तराईमा कठ्यांग्रिँदो चिसो, कपडा किन्न पसलमा भीड

हिमाल प्रेस १५ माघ २०८१ १०:३३ | Tuesday, January 28, 2025
तराईमा कठ्यांग्रिँदो चिसो, कपडा किन्न पसलमा भीड

मोरङ- पूर्वी तराईका विभिन्न जिल्लामा हुस्सु र शीतलहरसँगै चिसो बढेपछि जनजीवन प्रभावित भएको छ। चिसोबाट बालबालिकालाई समस्या भएको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले तापक्रम घट्दै गएकाले चिसो थप बढ्ने जनाएको छ।

महाशाखाका अनुसार देशको विभिन्न भूभागमा साथै पूर्वी तराई र मधेसका जिल्लामा हुस्सु लागेर चिसो बढेको छ। पूर्वी तराईका विभिन्न जिल्लामा बाक्लो हुस्सु लाग्ने, मौसम धुम्मिने, बिहानदेखि लगभग बेलुकासम्मै शीतलहर परेर चिसो बढ्न थालेको छ।

चिसोले बिहान आवतजावत गर्ने विद्यार्थी, मजदूर, बालबालिका, गरिब, असहाय, ज्येष्ठ नागरिक बढी प्रभावित भएको सुन्दरहरैँचा ज्येष्ठ नागरिक समाजका अध्यक्ष रामकुमार कार्कीले बताए। सुन्दरहरैँचा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कार्कीले साँझपख चाँडै चिसो बढ्न थालेपछि बजार सम्साँझै सुनसान हुन थालेको उल्लेख गरे।

न्यानो कपडाका पसलमा भने ग्राहकको भीड बढेको छ। केही सर्वसाधारण स्थानीय यहाँ चिसोले गर्दा दाउरा, गुइँठा, बालेर आगो ताप्न बाध्य छन्। कठ्यांग्रिँदो चिसोसँगै केही नदेखिने गरी हुस्सु लाग्दा सवारीसाधन चलाउन पनि समस्या भएको सवारीचालक सरोज लामिछानेले बताए।

जिल्ला अस्पतालमा बालबालिका, वृद्धवृद्धा साथै मुटु, दम, फोक्सो, मधुमेह तथा अन्य दीर्घरोगी चिसोले गर्दा बढेका स्वास्थ्यकर्मीको भनाइ छ। चिसोसँगै दम, निमोनिया, रुघाखोकी, ज्वरोलगायत रोगका बिरामी बढेको पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पताल गोठगाउँले जनाएको छ।

बाक्लो हुस्सु लागेपछि विराटनगर आउने हवाई उडान खराब मौसमका कारण प्रभावित हुन थालेको विराटनगर विमानस्थल नागरिक उड्डयन कार्यालयले जनाएको छ।

प्रकाशित: १५ माघ २०८१ १०:३३ | Tuesday, January 28, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast