जिमी कार्टरको जीवन : सैन्य, बदाम, राजनीति र मानवसेवा

पाँचपटक नेपाल आउने पूर्व अमेरिकी राष्ट्रपति

हिमाल प्रेस १५ पुष २०८१ २१:१९
66
SHARES
जिमी कार्टरको जीवन : सैन्य, बदाम, राजनीति र मानवसेवा तस्बिर सौजन्य: कार्टर सेन्टर

काठमाडौँ- अमेरिकी राष्ट्रपति जिमी कार्टरको एक सय वर्षको उमेरमा निधन भएको छ। कार्टर सेन्टरका अनुसार १०० वर्षीय पूर्वराष्ट्रपति कार्टरको आइतबार उनको निवासमै निधन भएको हो। क्यान्सरलाई जितेर गत अक्टोबर १ मा शताब्दी पुरुषको रूपमा  जन्मदिन मनाएका थिए। सय वर्ष बाँच्न सफल विरलै व्यक्तिमध्ये उनी एक हुन्। कार्टर साढे चार दशक अघि अमेरिकाको ३९ औँ राष्ट्रपति थिए। उनले त्यतिबेला रिपब्लिकन नेता जेराल्ड आर फोर्डलाई हराएका थिए।

उनी सबैभन्दा बढी उमेर बाँच्ने अमेरिकी राष्ट्रपतिमा समेत दरिए। सन् २०१८ सालमा जर्ज एच डब्लु बुसको निधन भएको थियो। उनी ९४ वर्ष १ सय ७१ दिन बाँचेका थिए। त्यो रेकर्ड तोडेर कार्टर थप ६ वर्ष बढी बाँचे।

जर्ज डब्लु बुस र जिमी कार्टर दुवै १९२४ मा जन्मिएका थिए। बुस जुन १२ का थिए भने कार्टर अक्टोबर १ का। बुस केही महिना जेठा थिए। तर कार्टर बुस भन्दा १४ वर्ष अघि नै अमेरिकाको राष्ट्रपति भएका थिए। कार्टर १९७६ मा निर्वाचित भएर उनी १९७७ देखि १९८१ सम्म अमेरिकाको राष्ट्रपति बने। उनी अमेरिकाको राष्ट्रपति हुँदा ५२ वर्षका थिए।

कार्टर ९ वर्ष अघिदेखि मेलानोमा नामक छालामा हुने क्यान्सरसँग लडिरहेका थिए। उनलाई क्यान्सर लागेको घोषणा गर्दा रोगको असर कलेजो र दिमागसम्म फैलिसकेको भए पनि उपचारपछि उनी पूर्णरूपमा स्वस्थ थिए।

तस्बिर सौजन्य: कार्टर सेन्टर

कार्टरले गत वर्ष आफ्नी धर्मपत्नी गुमाए। ७७ वर्षसम्म साथ रहेकी उनकी पत्नी रोसलिनको निधन हुँदा ‘उनलाई मेरो शताब्दी मनाउने रहर थियो, त्यो पूरा भएन’ भनेका थिए कार्टरले। १००औँ जन्मदिन मनाउने क्रममा कार्टरले आफ्नो धार्मिक विश्वास र सार्वजनिक सेवाको सम्बन्धबारे चर्चा गरेका थिए। आफ्नो कार्य सबैको आधा भाग रोसलिनको भएको बताएका थिए। उनी बितेकै दिन पनि उनले भनेका थिए, ‘मेरो कामको सबै जसअपजसमा उनको आधा हिस्सा छ। उनी र म ७७ वर्षसँगै यस पृथ्वीमा संघर्ष गरिरह्यौँ, कहिले हाँसियो, कहिले रोइयो, कहिले नाचियो पनि…।’

गत अक्टोबरमा शताब्दी पुरुषका रुपमा उनको १०० औं जन्मदिन उनको निवासमा भव्यताका साथ मनाइएको थियो। पारिवारिक माहोलमा मनाइएको उक्त कार्यक्रममा सबैले यस पृथ्वीमा १ सय वर्ष नपाउने तर कसैले पाएमा उक्त समयलाई राम्रोका लागि प्रयोग गरेमा उत्सव मनाउनलायक हुने बताए। उनका नाति जेसन कार्टरले हजुरबुबा यसका लागि लायक व्यक्ति भन्दै भनेका थिए, ‘हजुरबा जस्तो मानवहितमा काम गर्ने र सक्रिय व्यक्ति विरलै जन्म लिएका हुन्छन्।’

कार्टरको राष्ट्रपति कार्यकाल खासै राम्रो मानिँदैन। सायद त्यही भएर उनी दोस्रो पटक राष्ट्रपति चुनिएनन्, हारे। उनी राष्ट्रपति भएलगत्तै गरेको पहिलो निर्णय नै विवादित भएको थियो। जसकारण पछिल्लो निर्वाचन उनका लागि फलामको चिउरा भयो। वाटरगेट कान्ड चर्केको थियो भने भियतनाम युद्धमा भागेकालाई उनले आममाफी दिए जुन निर्णय त्यहाँ खासै रुचाइएको थिएन। महिलालाई उच्च तहमा लैजाने पहल पनि उनले गरे, जुन कुरा अमेरिकीलाई खासै रुचि थिएन।

‘दी कार्टर सेन्टर’मार्फत् जिम्मीले दशकौंसम्म गरेको विश्वव्यापी जनस्वास्थ्यको वकालत, निर्वाचन पर्यवेक्षण र द्वन्द्व समाधानका लागि मध्यस्थकर्ताजस्ता कार्यहरूले उनले पूर्वअमेरिकी राष्ट्रपतिको भूमिकालाई नै पुनर्परिभाषित गरिदिएका थिए। उनी एक असफल किसन, व्यवसायी, नौसेना अधिकारी, राजनीतिज्ञ, वार्ताकार, लेखक भए। पछि उनी शान्ति र मानवतावादी व्यक्तिको परिचय बनाएर त्यसकै लागि उनले नोबेल शान्ति पुरस्कार पनि पाए।

बदाम किसानबाट राष्ट्रपति

अमेरिकाको जर्जिया राज्यको प्लेन्सको एक किसान परिवारमा जन्मिएका जेम्स अर्ल कार्टर जुनियर नै पछि जिम्मी कार्टरबाट परिचित भए। उनी चार सन्तानमध्ये जेठो थिए। उनका एक बहिनी र दुई भाइ थिए। उनकी धर्मपत्नी रोसलिन उनकी बहिनीको साथी थिइन्।

कार्टरका बुबाले त्यहाँ बदामको खेती गर्थे। त्यही खेतीसँगै बदामको व्यवसाय पनि थियो। उनकी आमा लिलियन भने नर्स थिइन्। आमाबाट उनले मानव जातिको सेवा झनै नजिकबाट बुझे। अस्पतालमा जागिरे आमा र किसान बुबाले उनलाई राम्रो शिक्षादीक्षा दिलाएका थिए।

उच्च शिक्षा अध्ययनको क्रममा बास्केटबल खेलाडीको परिचय बनाएका उनी अमेरिकी नौसेनामा लेफ्टिनेन्ट भए। त्यसलगत्तै उनको विवाह भयो। विवाहको केही समयपछि उनको बुबाको निधन भयो र उनी सेनाको जागिर छाडेर बुबाको खेती किसानीमा रमे। सन् १९५३ मा किसानको परिचय बनाउन घर फर्किएका उनी खडेरीको कारण खेतीकिसानीमा असफल भए। तर हिम्मत हारेनन् उनी पुर्खाको काममा रमे। सफल भए।

तस्बिर सौजन्य: कार्टर सेन्टर

त्यहाँ विद्यालय र पुस्तकालयमा आफू सक्रिय हुन थाले, जसले उनलाई जर्जियाको सिनेट नै बन्ने बाटो तय भयो। उनी उत्साहित हुँदै दुई पटक जर्जियाको सिनेट बनेपछि उनी १९७० मा जर्जियाको गभर्नर नै भए। उनी नागरिक अधिकारको पक्षमा खुलेर लागे। सबै नागरिक समान हुन् भन्ने उनको वकालत थियो।

उनले मुलुकमा जातीय भेदभावको समय समाप्त भएको भन्दै उनले अफ्रिकी अमेरिकनलाई सार्वजनिक पदमा नियुक्त गर्ने पहल गरे, जसले गर्दा उनको लोकप्रियता बढ्यो। त्यसपछि उनले सन् १९७४ मा राष्ट्रपतिको पदका लागि उम्मेदवारी दर्ता गरे, जुन बेला अमेरिकी नागरिक वाटरगेट स्क्यान्डलबाट आहत थिए। मुलुक भ्रष्टाचारमा डुबेको थियो।

उनले आफू किसानको छोरो रहेको र भ्रष्ट राजनीतिभन्दा निकै फरक पहिचान आफ्नो रहेको भन्दै उनले राष्ट्रपतिका लागि योग्य उमेदवारको रूपमा प्रस्तुत भए। अमेरिकी नागरिकले पत्याए पनि र  उनी राष्ट्रपति भए।

राष्ट्रपतिका रूपमा पहिलो भाषण पनि नस्लीय भेदभावविरुद्ध कडा अभिव्यक्ति साथ थियो। ‘म स्पष्ट रूपमा भन्न चाहन्छु कि नस्लीय भेदभावको युग समाप्त भएको छ,’ उनले भने। त्यति भनेर मात्र नपुगेर उनले अमेरिकी संसदको भित्तामा मार्टिन लुथर किङको तस्बिर मात्र राखेनन् सरकारी कार्यालयहरूमा अफ्रिकी अमेरिकीहरूको नियुक्तिलाई सुनिश्चित गरिदिए। जुन उनका कटु आलोचकलाई मसला भयो।

राष्ट्रपति पद सम्हालेकै दिन उनले भियतनाम युद्धबाट भागेर बाँच्नेहरू र युद्धमा जान नचाहेकाहरूलाई माफी दिए, जुन निर्णय निकै विवादास्पद बन्यो। त्यसपछि उनले महिलालाई महत्त्वपूर्ण प्रशासनिक पदमा लगे। ऊर्जा संकट र जलवायु परिवर्तनको पाटोमा उनी अन्य अमेरिकीभन्दा फरक भए जसले गर्दा उनको लोकप्रियता एक वर्षमा घट्दै गयो। किनकि कटु आलोचकले सबै कार्यलाई मसलाको रूपमा प्रयोग गरे। अझै अमेरिकी राष्ट्रपतिमा महिला चुन्न नसक्ने अमेरिकनले त्यतिबेला उच्च पदमा महिला पुगेको हेर्न सहज थिएन।

कार्टरको कूटनीतिक पहल

उनी राष्ट्रपति हुँदा अमेरिकाको अर्थतन्त्र नै जर्जर थियो। वास्तवमा अमेरिकी अर्थतन्त्र मन्दीमा फसेको थियो। ऊर्जा संकट पनि त्यस्तै थियो। त्यसको समाधानका लागि उनले कडा कदम उठाए अर्थात् पेट्रोल-डिजेलमा कोटा प्रणाली लगाए। त्यसपछि उनले संसदमै चर्को विरोध खेपे।

युनिभर्सल हेल्थकेयर सिस्टम पनि संसदबाट पारित हुन सकेन र बेरोजगारीसँगै ब्याजदरमा आएको उछालले कार्टरका समयमा चुनौती झनै थपिए। तर उनी सामना गर्दै अघि बढे। सन् १९७८ मा उनले इजिप्ट र इजरायलबीच सम्झौता गराउन महत्त्वपूर्ण भूमिका खेले र यसका लागि निकै प्रशंसा त बटुले। तर इरानमा अमेरिकी नागरिकहरूको बन्धक संकट र अफगानिस्तानमाथि सोभियत आक्रमणले उनको लोकप्रियता मात्र घटाएन इरानमा अमेरिकी नागरिक बन्धक बनेको घटनाले कार्टरमाथि संकट नै थपियो। कार्टरले बन्धक संकट सुल्झाउन इरानसँगको राजनीतिक सम्बन्ध तोडिदिए र कैयौं प्रतिबन्धहरू लगाए।

उनले पछि अन्तर्राष्ट्रियस्तरमा नै शान्तिको पहलकदमी लिए। तर इरानको घटनाको विषयलाई अमेरिकी जनतालाई बुझाउन सकेनन्। अनि उनी चुके। उनले आफ्नको कार्यकालमा नै सन् १९७९ मा चीनसँग मैत्री सम्बन्धको पहल गर्दै अमेरिका र चीनबीच औपचारिक कूटनीतिक सम्बन्ध स्थापित गर्ने घोषणा गरे। जसले गर्दा ताइवानमा रहेको दूतावास बन्द गर्न पर्ने हुन्थ्यो। त्यो सामान्य निर्णय थिएन।

तस्बिर सौजन्य: कार्टर सेन्टर

अमेरिकी सरकारको तर्फबाट उनले उत्तर कोरियासँग पनि वार्ता गरे। तर पनि उनी त्यहाँ सफल नेताको रुपमा दरिन सकेनन्। हुन त यतिबेला उनलाई मानवअधिकारको च्याम्पियनिङका लागि व्यापक रूपमा सम्मान गरिन्छ। तर दोस्रो कार्यकालमा उनी त्यही कारण हारेका थिए। जम्मा ६ राज्यमा मात्र जित हात पारेका थिए।

इरानमा देखिएको क्रान्ति र अफगानिस्तानमा रसियनको प्रवेशले उनी निकै चुनौतीपूर्ण ढंगले अघि बढिरहेका थिए। त्यतिबेला उनले आफ्नो लोकप्रियता गुमाइसकेका थिए, जसले गर्दा उनलाई असफल राष्ट्रपति पनि भन्छन्। प्रायःसबैजसो राष्ट्रपतिले दोस्रो कार्यकाल जित्ने गर्छन्। उनले दोस्रो कार्यकालमा रोनाल्ड रेगन (हिरो) प्रतिस्पर्धीसँग हार ब्यहोर्नुपर्‍यो।

उनले जलवायु परिवर्तनलाई गम्भीरतापूर्वक लिए। त्यसलाई गम्भीरतापूर्वक लिने उनी नै पहिलो अमेरिकी राष्ट्रपति हुन्। उनले ह्वाइट हाउसमा सोलार प्यानल राख्न समेत आदेश दिए। तर उनीपछिका राष्ट्रपति रोनाल्ड रेगनले यसलाई हटाएका थिए।

ह्वाइट हाउसपछि झन् सक्रिय

कार्टर दोस्रो कार्यकाल राष्ट्रपतिमा हारेपछि मानवअधिकार, शान्ति, विकास र स्वास्थ्यको क्षेत्रमा काम गर्न थाले। उनको जोस र जाँगरलाई देखेर उनकी पत्नीले १९८१ मा दी कार्टर सेन्टर भनेर संस्थानै खोलिन्। त्यसपछि मानव सेवामा कार्टर पतिपत्नी लागे। कार्टरकी श्रीमती रोसलिनले कार्टर सेन्टर स्थापना गरेसँगै मानव अधिकार, स्वास्थ्य, शान्ति, वातावरण र लोकतन्त्रसम्बन्धी मुद्दामा बढी केन्द्रित भएर काम गरिरहेको छ।

कार्टर अघिका अमेरिकी राष्ट्रपतिहरू अवकाशपछि सार्वजनिक जीवनबाट टाढिने गर्थे। तर कार्टरले जुन कार्य थाले त्यसले उनलाई थप उचाइ दियो। उनले साधारण जीवन बिताउन खोजे। आफ्नै पुरानो घरमा फर्किए। उनले ४ हजार भन्दा बढी घर मर्मत गर्ने मानव सेवा कार्यमा योगदान गरे।

त्यसपछि उनले सेन्टर नै खोलेर संगठित रुपमा काम गर्न थाले। कतिपयले त्यस कार्यलाई इभेनजेलिकल क्रिश्चियनिटी बढाउने कार्य पनि भने। कोही चाहनाले वा धर्म संस्कृति मन परेर धर्म फेर्न चाहन्छ भने किन नपाउने भन्ने पनि उनको धारणा थियो। ‘फ्रि विलले किन हुन नपाउने?,’ उनी भन्थे, ‘यसलाई धर्म परिवर्तन भनिँदैन। यो चाहना अनुरुपको कार्यको रुपमा लिनुपर्छ।’ लोभलालच प्रलोभन भन्ने विषय भने उनले बुझेनन्। अभाव झेलेको स्थानमा लोभ लालचमा परेर पनि धर्म परिवर्तन गरेको हुन्छ त्यसलाई भने उनले अन्तिमसम्म पनि बुझ्ने प्रयास गरेनन्।

तस्बिर सौजन्य: कार्टर सेन्टर

गतका वर्षहरूमा विदेशी चुनावको अनुगमन र विकासोन्मुख देशहरूमा रोगहरू कम गरेर लोकतन्त्रलाई अगाडि बढाउन काम गरेको भनिए पनि उनी त्यसरी धर्म परिवर्तनमा पनि मुछिएका थिए। हुन त सन् २००२ मा कार्टर, थियोडोर रुजवेल्ट र वुड्रो विल्सनपछि नोबेल पुरस्कार पाउने तेस्रो अमेरिकी राष्ट्रपति बने। उनी पहिलो अमेरिकी बने जसले राष्ट्रपति पद छाडेपछि नोबेल पुरस्कार पाउन सक्यो।

नोबेल पुरस्कार स्वीकारेपछि उनले आफ्नो भाषणमा भने, ‘सबैभन्दा गम्भीर समस्या पृथ्वीमा सबैभन्दा धनी र सबैभन्दा गरिबबीच बढिरहेको खाडल हो। यो पुर्न सबै मानव जातिको धर्म हो। हामी यो वा त्यो धर्म भनेर होइन आफ्नो चाहना अनुसारको धर्ममा रहन पाउनुपर्छ।’ उनी पछि सन् २००९ मा बाराक ओबामाले नोबेल शान्ति पुरस्कार पाए।

नेल्सन मन्डेलासँग मिलेर उनले ‘द एल्डर्स’ नामको संस्था बनाए जसले शान्ति र मानवअधिकारमा काम गर्ने विश्व नेताहरूलाई एक ठाउँमा ल्याउने काम गरे। धार्मिक विश्वास र सार्वजनिक सेवा छुट्याउन सकिँदैन भन्ने मान्यता राख्ने कार्टरले बारम्बार आफ्नो संस्थाले लामो समयदेखि ‘गिनी वर्म’नामक परिजीवीको संक्रमणबाट हुने रोग उन्मूलन गरेको भन्ने गरेको छ।

यो रोग फोहोर पानीबाट शरीरभित्र पस्ने ‘गिनी वर्म’ शरीरभित्रनै विकसित भएर उसको छाला छेडेर धागो जसरी बाहिर निस्कने गर्छ। यो प्राणघातक नभए पनि निकै पीडादायी संक्रमणको रुपमा रहने गरेको छ, जसको उपचारको लागि कुनै औषधि नै पत्ता लागेको छैन।

सन् १९८६ मा ‘द कार्टर सेन्टर’ले ‘गिनी वर्म’ संक्रमण उन्मूलन कार्यक्रम ल्याउँदा मुख्यतः अफ्रिकाका २१ देशमा ३५ लाख बिरामी रहेको पनि उल्लेख छ। यतिबेला यसका २८ मात्रै बिरामी छन्। उनले बारम्बार भन्ने गर्थे म अन्तिम गिनी वर्मभन्दा बढी बाँच्छु होला,’ उनले २०१६ मा नै भनेका थिए। त्यतिबेला २८ बिरामी रहेको उक्त रोग सायद उन्मूलन भइसकेको होला, उनले त्यसलाई नै जीवनका लक्ष्यहरूमध्ये एक हो भन्दै मलाई यसमा सफल हुने राम्रो अवसर भएको समेत बताएका थिए। गिनीसँगै उनी पनि अस्ताए।

कार्टरको नेपाल सम्बन्ध

कार्टर पहिलो पटक १९८५ मा नेपाल आएका थिए। जसक्रममा उनले ग्रामीण विकास र स्वास्थ्य सेवाका परियोजनाहरूको निरीक्षण गर्न नेपाल आएको भनिएको थियो। त्यो समयमा उनी मानिस स्वतन्त्र रहने र धर्मको परिवर्तन गर्न सक्ने कुरालाई प्रचार पनि गरेको भनिन्थ्यो। यद्यपि त्यसलाई पूर्व राष्ट्रपतिको स्तरबाट भनिएको हुनाले खासै वास्ता गरिएको थिएन।

उनको कार्टर सेन्टरले मानवहितमा काम गर्ने हुनाले पनि मानवलाई स्वतन्त्र छोड्ने विषय सामान्य थियो। नेपालमा लोभ लालचमा पारेर धर्म परिवर्तन गराइने हुनाले त्यो विषय सामान्य भएको हो। त्यसपछि उनी २००७ मा पनि दुईपटक नेपाल भ्रमणमा आए। पहिलो भ्रमणमा उनले द्वन्द्वपछिको नेपालको ग्रामीण समुदायसँग भेटघाट गरेका थिए। उनीहरुको चाहना बुझ्ने प्रयास गरेका थिए।

दोस्रो भ्रमणमा नेपालको शान्ति प्रक्रियामा सहयोग पुर्‍याउन उनको कार्टर सेन्टरको तर्फबाट महत्त्वपूर्ण भूमिका निर्वाह गरे। उनले नेपालमा कार्टर सेन्टरमार्फत निर्वाचनका लागि पहलकदमी पनि गरेका थिए। २००८ मा उनले नेपालको संविधानसभाको निर्वाचन पर्यवेक्षण गर्न पनि उनी नेपाल आए, जसले लोकतान्त्रिक प्रक्रियामा ऐतिहासिक योगदान पुर्‍यायो।

तस्बिर सौजन्य: कार्टर सेन्टर

त्यसपछि २०१३ मा उनको भ्रमणले स्वास्थ्य तथा ग्रामीण विकासका परियोजनाहरूमा कार्टर सेन्टरको भूमिकालाई सुदृढ गरेको थियो। त्यो समयमा उनी संविधान सभाको दोस्रो निर्वाचनलाई अनुगमन गर्न आएका थिए। उनले निर्वाचन नसकिँदै दिएको अभिव्यक्तिले उनको आलोचना भएको थियो। उनले निर्वाचनको मतदान नसकिँदै दिउँसो धाँधलीरहित उत्साहप्रद निर्वाचन भनिदिएका थिए।

उनी नेपालमा भूकम्प गएपछिको अवस्था बुझ्न पनि नेपाल आए। जसमा उनले भूकम्पपछिको पुनर्निर्माण र राहत कार्यमा पनि चासो दिएका थिए। उनको पटकपटकको भ्रमणले नेपाल-अमेरिका सम्बन्ध नजिकिएको मात्र थिएन, इँटा थप्ने काम नै भएको थियो। उनले नेपालको प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता, नेपाली जनताको माया र आतिथ्यताप्रति प्रशंसा गर्दै नेपालमा अमेरिकी पर्यटकको चाप बढाउने काम गरेका थिए। नेपालमा उनको कार्टर सेन्टरले चुनावी पर्यवेक्षण, स्वास्थ्य सेवा विस्तार र शान्ति प्रक्रियामा अतुलनीय योगदान गरेको विषय पनि छ। उनले दुवै संविधान सभाको निर्वाचनको पर्यवेक्षण गरेका थिए।

विश्वभर स्मरण

अमेरिकी राष्ट्रपति जो बाइडनले शोक व्यक्त गरेका छन्। उनले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘आज अमेरिका र विश्वले एक असाधारण नेता, राजनीतिज्ञ र मानवतावादी गुमाएको छ।’

उनको ५० वर्षदेखिका साथी थिए जो बाइडन। उनले आफूले एक सच्चामित्र गुमाएको बताएका छन्। विश्वले एक मानवतावादी नेता गुमाएको पनि बताए। ‘आजको दिन नै कस्तो दुःखद् दिन रहेछ। हामीले एक नेता र विश्वले एक कुशल वार्ताकार, मानवतावादी नेता गुमाएको छ,’ बाइडनले भने।

नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि उनीप्रति श्रद्धाञ्जली अर्पण गर्दै अब्बल र सक्रिय नेता गुमाएको बताएका छन्। उनको पथ अँगाल्न विरलै व्यक्तिले सक्ने उल्लेख गरे। विश्वभरबाट र पूर्व अमेरिकी राष्ट्रपतिहरूले उनको स्मरण गरेका छन्।

नेपालमा पनि सबैजसो राजनीतिक दलका शीर्ष नेताले नेपाल अमेरिका सम्बन्धको दरिलो खम्बा गुमाएको बताएका छन्। अधिक नेपाली नेताले नजिकबाट चिनेका अमेरिकी नेता हुन् कार्टर। उनीमार्फत सम्बन्धमा सुधार ल्याउने र सहकार्य गर्ने कार्यहरू अघि बढेका थिए।

कार्टरको अन्तिम संस्कार जनवरी ९ लाई तय गरिएको छ।

प्रकाशित: १५ पुष २०८१ २१:१९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + 20 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast