 
                             
                                            म्याग्दी- केही वर्षअघिसम्म रातो माटो र कृषि उत्पादनमा आश्रित म्याग्दीको बेनी नगरपालिका-१ मा पर्ने रत्नेचौर गाउँ अहिले जिल्लाकै प्रसिद्ध पर्यटकीय गाउँका रूपमा चिनिन थालेको छ।
कात्तिकदेखि माघसम्म यहाँ आन्तरिक तथा बाह्य पर्यटकको लर्को लाग्ने गर्दछ। कात्तिक-मंसिरमा रत्नेचौरको फाँटमा झुलेका धानसँगै पृष्ठभूमिमा धवलागिरि हिमाल, म्याग्दी, बागलुङ र पर्वतका ग्रामीण भेगको दृश्यावलोकन तथा पुस-माघमा पहेँलै फुलेको तोरीको आकर्षक दृश्य हेर्दै रमाउन र वनभोज खानका लागि पर्यटकको भीड लाग्ने गर्छ।
सदरमुकाम बेनी र बागलुङको बीचमा रहेको भाइरल गाउँ रत्नेचौरको तोरी बारीमा रमाउँदै टिकटक र भिडियो बनाउन यतिबेला थोगी नसक्नुको भीड छ। पुस लागेयता रमाउन र वनभोज खान १२ हजारभन्दा बढी पर्यटक आएका स्थानीय अगुवा भरत केसीले जानकारी दिए।
उत्तरतिर हेर्दा चाँदीझैँ टल्किने सेता हिमशृङ्खला। पूर्वतर्फ मोहोडा भएको समथर फाँटमा पहेँलै भएर फुलिरहेको तोरी र फाँटको बीचमा चिटिक्क परेको कालोपत्र सडकमा रमाउन पुस लागेयता दैनिक सयौँ पर्यटक आउने गरेका केसीले बताए।
अहिले पहेँलपुर तोरीबारीले रत्नेचौर झकिझकाउ बनेको छ। उत्तरतर्फ मनोरम धौलागिरि हिमशृङ्खलाको दृश्य, हरियाली फाँट र तोरी फुलेर पहेँलपुर वातावरणले यस क्षेत्रको प्राकृतिक सुन्दरतालाई थप निखार दिएको पर्वत कुश्माका हरिश गौतमले बताए।
रत्नेचौरबाट संसारको सातौँ अग्लो धवलागिरि हिमाल (८,१६७ मिटर) स्पष्ट देखिन्छ। यस्तै, समथर भूभागमा फुलेका तोरीबारीसँगै बेनी–बागलुङ सडकखण्डको कालोपत्र गरिएको चिल्लो सडकले थप आकर्षण प्रदान गरेको छ। तोरीबारीमा मौरी र भमरा रस चुस्दै गरेका रमाइला दृश्यले गाउँलाई जीवन्त बनाएको छ। बारीको छेउकुना तथा सडकको दायाँबायाँ मानिस तोरीबारी र हिमाल हेर्दै रमाइरहेका देखिन्छन्।
पहेँलै फुलेको तारीको बीचबीचमा हुर्कँदै गरेको गहुँको हरियालीले यहाँ आउने सबैको ध्यान खिचेको छ। रत्नेचौर फाँटमा गहुँ र तोरी झुलिरहेको छ। झुलिरहेको गहुँ र तोरीको सौन्दर्यमा युवायुवती र सर्वसाधारण टिकटक बनाउन, नाच्दै रमाउन व्यस्त छन्।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 