नीर शाहलाई ‘बिजुलीमाया वनः श्रेष्ठ’ पुरस्कार

हिमाल प्रेस १६ माघ २०८१ १६:०८ | Wednesday, January 29, 2025
नीर शाहलाई ‘बिजुलीमाया वनः श्रेष्ठ’ पुरस्कार

हेटौँडा- यस वर्षको बिजुलीमाया वनः श्रेष्ठ अन्तर्राष्ट्रिय संगीत पुरस्कार वरिष्ठ कलाकार तथा गीतकार नीर शाहलाई प्रदान गरिएको छ।

भीम विराग संगीत साहित्य कला प्रतिष्ठानले मंगलबार साँझ हेटौँडामा एक कार्यक्रम आयोजना गरी नेपाली गीतसंगीतको क्षेत्रमा अतुलनीय योगदान पुर्‍याएको भन्दै शाहलाई नगद एक लाख राशिसहित १६औँ संस्करणको पुरस्कार प्रदान गरेको हो।

शाहलाई समर्पण तथा सांगीतिक समारोहका प्रमुख अतिथि साहित्यकार नगेन्द्र थापा तथा पुरस्कार संस्थापक कन्हैयाकृष्ण श्रेष्ठले पुरस्कार प्रदान गरेका हुन्। शाहले पाँच दशकदेखि निरन्तर आधुनिक गीत, संगीत र चलचित्रका क्षेत्रमा योगदान पुर्‍याउँदै आएका छन्।

नेपाली गीत संगीतको क्षेत्रमा स्वदेश तथा विदेशमा महत्वपूर्ण योगदान गर्दै आएका कलाकार तथा सर्जकहरूको साधनाको उच्च कदर गर्दै व्यवसायी कन्हैयाकृष्ण श्रेष्ठले ममतामयी आमा बिजुलीमाया वनः श्रेष्ठको नाममा २०६४ सालमा अन्तर्राष्ट्रिय संगीत पुरस्कार स्थापना गरेका थिए।

यसअघि उक्त पुरस्कारबाट अम्बर गुरुङ, प्रेमध्वज प्रधान, भक्तराज आचार्य, फत्तेमान राजभण्डारी, शान्ति ठटाल, दीप श्रेष्ठ, प्रकाश श्रेष्ठ, न्हुच्छेबहादुर डंगोल, मीरा राणा, कर्म योञ्जन, चेतन कार्की, दावा ग्याल्मो, दीपक जंगम, किरण प्रधान, राजेन्द्र थापा सम्मानित भइसकेका छन्।

चलचित्र निर्माण, निर्देशन एवं अभिनयमा समर्पित शाहले वि.सं.२०३२ देखिको निरन्तर नेपाली गीत लेखन गर्दै आएका हुन्। शाहद्वारा लिखित ‘पर्खी बसे आउँला भन्नी’, ‘बादल बनाइदेऊ’, ‘गहिराइमा डुब्दै नडुब’ लगायत कालजयी गीतहरू चर्चित छन्।

प्रकाशित: १६ माघ २०८१ १६:०८ | Wednesday, January 29, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast