 सांकेतिक तस्बिर।
                             सांकेतिक तस्बिर।
                                            काभ्रे- गएराति काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–९ काभ्रेभञ्ज्याङमा रहेको श्यामसुन्दर फर्निचर तथा काष्ठ उद्योगमा आगलागी हुँदा अन्य दुई घरसमेत जल्नुका साथै एक वृद्धाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय धुलिखेलका अनुसार शुक्रबार राति ९ः३० बजे उद्योगमा विद्युत् सर्ट भई आगलागी हुँदा सोही उद्योगका कामदार काठमाडौँको शंखरापुर नगरपालिका–१ नाङ्लेभारेका तोयानाथ दंगालकी श्रीमती ७० वर्षीया वृद्धा टीकादेवी दंगालको जलेर मृत्यु भएको हो। आगलागीमा घाइते तोयानाथको धुलिखेल अस्पतालमा उपचार भइरहेको जनाइएको छ।
उद्योगबाट सुरु भएको आगोबाट नजिकका कृष्ण विकको कच्ची घर तथा धुवबहादुर विकको जस्तापाताको टहरोसमेत जलेका छन्। उक्त आगलागी पाँच वटा दमकलको सहायताबाट नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीयको सहयोगमा पौने दुई बजे नियन्त्रणमा ल्याइएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक बसुन्धरा खड्काले बताए।
आगलागीबाट उद्योगको ८० लाख रुपैयाँ, अन्य दुई घरको १० लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक मूल्यांकनबाट देखिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार मृतकको शव परीक्षणका लागि धुलिखेल अस्पताल लगिएको छ।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 