर शैक्षिक क्रियाकलापलाई सिर्जनात्मक, एकीकृत, सिप र व्यवहारमा आधारित बनाउने लक्ष्य राखेर सञ्चालन गर्न लागिएको तालिममा ७२० जना शिक्षकलाई सहभागी गराउने भएको छ। यसमा काठमाडौँ महानगरपालिकाभित्र स्थायी बसोबास भएका र महानगरपालिकाभित्रका जुनसुकै विद्यालयमा अध्यापन गराइरहेका शिक्षकलाई दोस्रो प्राथमिकतामा राखिने जनाएको छ।

स्थायी बसोबास जहाँ भए पनि काठमाडौँ महानगरपालिकाभित्रका जुनसुकै विद्यालयमा अध्यापन गराउने शिक्षकलाई छनोटको तेस्रो प्राथमिकतामा राखेको छ। माघ ३ र ४ गते कक्षा १० का गणित, विज्ञान, सामाजिक, नेपाली, अंग्रेजी, अर्थशास्त्र विषयका शिक्षकलाई तालिम हुनेछ। हरेक विषयमा ६० जना शिक्षकलाई तालिममा सहभागी गराइनेछ।

माघ ३ गतेदेखि ८ गतेसम्म प्रारम्भिक बालविकास केन्द्रका शिक्षकका लागि केन्द्र सञ्चालन व्यवस्थापनका लागि तालिम दिने छ। यस समूहमा ९० जना शिक्षकलाई सहभागी गराउने भएको छ।कक्षा १ देखि कक्षा ३ सम्म अध्यापन गराइरहेका २७० जना शिक्षकलाई माघ ३ गतेदेखि माघ ७ गतेसम्म तालिम सञ्चालन गर्ने भएको हो।

एकीकृत पाठ्यक्रम तथा निर्माणात्मक मूल्याङ्कन यस समूहका शिक्षकलाई प्रदान गर्ने भएको हो। यसरी सञ्चालन हुने तालिमले शिक्षकको वृत्ति विकास र विद्यार्थीको नतिजा सुधार दुवै पक्षमा सकारात्मक नतिजा ल्याउने महानगरपालिकाको अपेक्षा छ। तालिममा सहभागी हुन इच्छुक शिक्षकले माघ २ गते दिउँसो १ बजेभित्रमा अनलाइनबाट आवेदन दर्ता गराउनु पर्नेछ।

प्रकाशित: २८ पुष २०८१ ११:४८ | Sunday, January 12, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast