 
                             
                                            इलाम- इलामको चुलाचलीमा आजदेखि तेस्रो संस्करणको ‘चुलाचुली पाठशाला नाट्य महोत्सव’ सुरु हुँदैछ। नवौँ वार्षिकोत्सवको अवसरमा चुलाचुली रंगमञ्च ले दुई दिने नाट्य महोत्सव संयोजन गरेको हो।
चुलाचुली गाउँपालिका-३ स्थित पर्यटकीय क्षेत्र शिवओरकमा हुने नाट्य महोत्सवमा आठ नाटक मञ्चन, दुई खुला प्रस्तुति र दुई रंगमञ्चसम्बन्धि अन्तरसंवाद हुने चुलाचुली रंगमञ्चका अध्यक्ष चेतन आङथुपोले जानकारी दिए।
चुलाचुली गाउँपालिकाको सामुदायिक र संस्थागत गरी चार विद्यालय, जिल्ला बाहिरका दुई वटा विद्यालय र एक नाट्य संस्थाकासाथै आयोजक रंगमञ्चका एक नाटक मञ्चन हुनेछ।
महोत्सवको पहिलो दिन आज आयोजक चुलाचुली रंगमञ्चले ‘भुमरी’, मोरङस्थित सुविजिमुर मेरमोरियल माविले ‘उ जुनेली’, हेटौँडास्थित कलाक्रान्ति नाट्य समूहले ‘डार्क स्याडो’ र चुलाचुली गाउँपालिकास्थित पञ्चबुद्ध एकाडेमीले ‘मणी लुगा’मञ्चन गरिनेछ। त्यस्तै चेतना नाट्य समूह इलामको खुला प्रस्तुति र शिक्षा, नेपानी रंगमञ्च तथा नाटकको विषयमा अन्तरसंवाद हुने जनाइएको छ।

तस्बिर स्रोत : चुलाचुली रंगमञ्च
दोस्रो दिन चुलाचुली गाउँपालिकास्थित अमृत बोर्डिङ स्कूलले ‘द ल्याण्ड अफ मङ्की’, बालज्योति माविले ‘द रुट’, जनता माविले ‘वातावरण’ र मोरङस्थित रियालन्स माविले ‘मौनताको कथा’ मञ्चन गर्नेछन्। सोही दिन कुलुङ भाषा संस्कृति उत्थान संघ चुलाचुलीको खुला प्रस्तुति र शिक्षा, नेपानी रंगमञ्च तथा नाटकको विषयमा अन्तरसंवादसँगै महोत्सवको समापन गरिने अध्यक्ष आङ्थुपोले बताए।
‘विश्वव्यापारीकरमा ग्रामीण सौन्दर्यको खोजी’ भन्ने नारासहित तेस्रो संस्करणको नाट्य महोत्सव आयोजना गर्दैछौँ’, उनले भने, ‘नाट्य महोत्सवमा फाइन आर्ट कार्यशाला, फोटो प्रदर्शनी, नाटक कार्यशाला, विभिन्न जातजातिको लोकबाजा झाँकी प्रदर्शनी र रंमञ्च अन्तरसंवाद गरिनेछ।’
भूमि, कला र पर्यावरणको समिश्रणमा चुलाचुली पाठशाला नाट्य उत्सव आयोजना गरेको उनले बर्ताए। ‘शैक्षिक संस्थालाई रंगमञ्च कसरी बुझाउन सकिन्छ भन्ने अभ्यास गरेका छौँ। अभ्यास र नाटकसँगै पर्यावरणबारे पनि बुझाउने हाम्रो प्रयास हो’, अध्यक्ष आङथुपोले भने, ‘हामीले भूमि, कला र पर्यावरण कलाको समिश्रणमा खुला ठाउँमा नाट्य उत्सव गर्न लागेका हौँ।’
रंगमञ्चका सचिव सन्तोष गिरीले समुदायसँग सहकार्य गर्दै स्थानिय सीप कलामा जोड्दै आएको बताउनुभयो। ‘समुदायसँग रंगमञ्च जोड्ने र स्थानीय ठाउँमा रहेका माटो, ढुङ्गा, पानी र विभिन्न वनस्पतिबाट स्टेज बनाएका छौँ’, उनले भने, ‘हामीले प्राकृतिक चिजलाई कसरी कलात्मक बनाउने भन्ने अभ्यास गरिरहेका छौँ।’
नाट्य महोत्सवलाई प्रोत्साहन गर्न चुलाचुली गाउँपालिकाले आर्थिक सहयोग गरेको छ। स्थानीयस्तरमा हुने कला र संस्कृतिको संरक्षण गर्न गाउँपालिकाले सहयोग गर्दै आएको गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङले बताउनुभयो। उनले भने, ‘हाम्रो पालिकाभित्रका विभिन्न प्रतिभालाई गाउँपालिकाले प्रोत्साहन गर्दै आएको छ।’
चुलाचुली रंगमञ्चले यसअघि २०७६ सालमा पहिलो र २०७९ सालमा दोस्रो नाट्य महोत्सव आयोजना गरेको थियो।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 