मन्त्रीहरूलाई देउवाको निर्देशन : गठबन्धनमा केही समस्या छैन, सहमतिअनुसार अघि बढ्नू

हिमाल प्रेस ३ माघ २०८१ १५:२९ | Thursday, January 16, 2025
मन्त्रीहरूलाई देउवाको निर्देशन : गठबन्धनमा केही समस्या छैन, सहमतिअनुसार अघि बढ्नू शेरबहादुर देउवा । फाइल तस्बिर

काठमाडौँ- नेपाली कांग्रेसले एमालेसँग भएको सहमतिअनुसार नै अघि बढ्न आफ्ना मन्त्रीहरूलाई निर्देशन दिएको छ। बिहीबार बुढानिलकण्ठमा बसेको संसदीय दलको कार्यसमिति र मन्त्रीहरूको संयुक्त बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवाले दुई पार्टीबीच कुनै समस्या नरहेको भन्दै सहमतिअनुसार नै अघि बढ्न निर्देशन दिएका हुन्।

बैठकमा सभापति देउवाले मुलुकमा सुशासन र आर्थिक समृद्धिका लागि कांग्रेस–एमालेबीच सहमतिका साथ सरकार गठन भएको र यसैमा केन्द्रित भएर काम गर्नुपर्नेमा जोड दिएका हुन्।

त्यस्तै, सबै मन्त्रीले आ–आफ्नो मन्त्रालयमा भइरहेको कामका बारेमा जानकारी गराएका थिए। उनीहरूले एमालेसँग भएको समझदारीअनुसार अघि बढिरहेको धारणा राखेको गृहमन्त्री रमेश लेखकले बताए।

बैठकले सांसद दीलेन्द्र बडूको संयोजकत्वमा संसदीय दल अनुशासन समिति गठन गर्ने निर्णय गरेको छ। संसदीय दलको विधानअनुसार प्रत्येक संसदीय समितिमा एक–एकजना संयोजक तोक्ने व्यवस्थाअनुसार केही सांसदलाई नियुक्त गर्ने निर्णय गरेको छ भने अदालतमा बहस गरेर निस्कने क्रममा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि भएको हातपातको निन्दा गरेको कांग्रेस मुख्य सचेतक श्याम घिमिरेले जानकारी दिए।

बैठकले सातामा दुई दिन मन्त्रीहरूले खुला भेटघाट गर्ने, नागरिकको सुझाव लिने र बाँकी पाँच दिन मन्त्रालयको काममा केन्द्रित हुन निर्देशन दिएको घिमिरेले बताए। त्यस्तै, बैठकले संसदीय समितिमा रहेका विधेयकलाई छिटो पारित गर्न र संविधान कार्यान्वयनका लागि नयाँ विधेयक ल्याउनका लागि सरकारको ध्यानाकर्षण गरेको छ।

प्रकाशित: ३ माघ २०८१ १५:२९ | Thursday, January 16, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast