काठमाडौँ- नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। सोमबार मध्यरातिदेखि लागु हुने गरी निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको हो।
निगमले पेट्रोलको मूल्य प्रतिलिटर एक र डिजेलको मूल्य प्रतिलिटर दुई रूपैयाँले बढेको जनाएको छ।
त्यस्तै हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर रू.२ र हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ काठमाडौँका लागि प्रतिकिलोटिर अमेरिकी डलर १५ का दरले घटाइएको भने पोखरा र भैरहवाका लागि ‘ब्रेक इभेन प्वाइन्ट’ मा बिक्री मूल्य कायम भएको छ।
पेट्रोल र डिजेलको मूल्य बढे पनि खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत राखिएको निगमले जनाएको छ।
नयाँ मूल्यअनुसार पहिलो वर्गमा पर्ने चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोल प्रतिलिटर रू. १६०.५० र डिजेल रू.१५०.५० मा बिक्री हुनेछ।
दोस्रो वर्ग सुर्खेत र दाङमा पेट्रोलको प्रतिलिटर रू. १६२ र डिजेलको प्रतिलिटर रू. १५२ मूल्य कायम भएको छ।
त्यस्तै तेस्रो वर्गअन्तर्गत काठमाडौँ, पोखरा र दिपायलमा पेट्रोल प्रतिलिटर रू. १६३ र डिजेल प्रतिलिटर रू. १५३ कायम भएको निगमले जनाएको छ।