काठमाडौँ- नेपाली सेना र भारतीय सेनाबीच सञ्चालन हुँदै आएको संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’को अठारौँ संस्करण आज (मंगलबार) बाट रुपन्देहीको सालझण्डीस्थित नेपाली सैनिक व्याटल स्कुलमा सुरु भएको छ। मध्यपश्चिम पृतनाका पृतनापति उपरथी प्रेमबहादुर पुनले अभ्यासको शुभारम्भ गरेका हुन्।
अभ्यास नेपाली सेनाबाट प्रमुख सेनानी निराजन कटवाल र भारतीय सेनाबाट कर्णेल जपेन्दर पाल सिंहको नेतृत्वमा सञ्चालन भइरहेको छ। कुल ६६८ जना सैनिकहरू सहभागी भई सञ्चालन भएको उक्त संयुक्त अभ्यास पुस २९ गते सम्पन्न हुने नेपाली सेनाले जनाएको छ।
यसअघि नेपाली सेना र भारतीय सेनाको संयुक्त अभ्यास सूर्य किरणको सत्रौँ संस्करण भारतको पिथौरागढमा सम्पन्न भएको थियो। २०६७ सालबाट नेपाल र भारतमा वार्षिक रूपमा आलोपालो गरी सञ्चालन हुँदै आएको यस संयुक्त अभ्यास हालसम्म दुवै देशमा गरी १७ पटक सफलतापूर्वक सञ्चालन भइसकेको सेनाको भनाइ छ।
अभ्यासमा मुख्यतया विपद् व्यवस्थापन, प्रतिव्रिदोह, प्रतिआतंकवाद, जंगल युद्धकला र मानवीय सहयोग लगायतका विषयहरुमा दुई देशका सैनिकहरूले सैद्धान्तिक, व्यवहारिक र विशेष अनुभवहरूको आदानप्रदान गर्नेछन्।