रियल मड्रिडमाथि सानदार जित निकाल्दै बार्सिलोनाले चुम्यो सुपर लिगको उपाधि

हिमाल प्रेस २९ पुष २०८१ ७:०६ | Monday, January 13, 2025
रियल मड्रिडमाथि सानदार जित निकाल्दै बार्सिलोनाले चुम्यो सुपर लिगको उपाधि

काठमाडौँ- रियल मड्रिडमाथि सानदार जित निकाल्दै बार्सिलोनाले स्पेनिस सुपर कपको उपाधि चुमेको छ। ‘एल क्लासिको’ भनिने यी दुई टिमको खेलमा रियल स्तब्ध बन्न पुग्यो।

साउदी अरबको जेद्दाहमा सम्पन्न स्पेनिस सुपर कपको फाइनलमा बार्सिलोनासँग रियल ५-२ ले पराजित भएको हो। रियलका लागि किलियन एमबाप्पेले रियललाई सुरुआतमै अग्रता दिलाएका थिए। तर, बार्सिलोनाले राफिन्हाको दुई तथा लामिन यमल, रोबर्ट लेवान्डोव्स्की र एलेजान्ड्रो बाल्डेको एकरएक गोलमा पुनरागमन जित निकाल्न सफल भयो।

पाँच लगातार जितपछि रियलले पहिलोपल्ट हार बेहोरेको हो। अक्टोबरमा भएको भेटमा बार्सिलोनाको डिफेन्सले एमबाप्पेलाई ‘हाई लाइन’ बनाएर रोक्न सफल भएको थियो। त्यतिखेर डिफेन्सले उनलाई आठपल्ट अफ साइड ट्यापमा पारेका थिए।

तर, यसपल्ट उनले किङ्स अब्दुल्लाह स्पोर्ट्स सिटी स्टेडियममा खेलको पाँचौं मिनेटमै बल कब्जा गरी उत्कृष्ट गोल गरे। यमलले २२औं मिनेटमा बार्सिलोनालाई खेलमा फर्काए। उनले लेवान्डोव्स्कीको पासमा गोल गरेका हुन्। ३६औं मिनेटमा लेवान्डोव्स्की आफैंले गोल गर्दै टोलीलाई २-१ को अग्रता दिलाए।

राफिन्हाले ३९औं र ४८औं मिनेटमा दुई गोल थप्दा बार्सिलोनाले अग्रता ४-१ मा पुर्‍याइसकेको थियो। त्यसमा बाल्डेले पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै उक्त अग्रता अझ लम्बाए।

बार्सिलोनाका गोलकिपर वोइचेक स्जेन्स्नी ५६औं मिनेटमा रातो कार्ड खाँदै मैदान छाड्नु परेको थियो। स्जेन्स्नीले ‘ब्रेकअवे’ गर्न खोज्दा डिबक्सबाहिर फउल गरेपछि रातो कार्ड पाएका थिए। त्यति नै खेर रोड्रिगोले गोल फर्काए पनि रियलले पुनरागमन गर्न सकेन।

सन् २०२५ मा बार्सिलोनाको यो लगातार तेस्रो जित हो। गत वर्षको अन्त्यमा बार्सिलोनाले लगातार दुई खेल गुमाएको थियो। ‘क्रिसमसको ब्रेकले हामीलाई हाम्रा गल्तीहरूबारे पुनरावलोकन गर्न मद्दत गर्‍यो,’ लेवान्डोव्स्कीले भने,‘अब हामी सिजनको अन्त्यसम्मको खेलहरूमा ध्यान केन्द्रित गर्न सक्छौं।’

लेवान्डोव्स्कीले बार्सिलोनाका लागि सबै प्रतियोगितामा २७ खेलमा २६ गोल गरेका छन्। राफिन्हाले १९ गोल र यमलले आफ्नो गोल संख्या आठ पुर्‍याएका छन्।

प्रकाशित: २९ पुष २०८१ ७:०६ | Monday, January 13, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast