 लाेसपा अध्यक्ष महन्थ ठाकुर। फाइल तस्बिर
                             लाेसपा अध्यक्ष महन्थ ठाकुर। फाइल तस्बिर
                                            काठमाडौँ- लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले मधेश केन्द्रित राजनीतिक दलहरूसँग सहकार्य र एकताका लागि वार्ता समिति बनाएको छ।
लोसपाले मधेश केन्द्रित दलहरूसँग सहकार्य, कार्यगत एकताका साथै एकीकरणका लागि पाँच सदस्यीय वार्ता समिति बनाएको हो।
समितिमा पार्टीका वरिष्ठ उपाध्यक्ष एवं मधेश प्रदेश अध्यक्ष जितेन्द्रप्रसाद सोनार, वरिष्ठ उपाध्यक्ष उमाकान्त झा, उपाध्यक्ष रामप्रकाश चौधरी, महासचिवद्वय डा.सुरेन्द्रकुमार झा र मनिषकुमार झा छन्।
संघीय लोकतान्त्रिक गणतन्त्रतात्मक शासन व्यवस्थालाई संस्थागत गर्दै थप राजनीतिक अधिकार प्राप्तिका लागि संघर्षशील राजनीतिक शक्तिहरूबीच संवाद, सहकार्य एवं कार्यगत एकता आवश्यक रहेको लोसपाको ठहर छ।
‘मधेश केन्द्रित राजनीति पार्टीहरूबीच संवाद, सहकार्य, कार्यगत एकता एवं राजनीतिक मुद्दा र सिद्धान्त मिल्ने दलहरूसँग पार्टी एकीकरण गर्ने सम्मको सम्भावनाको खोजी तथा परिणामुखी बनाउन वार्ता समिति गठन भएको,’ अध्यक्ष महन्थ ठाकुरले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
यसअघि जनता प्रगतिशील पार्टी (जप्रपा) का अध्यक्ष हृदयेश त्रिपाठीले मधेश केन्द्रित राजनीतिक दलहरूबीच सहकार्यका लागि आह्वान गर्दै संवाद सुरू गरिसकेको छ।
जप्रपाको वार्ता समितिले उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल, लोसपा, अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) सँग सहकार्यका लागि संवाद गरेको हो।
दुई ठूला दल नेपाली कांग्रेस र नेकपा (एमाले) बीच सत्ता साझेदारीका लागि गठबन्धन भएपछि मधेश केन्द्रित दलहरू सहकार्यका लागि पहल थालेको हो। संविधान संशोधन, समावेशिता, संघीयतालगायतका मुद्दामा सहकार्यको विकल्प नभएको मधेश केन्द्रित दलहरूको भनाइ छ।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 