माग पूरा नभए ३० हजार धरानवासीसहित खाली गाग्री ल्याउँछु : मेयर साम्पाङ

हिमाल प्रेस ८ माघ २०८१ ११:३६ | Tuesday, January 21, 2025
माग पूरा नभए ३० हजार धरानवासीसहित खाली गाग्री ल्याउँछु : मेयर साम्पाङ

काठमाडौँ-  धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले सरकारले खानेपानीको योजना तत्काल नदिए अर्कोपटक ३० हजार धरानवासी लिएर सिहंदरबार आउने बताएका छन्। प्रधानमन्त्री केपी शर्मा ओली र खानेपानीमन्त्री प्रदीप यादवलाई भेट्ने रित्तो गाग्री बोकेर काठमाडौँ आएका उनले हिमालप्रेससँग भने, ‘यसपटक रित्तो गाग्री लिएर आएँ। अर्कोपटक ३० हजारभन्दा धरानवासी रित्तो गाग्रीसँग लिएर सिंहदरबार आउँछु। अनि धरानवासीको समस्या सरकारले समाधान गर्छ होला।’

उनले धरानमा सबैभन्दा ठूलो समस्या खानेपानीको रहेको बताए। उनले भने, ‘म मेयर भएयता २० पटकभन्दा बढी खानेपानीको माग लिएर केन्द्रीय सरकारको ध्यानाकर्षण गराएँ। तर सरकारले बेवास्ता गरिरहेको छ।’

आफूलाई स्वतन्त्र उम्मेदवार भनेर पार्टीका सरकारले हेपेको आ‌रोप साम्पाङको छ। ‘म जनता हुँ, जनताले के गर्छ भन्ने कुरा अब केन्द्रीय सरकारले थाहा पाउनेछ’, उनले भने, ‘म नचाहिँदो माग लिएर आएको होइन। चैत लागेपछि धरानमा पानी पाइँदैन। त्यही पानी माग्न रित्तो गाग्री लिएर आएको हुँ।’

स्थानीय तहको विकासका लागि केन्द्रीय र प्रदेश सरकारले सहयोग गर्नुपर्ने उनको भनाइ छ। आफूले श्रमदान गरेर धरानमा विकासको फड्को मारिरहेको दाबी उनको छ। ‘यो कुरा राजनीतिक दलका नेतालाई मन परेको छैन। त्यही भएर स्वतन्त्र उम्मेदवारलाई जसरी भएपनि उनीहरु सिध्याउन लागि परेका छन्’, मेयर साम्पाङले भने।

प्रकाशित: ८ माघ २०८१ ११:३६ | Tuesday, January 21, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast