 
                             
                                            काठमाडौँ- प्रकाश सपुतको लेखन तथा निर्देशनमा बनेको फिल्म ‘वसन्त’को पोस्टर सार्वजनिक भएको छ। सार्वजनिक पोस्टरमा उनी आफैँ केही लेखिरहेको देखिन्छ। टेबलमा किताबको चाङ छ भने भित्तामा साहित्यकार लक्ष्मीप्रसाद देवकोटा र पारिजातका तस्बिर झुन्ड्याइएको छ।
फिल्मको कथा लेखन, निर्देशन, निर्माण, अभिनय, गायन र संगीतमा सपुत नै छन्। त्यसैले उनले ‘वसन्त’लाई आफ्नो ड्रिम प्रोजेक्ट रहेको बताउँदै आएका छन्। पोस्टरसहित फेसबुकमा स्टाटस लेख्दै ‘वसन्त’ मा आफूँभित्रको रंगहरु पोखेको बताएका छन्।
फिल्म चलेपछि आफूले गुमाएका सबै कुरा फिर्ता हुने उनको विश्वास छ। प्रकाशले संगीतबाट कमाएको समय, साथीभाइ र आराम फिल्म निर्माणको क्रममा गुमाएको महसुस गरेका छन्।
‘मैले ‘वसन्त’ मा म भित्रका सबै रङ्गहरू पोखेको छु। यदि ‘वसन्त’ तपाईंलाई बबाल लाग्यो भने, म बबाल हुँ। यदि लागेन भने मेरो प्रतिभाको दायरा यति नै हो। मेरो सीमितता यहीसम्म हो। मैले यहाँभन्दा थप केही जान्दिनँ।’ उनले लेखेका छन्, ‘यसो भनौँ, म यो जन्मका लागि जम्माजम्मी यति नै हुँ, ‘वसन्त’ जति। मलाई विश्वास छ, ‘वसन्त’ ले समयले खोसेका सबै कुरा फिर्ता दिनेछ।’
प्रकाशको डेब्यु फिल्म ‘परदेशी-२’ दर्शकले रुचाएका थिए। हालै प्रदर्शन भएको दोस्रो फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ले पनि कीर्तिमानी व्यापार गरेको छ। ‘वसन्त’ उनको डेब्यु निर्देशन हो।
फिल्म चैत २२ प्रदर्शन हुनेछ। प्रकाशसँगै फिल्ममा स्वस्तिमा खड्का, खड्गबहादुर पुन, प्रभात पाल, श्री शिभांसी, उर्मिला लाम्गादेलगायत कलाकारको अभिनय छ। गलबन्दी प्रोडक्सनको ब्यानरमा बनेको फिल्मको निर्माता मोहन विश्वकर्मा र विन्दु बोहरा हुन्। फिल्मको कार्यकारी निर्मातामा अनुरोध भट्टराई, नाना थकाली र वीरेन्द्रनारायण श्रेष्ठ छन्।

 हिमाल प्रेस
                     हिमाल प्रेस                    ![‘सोल्टिनी’ को ट्रेलरमा अन्तरजातीय प्रेम र पारिवारिक उतारचढाव [भिडियोसहित]](https://himalpress.com/wp-content/uploads/2025/10/soltini-tailer.jpg) 
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 