 तस्बिर स्रोत : पिक्सेल
                             तस्बिर स्रोत : पिक्सेल
                                            काठमाडौँ- वैदेशिक रोजगारीका लागि मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणमा रहँदै आएको सिन्डिकेट अन्त्य भएको छ। ३६ वटा स्वास्थ्य संस्थाबाहिरका मेडिकलबाट स्वास्थ्य परीक्षण गराएका कामदारको पनि भिसा आउन थालेपछि सिन्डिकेट अन्त्य भएको स्वास्थ्य संस्थाका सञ्चालकहरूले बताएका छन्। यस विषयमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आधिकारिक निर्णय गर्न सकेको छैन।
मलेसियाले नेपाली श्रमिकसहित आप्रवासी कामदारहरूको रोजगार प्रक्रिया व्यवस्थापन गर्न ल्याएको विदेशी श्रमिक केन्द्रीय व्यवस्थापन प्रणाली (एफडब्लूसीएमएस) नवीकरण गरेको छैन। यसै संस्थाअन्तर्गत नेपालका निश्चित ३६ वटा मेडिकल संस्थाले मात्र मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण गर्दै आएका थिए। अब अन्य संस्थामा स्वास्थ्य परीक्षण गरेका कामदारले पनि भिसा पाउने भएका छन्।
मलेसिया रोजगारीका लागि गौशालास्थति युनिभर्सल डाइग्नोस्टिक सेन्टर प्रालिमार्फत स्वास्थ्य परीक्षण गरेका ४० जना बढी कामदारको भिसा आएको छ। उक्त मेडिकल ३६ वटाभित्र पर्दैन। युनिभर्सलका सञ्चालक रमेश आचार्यले पछिल्लो साता सिन्डिकेटबाहिरका फरकफरक मेडिकलबाट चार सयभन्दा बढी कामदारले मेडिकल गराएर मलेसियाको भिसा पाउने क्रममा रहेको बताए।
३६ वटा संस्थाबाहेकका मेडिकलमा स्वास्थ्य परीक्षण गरेका होमबहादुर आले, सागर विक, सुशील भट्टराई, श्रीराज भुजेल, विराटसिंह थारु, डिल्लीराम भण्डारी, सुजन तामाङसहित ४० जनाभन्दा बढीको भिसा जारी आएको आचार्यले जानकारी दिए। मेडिकल सिन्डिकेट तोडिएपछि जुनसुकै मेडिकलबाट स्वास्थ्य परीक्षण गरेका नेपाली कामदारको मलेसियाको भिसा जारी हुन थालेको हो।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाले मलेसियासहित अन्य देशमा जाने कामदारको स्वास्थ्य परीक्षण व्यवस्थित गर्ने गरी छलफल भइरहेको जानकारी दिए।
मलेसिया सरकारले कामदारको स्वास्थ्य परीक्षणका लागि सबै मेडिकललाई दिएको औपचारिक जानकारी नदिएको उनी बताउँछन् एफडब्लूसीएमएस अन्त्य भएको नेपाललाई एक महिनाअघि इमेलमार्फत जानकारी गराएको थियो। यस विषयमा श्रम अहिलेसम्म केही जवाफ दिएको छैन।
स्वास्थ्य व्यवसायीहरू मलेसियाको स्वास्थ्य सिन्डिकेट ब्युँताउन नेपाल स्वास्थ्य व्यवसायी महासंघका अध्यक्ष कैलाश खड्का प्रयासमा रहेको आरोप लगाउँछन्। निरौला भने यसबारे आफूलाई जानकारी नभएको बताउँछन्। उनले भने, ‘सरकारको काम स्वास्थ्य परीक्षण व्यवस्थित गर्ने र अनियमित भए निमयन गर्ने हो। अन्य विषयमा मलाई केही जानकारी छैन।’
नेपाल मेडिकल व्यवसायी संघ (नेमो) का महासचिव कृष्णप्रसाद बजगाईँले मलेसिया सरकारबाट औपचारिक रूपमा त्यहाँ जाने कामदारको स्वास्थ्य परीक्षणमा भएको सिन्डिकेट अन्त्य गरेको जानकारी आएको बताए।
नेपाल स्वास्थ्य व्यवसायी महासंघ र मलेसियाको बेस्टिनेट एसडीएन बीएचडीबीचको सम्झौता गत मेमा सकिएको छ। महासंघका अध्यक्ष खड्काले सिन्डिकेट ब्युँताउन परराष्ट्रमन्त्री आरजु राणा, मुख्य सचिव एकनारायण अर्याल र प्रधानमन्त्री केपी ओलीका स्वकीय सचिव राजेश बज्राचार्यमार्फत लाबिङ गरिरहको संघको आरोप छ। यस विषयमा अहिलेसम्म महासंघले केही प्रतिक्रिया दिएको छैन।
सिन्डिकेटधारी समूहले पछिल्लो समय मलेसियाले एफडब्लूसीएमएस नवीकरण गरी पुनः ३६ वटा मेडिकलले मात्र गर्न पाउने भन्दै मिडियाबाजी गरेका थिए। यस विषयमा महासंघले भने अहिलेसम्म प्रस्ट केही बताएको छैन। यस विषयमा महासंघका पदाधिकारी बोल्न चाहँदैनन्।
मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण गर्दा ३६ वटा संस्थाले ७ हजार ८ सय ९० रुपैयाँ लिने गरेका छन्। अन्य संस्थाले ५ हजार ५ सय रुपैयाँमै स्वास्थ्य परीक्षण गराएका छन्।

 हिमाल प्रेस
                     हिमाल प्रेस                    ![नेपाल सम्भावनाहरूको खानी हो : मलेसियाका व्यापारी कुक्रेजा [अन्तरवार्ता]](https://himalpress.com/wp-content/uploads/2025/08/kukrejaa-3.jpg) 
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 