माधव नेपाललाई एमालेको ढोका खुला छैन : महासचिव पोखरेल

हिमाल प्रेस ४ माघ २०८१ १६:१५ | Friday, January 17, 2025
माधव नेपाललाई एमालेको ढोका खुला छैन : महासचिव पोखरेल एमाले महासचिव शंकर पोखरेल। फाइल तस्बिर

काठमाडौँ– नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई एमालेमा स्वागत गर्न नसकिने बताएका छन्।

आज शुक्रबार एकीकृत समाजवादीको पत्रकारहरूको संगठन समाजवादी प्रेस संगठनका अध्यक्ष विश्वमणि सुवेदीसहितलाई पार्टीमा स्वागत गर्दै पोखरेलले नेपाललाई एमालेको ढोका खुला नभएको बताएका हुन्। उनले एकीकृत समाजवादी पार्टीका मुल नेतृत्वबाहेक सबैलाई एमालेमा ढोका खुलै रहेको पनि बताए।

‘हार्दिकतापूर्वक स्वागत गर्ने हो भने विश्वमणि होइन माधव नेपाल आउनुहुन्छ तर, हामीले माधव नेपालको लागि ढोका खोलेको छैनौँ,’ उनले भने, ‘तर उहाँले जुन गल्ती गर्नुभएको छ त्यो गल्तीबापत उहाँलाई स्वागत गर्ने पक्षमा एमाले छैन। त्यसैले उहाँले अरुलाई रोक्न खोज्नुभएको छ।’

एमालेले बोलाए माधव नेपाल तत्काल फर्किने पनि उनको दाबी छ। उनले नेपालले पार्टी फुटाउँदा पनि एमालेलाई केही फरक नपरेको बताए। एकीकृत समाजवादीमा दल विभाजनसम्बन्धी अध्यादेश आए पार्टी फुट्छ भन्ने त्रासमा रहेको टिप्पणी गरे।

पोखरेलले उक्त पार्टीका नेता कार्यकर्ताले राजनीतिक भविष्य खोज्दै एमालेमा आउने दाबी गरे। ‘पार्टीमा भविष्य छैन भन्ने ठानेपछि नेता कार्यकर्ताले भविष्य खोज्छन्। इतिहास जहिले पनि शिक्षा र यात्रा लक्ष्यमा आधारित हुन्छ,’ उनले थपे, ‘इतिहासले मात्रै यात्रा अगाडि बढ्दैन। भविष्यका प्रश्नमा केन्द्रित भएर अगाडि बढ्ने प्रयास गर्नुपर्छ। समाजवादी बिदा हुँदैछ, एमाले जनताको लागि स्वीकार्य हुँदैछ।’

प्रकाशित: ४ माघ २०८१ १६:१५ | Friday, January 17, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + eighteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast