 
                             
                                            काठमाडौँ- समर निरौलाको निर्देशनमा निर्माण भएको सिनेमा ‘ममी’को नयाँ पोस्टर सार्वजनिक गरिएको छ। सार्वजनिक दोस्रो पोस्टरमा अभिनेत्री प्रियंका कार्की डरमिश्रित भावमा केही हेरिरहेकी छन्। उनको छेउमा कालो बिरालो समेत देखिन्छ।
पुरानो घरको अगाडि उभिएकी प्रियंका र उनको पछाडि रहेको घरको भित्तामा राखिएको फोटो फ्रेममा अभिनेता तथा निर्देशक सुलक्षण भारती र बाल कलाकार आयुषी ढकाल र जेभिस श्रेष्ठको तस्वीर देख्न सकिन्छ। फोटो फ्रेमको काँच फुटेको छ। यो पोस्टरले दर्शकमाझ सिनेमाप्रति कौतुहल पैदा गर्ने विश्वास निर्माण टिमको छ।
हरर फ्यामिली ड्रामा सिनेमामा प्रियंकासँगै दीया मास्के, सुलक्षण भारतीको मुख्य भूमिका छ। सिनेमामा उनीहरूका साथै समीप निरौला, घनश्याम जोशी, आयुषी ढकाल, जेभिस श्रेष्ठ, गीत विष्टलगायतका कलाकारहरूको अभिनय छ।
सो ट्वान्टी फाइभको प्रस्तुतिमा निर्माण भएको सिनेमामा समर निरौला र पूर्णिमा जोशीको लेखन छ। सिनेमाका निर्माता लोकराज जोशी तथा पूर्णिमा जोशी हुन् भने कार्यकारी निर्माता सुमन कोइराला हुन्।
‘ममी’को छायांकन निशाल पौडेल र शरद महतोले संयुक्तरूपमा गरेका हुन्। सम्पादन सुरेन महर्जनको छ।
यसै गरी पार्श्व ध्वनिमा रोहित शाक्य, साउन्ड डिजाइनमा श्रवल आरपी, रंग संयोजनमा दिपेश चौधरी तथा संगीतकारमा एसडी योगी छन्। सिनेमालाई काठमाडौं उपत्यकामा काफिया फिल्मस् र मोफसलमा कुवेर सिने डिष्ट्रीव्युसनले वितरण गर्दैछन्।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 