 
                             
                                            चितवन- सौराहाको होटल भिष्टा चितवनका दुई हात्ती अहिले बाघमारा वनमा राखिएका छन्। बढ्दो चिसोमा ती हात्ती खुला आकाशमुनि बाँधिएका छन्। निजी हात्तीका कारण जंगली हात्ती बस्तीमा आएको भन्दै ती हात्तीलाई वन क्षेत्रमा राखिएको हो।
होटलमा हात्ती राख्नका लागि छानो हालिएको भए पनि अहिले राखिएका ठाउँमा त्यो सुविधा छैन। होटल भिष्टा चितवनका सञ्चालक रमेश सिलवाल शीतलहरमा खुला आकाशमुनि हात्ती राख्नुपर्दा बिरामी हुने चिन्ता बढेको बताउँछन्।
उनले भने, ‘पहिले पहिले हात्ती पाल्न रहर हुन्थ्यो, अहिले कहर भएको छ,’ उनले भने, ‘पालिएका हात्ती न आफ्नै हात्ती सारमा राख्न पाइएको छ न बिक्री गर्न पाइन्छ न कतै पठाउन सकिन्छ।’ पशुअधिकार भन्दै पर्यटकलाई घुमाउँदा समेत आरोप खेप्नुपरेको उनको गुनासो छ।
एउटा हात्तीलाई दुईजना माउते आवश्यक पर्दछ। यसका अतिरिक्त हात्तीलाई धान, पराल, भेली, चना, हरियो घाँस आदि जुटाएर पाल्नुपर्दा एक महिनामा एक लाखभन्दा बढी खर्च हुने उनले जानकारी दिए।
यो मौसममा जंगली भाले हात्ती बस्ती पस्न थालेपछि स्थानीयले एकीकृत रुपमा हात्ती पाल्न दबाब दिँदै आएका छन्। जंगली हात्तीले होटल तथा व्यक्तिका घरमा मालिएका पोथी हात्ती खोज्दै बस्ती पस्ने गरेको स्थानीयको भनाइ छ।
केही महिनाअघि देखि जंगली हात्ती ‘मकुना’ वस्ती छिर्दै आएको छ। पछिल्ला दिनमा निजी हात्ती सञ्चालकहरूमा आफूले पालेका हात्ती कसरी व्यवस्थित गर्ने भन्ने चिन्ता बढेको छ। चितवन राष्ट्रिय निकुञ्ज स्थापना भएसँगै निकुञ्ज आसपासका क्षेत्रमा हात्ती पाल्न थालिएका हुन्।
क्षेत्रीय होटल संघ सौराहाका पूर्वअध्यक्ष दीपक भट्टराई एकीकृत रुपमा हात्ती पाल्नका लागि सरकारी तवरबाट सहयोग हुनुपर्ने बताउँछन्।
यो समस्या अहिलेको मात्र नभएर विगतका वर्षहरुदेखि झेल्दै आएको उनको भनाइ छ। पूर्वअध्यक्ष भट्टराईका अनुसार हात्तीको दैनिक आहार खर्च अत्यधिक बढेको, निकुञ्ज आउने पर्यटकको संख्या घटेको, पशुअधिकारका नाममा हात्ती चढ्नु अपराध हो भन्ने भाष्य सिर्जना गरिएको र जंगली हात्तीको आतंकका कारण आवश्यक स्याहारसुसारसहित घर कम्पाउन्डमा पाल्न नपाउने भएकाले हात्तीपालकहरूले अहिले अप्ठ्यारो अवस्था झेलिरहनु परेका छ।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 