वन कार्यालयमै कुहियो काठ

हिमाल प्रेस २८ पुष २०८१ ७:०४ | Sunday, January 12, 2025
वन कार्यालयमै कुहियो काठ

काठमाडौँ- सुनसरीको धरान उपमहानगरपालिका–८ तीनकुनेमा रहेको सबडिभिजन वन कार्यालय पाँचकन्या र विष्णुपादुका सबडिभिजन वन कार्यालयमा राखिएको काठ कुहिन थालेको छ।

लामो समयसम्म ठेक्का लाग्न नसक्दा भण्डारण गरिएको १५ हजार क्युफिट काठ वन कार्यालयमै कुहिएर काम नलाग्ने भएको सबडिभिजन वन कार्यालय पाँचकन्याका प्रमुख महेशकुमार साहले जानकारी दिए। दुई दसकदेखिको काठ यहाँ रहेको छ। विशेषगरी मुद्दाको काठ वर्षौँदेखि थन्किएको छ।

‘ठेक्का नलाग्दा सात करोड रुपैयाँ बराबरको काठ त्यत्तिकै थन्किएर वन कार्यालयमै कुहिन थालेको छ’, प्रमुख साहले भने। अहिले ‘ए ग्रेड’ को प्रतिक्युफिट काठ एक हजार दुई सय, ‘बी ग्रेड’को नौ सय र ‘सी ग्रेड’को छ सय ५० मा बिक्री हुँदैआएको छ।

नेपाल वन पैदावर उद्योग व्यवसायी संघका अध्यक्ष डिकबहादुर भुजेलले झन्झटिला नीति–नियमका कारण काठ त्यसै खेर गइरहेको बताए। नेपाली काठ उत्पादन प्रशस्त भए पनि सरकारको नीति र कर्मचारीले नै विभिन्न झमेला गरिदिँदा काठ त्यत्तिकै खेर जाने गरेको उनको भनाइ छ।

जिल्ला वन कार्यालयका अनुसार यहाँ आर्थिक वर्ष २०८०र८१ मा ६४ हजार पाँच सय क्युफिट काठ थन्किएको छ। चालु आव २०८१र८२ को हालसम्ममा २५ हजार चार सय क्युफिट काठ नयाँ थपिएको छ।

एक महिनाअघि वन कार्यालयले १६ हजार नौ सय क्युफिट काठ बोलपत्र प्रक्रियाबाट बिक्री गरेको छ भने हाल वन कार्यायलमा ७२ हजार नौ सय क्युफिट काठ घाटगद्दी गरिएको कार्यालयले जनाएको छ।

जिल्ला वन कार्यालयका डिभिजन वन अधिकृत खुद्रिस मियाँले अदालती प्रक्रिया र केही झन्झटिलो कानुनी प्रक्रियाका कारण चाहेको समयमा काठ लिलामी गर्न नसकिएको बताए। उनले भने, ‘पाँच पटकसम्म ठेक्का रद्द भएको छ। दुई–तीन पटक ठेक्का लागेर पनि ठेकेदारले धरौटी नै छाडेर पनि काठ उठाएनन्।’

वर्षेनी चाहिनेभन्दा तीन गुणा बढी काठ उत्पादन गर्न सकिन्छ। तर सरकारी नियम र कर्मचारीको बदमासीका कारण स्वदेशमै आवश्यक काठ आपूर्ति हुन नसकेको काठ व्यापारीको भनाइ छ। रासस

प्रकाशित: २८ पुष २०८१ ७:०४ | Sunday, January 12, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast