वामपन्थी शक्तिलाई एकै स्थानमा ल्याउने प्रयास जारी छ : अध्यक्ष नेपाल

हिमाल प्रेस २७ पुष २०८१ १९:३५ | Saturday, January 11, 2025
वामपन्थी शक्तिलाई एकै स्थानमा ल्याउने प्रयास जारी छ : अध्यक्ष नेपाल फाइल तस्बिर।

काठमाडौँ– नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा वामपन्थी ध्रुवीकरणका लागि विभिन्न कम्युनिष्ट शक्तिहरूलाई एकै ठाउँ ल्याउने प्रयास भइरहेको बताएका छन्।

शनिबारदेखि सुरु भएको पार्टीको ललितपुर जिल्ला कमिटीको आठौँ अधिवेशनमा अध्यक्ष नेपालले समाजवादी मोर्चालाई क्रियाशील बनाएर समाजवादी, वामपन्थी, कम्युनिष्ट विचार भएकाहरूलाई एकै स्थानमा ल्याउने प्रयास भइरहेको उल्लेख गरेका हुन्।

कम्युनिष्ट सिद्धान्त तथा आदर्शप्रति समर्पित सबै समूहलाई एकताबद्ध गरेर राष्ट्रियता, जनजीविकालगायत विषयलाई उचित ढङ्गले अघि बढाइने बताउँदै उनले वैचारिक दृष्टिकोण मिल्ने पार्टीसँगै एकताबद्ध भएर अघि बढ्न सकिने र विचार मिल्न बाँकी रहेका शक्तिसँग सहकार्य गर्न सकिने उल्लेख गरे।

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले आफ्नो पार्टीले राजनीतिक क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएकाले आगामी दिनमा निराश नभई जनता केन्द्रित राजनीतिक गतिविधि सञ्चालन गर्न नेता तथा कार्यकर्तालाई निर्देशन दिए।

उनले मुलुकमा सुशासन कायम गर्न, राष्ट्रिय समस्या समाधान गर्न, जनजीविकामा सुधारलगायत सकारात्मक परिवर्तन ल्याउन सबै एकजुट भई राज्यलाई दबाब दिनुपर्नेमा जोड दिए।

अध्यक्ष नेपालले सत्ताको फेरबदलसँगै समाजवादी मोर्चा सक्रिय भएर अघि बढ्न नसकेकाले नयाँ नीति र योजना अनुसार पुनः सक्रिय बनाउँदै जाने जानकारी दिए।

जिल्ला अधिवेशन आइतबारसम्म सञ्चालन हुनेछ ।

प्रकाशित: २७ पुष २०८१ १९:३५ | Saturday, January 11, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast