भोजपुर खाद्य गोदामबाट सुपथ मूल्यमा चामल वितरण सुरु

हिमाल प्रेस २६ पुष २०८१ १३:१० | Friday, January 10, 2025
भोजपुर खाद्य गोदामबाट सुपथ मूल्यमा चामल वितरण सुरु

भोजपुर- खाद्य गोदामबाट सुपथ मूल्यमा चामल वितरण सुरु भएसँगै नागरिकलाई सहज भएको छ। गोदामबाट बजार मूल्यभन्दा सस्तोमा चामल वितरण गरिएपछि आर्थिक अवस्था कमजोर भएका तथा विपन्न नागरिकलाई राहत मिलेको हो।

गत असोज ७ गतेदेखि आगामी माघ २ गतेसम्म स्थानीय नागरिकलाई प्रतिकिलो पाँच छुटमा चामल वितरण भइरहेको जिल्लास्थित व्यापार कम्पनी लिमिटेड शाखा कार्यालयका प्रमुख सन्तोषकुमार शाहले जानकारी दिए। गोदामबाट अहिले २५ किलो स्टिमजिरा मसिनो चामल दुई हजार एक सय २५ र अरुवा सोना मन्सुली चामल प्रतिबोरा एक हजार पाँच सयमा बिक्री भइरहेको छ।

स्थानीयको मागलाई पूर्ति गर्न विगतका वर्षभन्दा यस वर्ष चामलको मात्रा बढाइएको प्रमुख शाहले बताए। गत वर्षसम्म वार्षिक रूपमा एक हजार क्विन्टल चामल आउने गरेकामा एक हजार पाँच सय क्विन्टल पुर्‍याइएको उनले जानकारी दिए।

‘स्थानीयको मागलाई ध्यानमा राखेर आउने चामलको मात्रा बढाएका छौँ’, प्रमुख शाहले भने, ‘आर्थिक रूपमा विपन्न परिवारलाई प्राथमिकतामा राखेर चामल बिक्री गरिरहेका छौँ। औसतमा मासिक रूपमा एक सय २५ क्विन्टलसम्म चामल वितरण भइरहेको छ।’

स्थानीयको मागअनुसार गोदामबाट चिनी पनि वितरण थालिएको प्रमुख शाहले बताए। गोदाममा अहिले स्थानीयलाई वितरणका लागि १० क्विन्टल चिनी मौज्दात रहेको उनको भनाइ छ।कार्यालयबाट खाद्यसामग्री वितरणले नागरिकलाई राहतसँगै बजार मूल्यलाई सन्तुलनमा राख्न भूमिका निर्वाह गर्ने विश्वास लिइएको उनले बताए।

कार्यालयबाट सार्वजनिक बिदाका दिनबाहेक अन्य समयमा नियमित रूपमा चामल वितरण भइरहेको प्रमुख शाहले जानकारी दिए। उनले भने, ‘विगतमा चाडबाडका समयकम बढीमात्रामा चामल वितरण हुन्थ्यो। स्थानीयको सहजताका लागि नियमित रूपमा वितरण गरिरहेका छौँ। यसले दुर्गम क्षेत्रबाट आएका नागरिक बढी लाभान्वित भएका छन्।’

प्रकाशित: २६ पुष २०८१ १३:१० | Friday, January 10, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast