काम छोडेको दुई दिनमै पार्टी प्यालेसबाट झन्डै १५ लाख चोरी, दुई पूर्वकर्मचारी पक्राउ

विजय नेपाल १४ माघ २०८१ २०:२३ | Monday, January 27, 2025
काम छोडेको दुई दिनमै पार्टी प्यालेसबाट झन्डै १५ लाख चोरी, दुई पूर्वकर्मचारी पक्राउ

पोखरा- पोखरामा चल्तीको एक पार्टी प्यालेसबाट तीन दिनअघि झण्डै १५ लाख चोरी भयो। पोखरा-८, सिर्जनाचोकस्थित साइमन पार्टी प्यालेसको कार्यालय कक्षको र्‍याकमा राखिएको १४ लाख ७४ हजार रुपैयाँ एक्कासि चोरी भएपछि हल्लाखल्ला भयो। पार्टी प्यालेस सञ्चालकले चोरी भएको राति ११ माघको सीसीटीभी फुटेज हेरे। त्यहाँ भेटिए-आफ्नै पूर्व कर्मचारी।

पार्टी प्यालेस सञ्चालक विनोद पौडेलले जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी दिए। कास्की प्रहरीले घटनाको दुई दिनमै चोरीमा संलग्नलाई पक्राउ गरी सार्वजनिक गरेको छ।

पक्राउ पर्नेमा रुपन्देही जिल्लाको देवदह नगरपालिका-१० घर भएका २२ वर्षीय ईश्वर श्रेष्ठ र स्याङ्जाको भिरकोट नगरपालिका-३ की २९ वर्षीया पूजा श्रेष्ठ हुन्। उनीहरूलाई प्रहरीले बुटवल उपमहानगरपालिका वडा ११, कालिका नगरको एक होटलबाट नगद १२ लाख ५२ हजार ५८० रुपैयाँसहित पक्राउ गरेको हो।

कास्की प्रहरी प्रवक्ता डीएसपी वसन्तकुमार शर्माले उनीहरूविरुद्ध कास्की जिल्ला अदालतबाट चोरी तथा डाँका सम्बन्धी कसुर मुद्दामा ६ दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको बताए। डीएसपी शर्माले प्राप्त उजुरीपछि चोरीमा संलग्नको फोन ट्रयाकको आधारमा रुपन्देही प्रहरीको सहयोगमा पक्राउ गरिएको बताए।

उता पार्टी प्यालेस सञ्चालक पौडेलका अनुसार आफूहरूले पार्टी प्यालेसको संरचना थप गरिरहेकोमा विवाह पार्टीबाट जम्मा भएको रकम तथा ढुंगा, बालुवा र गिट्टीको पैसा तिर्न भनी र्‍याकमा राखेको उक्त परिणामको रकम पूर्व कर्मचारीबाटै चोरी भएको जानकारी दिए।

ईश्वर र पूजा उक्त पार्टी प्यालेसमा करिब चार महिनाजति वेटर पदमा काम गरी गत ८ माघमा मात्र जागिर छाडेका थिए। पौडेलले भने, ‘लेकसाइडमा काम पायौं भनी उनीहरु दुवैले एकैपटक माघ ८ गते जागिर छाडेका थिए। त्यसको दुई दिन नबित्दै सीसीटीभी हेर्दा उनैले चोरी गरेको पाइयो। म त छक्क परेँ।’ उनीहरू पतिपत्नी नभए पनि पछिल्लो समय सँगै बस्ने गर्दै आएका थिए। केटीले पहिले अर्कैसँगै बिहे गरी छाडेकी थिइन्।

११ माघ राति १ बजे भएको सो चोरीबारे सञ्चालक विनोदले भोलिपल्ट र्‍याक खोल्दा चोरी भएको थाहा पाएका थिए। रकम चोरी गर्ने क्रममा र्‍याकको ताला फोडिएको थियो भने नजिकैको सीसीटीभी फुटाइएको थियो।

घटनापछि वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले टोलीले अनुसन्धान जारी राखेको थियो। कास्की प्रहरीका अनुसार उनीहरूको साथबाट साढे १२ लाख बरामद गरे पनि बाँकी रकम खर्च गरिसकेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।

प्रकाशित: १४ माघ २०८१ २०:२३ | Monday, January 27, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast