‘एक्टर : टेक वान’ आजदेखि हलमा

हिमाल प्रेस १८ माघ २०८१ ६:४० | Friday, January 31, 2025
‘एक्टर : टेक वान’ आजदेखि हलमा

काठमाडौँ- अघिल्लो शुक्रबार (माघ ४ गते) प्रदर्शित फिल्म ‘एक्टर’ सँग नाम मिलेको विषयमा विवाद उत्पन्न भएपछि काठमाडौँ जिल्ला अदालतको आदेशमा प्रदर्शन रोकिएको फिल्म ‘एक्टर : टेक वान’ आजबाट हलमा लागेको छ। ‘एक्टर’का निर्मातासँग सहमति जुटेपछि फिल्मलाई आजबाट प्रदर्शनमा ल्याइएको बिहीबार पत्रकार सम्मेलनमा निर्माता थमन कुमार भण्डारीले यसबारेमा जानकारी गराएका हुन्।

दुवै ‘एक्टर’ का निर्माताबीच सहमति भएपछि वितरक कम्पनी डिसीएनले हलहरूलाई शुक्रबारबाट फिल्म चलाउन आग्रह गर्दै इमेल पठाएको थियो। यसपछि देशको सबैभन्दा ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्ससहितका हलले फिल्मको बुकिङ खुलाएका छन्।

चलचित्र विकास बोर्डले पनि नेपाल चलचित्र संघलाई फिल्मको रिलिजमा सहजीकरण गरिदिनका लागि पत्र पठाएको छ। गत आइतबार ‘एक्टर’को प्रस्तुतकर्ता कम्पनी नेपाली डायस्पोरा इन्टरटेन्मेन्टको तर्फबाट सम्राट थापाले आफ्नो फिल्मको नाम तथा कथावस्तु चोरी गरेर ‘एक्टर : टेक वान’ निर्माण गरिएको दाबीसहित फिल्मको प्रदर्शन रोक्न माग गर्दै अदालतमा रिट दायर गरेका थिए।

सो रिट निवेदनको आधारमा अदालतले फिल्मको रिलिज रोक्न अन्तरिम आदेश जारी गरेको थियो। बिहीबार दुवै फिल्मका निर्माताबीच वार्ता भएपछि नामलाई लिएर उत्पन्न विवाद सुल्झिएको हो। दुवै फिल्मको निर्माण कम्पनीले जारी गरेको संयुक्त प्रेस नोटमा ‘एक्टर’का निर्माताले ‘एक्टर : टेक वान’ विरुद्ध काठमाडौँ जिल्ला अदालतमा दायर भएको मुद्दा फिर्ता लिने जनाइएको छ।

राजन भुसालको निर्देशनमा तयार भएको ‘एक्टर : टेक वान’मा प्रदीप खड्का, आना शर्मा, दिव्या रायमाझी, राजबल्लभ कोइराला, निश्चल बस्नेत लगायतको अभिनय छ।

प्रकाशित: १८ माघ २०८१ ६:४० | Friday, January 31, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast