‘निफ’ मा ४० देशका ८७ फिल्म देखाइने

हिमाल प्रेस ६ माघ २०८१ १२:५५ | Sunday, January 19, 2025
‘निफ’ मा ४० देशका ८७ फिल्म देखाइने

काठमाडौँ- नेपाल अन्तराष्ट्रिय फिल्म महोत्सव (निफ) को आठौं संस्करणमा ४० देशका ८७ फिल्म छनोट भएका छन्। आगामी चैत ७ देखि ११ सम्म चल्ने महोत्सवमा ४० देशका ८७ फिल्म छनोट भएको महोत्सव अध्यक्ष केपी पाठकले जानकारी दिए।

महोत्सवका लागि ७० देशबाट फिल्मको प्रस्ताव आएको र ४० देशका ८७ फिल्म छनोट गरेकाे अध्यक्ष पाठकले बताए। विगतका संस्करणभन्दा फरक तरिकाले महोत्सवको तयारी भइरहेको अध्यक्ष पाठककाे भनाई छ।

‘यसअघि संस्करणभन्दा भव्य बनाउने किसिमले हामीले तयारी गरिरहेका छौँ। यो विश्वभरका फिल्मकर्मी भेटघाट र छलफल आदानप्रदान गर्ने माध्यम बन्नेमा विश्वस्त छौँ।’ उनले भने। निफमा स्वदेशी तथा विदेशी फिल्मकर्मी, राजनीतिज्ञ र समाजका प्रतिष्ठित व्यक्तित्वसँग छलफलका साथै विभिन्न कार्यशाला पनि सञ्चालन हुने उनले बताए।

उनका अनुसार महोत्सवलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय गरेर दुई किसिमले वर्गीकरण गरिएको छ। दुवैमा फिचर र लघु फिल्मका साथै वृत्तचित्र विधामा अवार्ड वितरण गरिने छ।

नेपाली फिल्मको प्रतिस्पर्धा हुने ‘नेसनल पानोरमा’ मा जोन योञ्जनको ‘क्रलिङ क्रोज’, दिनेश राउतको ‘पुजार सार्की’, विनोद पौडेलको ‘भूठान’ र लक्ष्मण सुवेदीको ‘सतीदेवी’ छनोट भएका छन् ।

नेपाली वृत्तचित्रको प्रतिस्पर्धा विधामा सुविना श्रेष्ठको ‘देवी’, रजिला श्रेष्ठको ‘छेसाङ’, गौरव आयरको ‘मुक्ति’, तासी लाजोमको ‘नो मोनास्ट्री नो भिलेज’, दीपा श्रेष्ठको ‘उड्ने सपना’ र लव प्याकुरेलको ‘गल्स रिराइटिङ डेस्टिनी’ परेको छ।

यसपटक एआई प्रविधि वा सो विषयमा बनेको फिल्मको प्रतिस्पर्धा थपिएको पाठकले जानकारी दिए। ‘एआई फिल्म्स’ नाम दिइएको यो विधामा चीनको ‘एभ्री हेजिस्टेसन अफ योर्स क्यान डिस्ट्रोय दी वल्र्ड’, अर्जेन्टिनाको ‘दी एबिस’, फ्रान्सको ‘गोल्ड कास्टिङ’, पेरूको ‘दी ड्रिम, दी फग एन्ड दी रेन’ र अमेरिकाको ‘मब पार्ट १’ रहेको छ।

महोत्सवमा अन्तर्राष्ट्रिय प्रतिस्पर्धाअन्तर्गत सर्वोत्कृष्ट हुने फिल्मलाई एक हजार पाँचसय अमेरिकी डलर राशिसहित ‘गौतम बुद्ध अवार्ड’ प्रदान गरिनेछ। त्यसै, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चलचित्रबाट कुनै एक चलचित्रलाई ‘अन्तर्राष्ट्रिय चलचित्र समाज महासङ्घ’ को तर्फबाट ‘डन कि होते’ शीर्षकमा पुरस्कार प्रदान गरिनेछ।

नेपाली प्रतिस्पर्धाअन्तर्गत उत्कृष्ट फिल्मलाई एक लाख नगद र ट्रफी, उत्कृष्ट छोटो चलचित्र र उत्कृष्ट वृत्तचित्रलाई रू ५०÷५० हजार नगद र ट्रफी प्रदान गरिनेछ ।

महोत्सवमा सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय वृत्तचित्रलाई एक हजार डलर राशिको ‘माउन्ट एभरेस्ट अवार्ड’ र सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय लघुचलचित्रलाई पाँच सय डलरको ‘बागमती अवार्ड’ प्रदान गरिनेछ।

त्यस्तै, एआई प्रविधिको फिल्मलाई पाँच सय अमेरिकी डलरको ‘मञ्जुश्री अवार्ड’ प्रदान गरिने आयोजकले जनाएको छ। महाेत्सव नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले आयोजना गरेकाे हाे।

प्रकाशित: ६ माघ २०८१ १२:५५ | Sunday, January 19, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast