आर्थिक भार पर्नेगरी कर्मचारी नियुक्त गरेको भन्दै स्काउटका निर्देशक निलम्बित

हिमाल प्रेस २७ पुष २०८१ ७:०४ | Saturday, January 11, 2025
आर्थिक भार पर्नेगरी कर्मचारी नियुक्त गरेको भन्दै स्काउटका निर्देशक निलम्बित

काठमाडौँ- नेपाल स्काउटका प्रमुख आयुक्त महेन्द्रराज रन्जितले निर्देशक रामप्रसाद भट्टराईलाई निलम्बन गरेका छन्।स्काउटका प्रमुख आयुक्त रन्जितले प्रमुख आयुक्त स्तरीय निर्णय गर्दै बिहीबार तीन महिनाका लागि निलम्बन गरेका हुन्। बैठकमा छलफलै नभएको विषयमा नेपाल स्काउटलाई दीर्घकालीन आर्थिक भार पर्नेगरी विभिन्न व्यक्तिलाई राष्ट्रिय परिषद् बैठकको निर्णयको हवाला दिई नियुक्ति गरेकाले उनलाई निलम्बन गरिएको हो।

निर्देशक भट्टराईले अधिकृतस्तरमा दुई जनालाई चार वर्ष र कार्यालय सहयोगीमा एक जनालाई एक वर्ष आफूखुसी नियुक्त गरी नियुक्ति पत्र उपलब्ध गराएको प्रमुख आयुक्त रन्जितले बताए।

आफैँले हस्ताक्षर गरी तलबसमेत भुक्तानी दिएको, पटक-पटक कार्यसमितिलाई जानकारी नगराइ विदेश जाने तथा विदेश जाँदा आफूले सम्हाली आएको जिम्मेवारी कोही कसैलाई नतोकी भट्टराईले नेपाल स्काउटको प्रशासनिक कार्यलाई आफ्नो हातमा लिएको, राष्ट्रिय परिषद्को हवाला दिई पत्राचार गरेका विषयमा पटक-पटक लिखित जवाफ पेश गर्न समय प्रदान गर्दा अटेर गरेकाले निलम्बन गरिएको जनाइएको छ ।

लिखित जबाफ पेस गर्न दिएको समय भट्टराईले अटेर गरी कार्य समितिप्रति बेवास्ता गरेको, विद्युतीय (ईभी) सवारी प्रयोग गरी कार्यालयबाट तेल, मोबिल, चालकसमेतको एकमुष्ठ तलवमा गाभी मासिक भुक्तानी लिएको नेपाल स्काउटले जनाएको छ ।

पटक-पटक सचेत गराउँदा समेत भट्टराईले गैरकानुनी कार्य गरी संस्थालाई हानी नोक्सानी गरेकाले कार्यालय प्रमुखको जिम्मेवारीमा राख्दा संस्थालाई नोक्सानी हुने, सत्य तथ्य छानबिन गर्न बाधा पर्ने र सत्य तथ्य जानकारी लिन नसकिने भएकोले भट्टराईले सम्हाली आएको निर्देशक अर्थात् कार्यालय प्रमुखको जिम्मेवारीबाट तीन महिनाका लागि नेपाल स्काउट कर्मचारी नियमावली, २०५२ को व्यवस्था बमोजिम प्रमुख आयुक्त स्तरीय निर्णय गरी निलम्बन्न गरिएको रन्जितले बताए ।

प्रकाशित: २७ पुष २०८१ ७:०४ | Saturday, January 11, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast