‘मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्स’ का विजेतालाई एक करोड

हिमाल प्रेस १७ माघ २०८१ १६:२३ | Thursday, January 30, 2025
‘मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्स’ का विजेतालाई एक करोड

पोखरा– ‘मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्स’ को सिजन–२ पोखरा अडिसन आगामी १६–१७ फागुनमा हुने भएको छ।

साउनको अन्तिम साता काठमाडौँमा हुने फिनालेमा दुवैतर्फका विजेतालाई एक/एक करोड पुरस्कार दिइनेछ। दोस्रोले २५ लाख र तेस्रोले १० लाख प्राप्त गर्ने फाउण्डेसनका कास्की जिल्ला प्रमुख तथा कलाकार किसान सेवाले बताए।

इन्ट्रा–नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाले विश्वस्तरीय अन्तर्राष्ट्रियस्तरको ती दुई रियालिटी शो भव्य बनाउन नेपालसहित विश्वका विभिन्न मुलुकमा समेत अडिसन लिँदैछ।

बिहीबार पोखरामा पत्रकार सम्मेलनमा फाउण्डेसनका गण्डकी प्रदेश प्रमुख गायक राजेश बर्देवाले विश्वभर रहेका नेपालीहरुको गायन र नृत्य क्षेत्रका उत्कृष्ट प्रतिभाहरु पहिचान गर्न यी दुवै रियालिटी शो सञ्चालन हुन लागेको बताए।

नेपाली संस्कृति र साँस्कृतिक पहिचान संरक्षण, सम्वद्र्धन र उत्थान गर्नु फाउण्डेशनको मूल उद्देश्य रहेको उनको भनाइ छ।

पोखरा अडिसन नयाँबजारस्थित पोखरा बहुमुखी क्याम्पसमा हुनेछ। यसबाहेक नेपालमा बिर्तामोड, नेपालगञ्ज र काठमाडौँमा अडिसन हुनेछ। युरोप महादेशमा बेलायत र पोर्चुगलमा, पूर्वी एशियाका लागि थाइल्याण्ड, हङकङ र जापानमा, मध्यपूर्वका लागि दुबई र कतारमा, अष्ट्रेलियाका लागि सिड्नीमा, भारतका लागि सिलिगुरी र मुम्बईमा अडिसन लिइनेछ।

फाउण्डेसनका कार्यकारी निर्देशक सीएम भट्टराईले अमेरिकाबाट भर्चुअल माध्यमबाट सम्बोधन गर्दै हाम्रो कला, संस्कृति, संस्कार पुस्तान्तरण गर्न पनि यो रियालिटी शोले महत्वपूर्ण भूमिका खेल्ने बताए।

इच्छुकले फाउण्डेसनको वेबसाइट इन्ट्रा फाउण्डेसन डट ओआरजीबाट आवेदन दिन सक्ने छन्। विश्वभरिबाट स्थलगत अडिसनमा छनोट भ्वाइसका लागि १२० र डान्सका लागि १२० जनालाई अन्तिम प्रतिस्पर्धाका लागि काठमाडौँ लगिनेछ।

दुई वर्षअघि यी दुवै रियालिटी शोको पहिलो सिजन सफलतापूर्वक सम्पन्न भइसकेको छ। यसपालि मेरो भ्यवाइस यूनिभर्सतर्फ गायक दीप श्रेष्ठ, संगीतकार सुरेश अधिकारी, गायक शिव परियार र पुष्पन प्रधान, गायिका अञ्जु पन्त र तृष्णा गुरुङ, मेरो डान्स युनिभर्सतर्फ वरिष्ठ कलाकार मिथिला शर्मा, नायक दिलीप रायमाझी, अभिनेत्री शिल्पा मास्के, कोरियोग्राफर शंकर बिसी, कविराज गहतराज र किरण थापा छन्।

कार्यक्रम सञ्चालन रीमा विश्वकर्मा, नरेश भट्टराई, राजा राजेन्द्र पोखरेल र नम्रता श्रेष्ठले गर्ने छन्।

प्रकाशित: १७ माघ २०८१ १६:२३ | Thursday, January 30, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast