काठमाडौँ– ‘विद्या भण्डारी अब एमालेको अध्यक्ष हुने रे,’ ‘भण्डारी राष्ट्रिय राजनीतिमा आउन गुट बनाउँदैछिन् रे नि,’ एमाले वृत्तमा मात्रै होइन, टोल-गाउँका चियापसलमा यस्तै चर्चा हुने गरेको छ अचेल। साथै भण्डारी एमाले अध्यक्ष बन्ने र नेकपा ब्युँताउनेसम्मका कुरा समाचारका विषय बनेका छन्।
पछिल्लो समय भण्डारीको घुमघाम र भेटघाटले पनि राजनीतिमा फर्किन संकेत गरेको छ। साथै केपी ओलीका पछिल्ला गतिविधिले एमालेकै कतिपय नेताहरू पनि उनको विकल्प खोज्न थालेको बताउँछन्। ओलीपछि अब विद्या भण्डारी नै नेतृत्वमा उपयुक्त हुने नेताहरू बताउँछन्।
केही दिनअघि भण्डारी पोखरा भ्रमणमा गइन्। जाडो छल्न भन्दै पोखरा पुगेकी भण्डारीको भ्रमण राजनीतिक थिएन। एमालेकै नेताहरूको बुझाइचाहिँ भण्डारीले राजनीतिमा आउन ‘वार्मअप’ गरेकी हुन्।
भण्डारीका स्वकीय सचिव राजकुमार राईले भने, ‘भ्रमण राजनीतिक थिएन। उहाँ त्यतिकै भ्रमणमा निस्किनुभएको हो’, राई भन्छन्। एमाले नेताहरू भने पोखरा पुगेर भण्डारीले राजनीतिक भेटघाट गरेको दाबी गर्छन्।
भण्डारी पुस ४ र ५ गते पोखरामा आयोजित ‘फेवा संवाद’को प्रमुख अतिथि बनिन्। उनको सचिवालयका अनुसार सो कार्यक्रम त्रिभुवन विश्वविद्यालय र चीनको सिचुवान विश्वविद्यालयअन्तर्गतको चाइना सेन्टर फर साउथ एसियन स्टडिज (सीसीएसएस) को संयुक्त आयोजनामा भएको थियो। उद्घाटन सत्रमा उनले औपचारिक मन्तव्य दिइन्।
पोखरा बसाइँमा भण्डारीले एमालेका नेताहरूसँग अनौपचारिक भेटघाट र वार्ता गरेको नेताहरू बताउँछन्। स्वकीय सचिव राई भने भण्डारी पूर्वराष्ट्रपतिका हैसियतले भेटघाट गरेको बताउँछन्। ‘उहाँ (भण्डारी) देशको अभिभावक भइसक्नुभएको व्यक्ति हो। एमाले वा अन्य दलका नेताले अभिभावकका रूपमा भेटेका हुन्’, राई भन्छन्।
भण्डारीको पोखरासँग अर्को सम्बन्ध पनि छ। पोखरा महानगरपालिकाकी उपमेयर मन्जु गुरुङ भण्डारीकी मितिनी हुन्। दुई मितिनी भएर पनि पोखराका केही स्थान भ्रमण गरेका थिए। यस क्रममा अन्य नेताहरूसँग पनि भेटघाट भएको थियो। गुरुङले सामाजिक सन्जालमा राखेको तस्बिरमा समेत भण्डारीले राजनीतिक भेटघाटमा संलग्न भएको पुष्टि हुन्छ।
हुन त यसअघि भण्डारी एमालेकै कार्यक्रममा सहभागी भइसकेकी छन्। यसले पनि उनी एमालेको राजनीतिमा फर्किने संकेत गरेको छ। गत जेठ १६ मा भण्डारी जनसंगठन समन्वय संयन्त्रले आयोजना गरेको कार्यक्रममा वक्ताका रूपमा सहभागी थिइन्। पूर्वराष्ट्रपति बनिसकेको व्यक्तित्व पार्टीको सम्मान थापेकोमा कतिपयले राजनीतिमा आउने सम्भावनाको अनुमान गरेका थिए। यसपछि पनि एमालेका कार्यक्रममा सहभागी भइसकेकी छन्।
गत असोज ४ मा मदन भण्डारी फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा भण्डारीले २०८४ पछि एमालेले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभा अध्यक्ष सबै बनाएर मुलुकको अर्थतन्त्रलाई मजबुत बनाउनुपर्ने बताएकी थिइन्। ‘उहाँ पहिलैदेखि राजनीतिमा आउनेगरी लाग्नुभएको हो। उहाँको निवासमा समेत एमालेका कार्यकर्ताको भेटघाट बाक्लिन थालेको छ’, एमालेका एक नेता भन्छन्। उनी त्यसबेला एमालेको पक्षमा खुलेर लागिन्। यसअघिका पूर्वराष्ट्रपति-उपराष्ट्रपतिले हालसम्म पार्टीका विषयमा बोलेका छैनन्। भण्डारीको यो अभिव्यक्तिले पनि राजनीतिमा आउने संकेत देखाएको छ।
अध्यक्ष बन्ने हुन् त भण्डारी?
एमालेमा अध्यक्ष ओलीको भूमिका कमजोर भएको नेताहरू बताउँछन्। पार्टीभित्र ‘सर्वैसर्वा गर्न खोज्ने’ ओलीको स्वाभावले कार्यकर्ता विभाजित बनेको उनीहरूको दाबी छ। एमालेका एक सचिवालय सदस्य भन्छन्, ‘पार्टी बैठकमा कार्यकर्ताको कुरा नसुन्ने र आफ्नै निर्णय लाद्ने प्रवृत्ति ओलीमा बढेको छ।’
स्थायी कमिटी सदस्यको जिम्मेवारीबाट निलम्बित डा. विन्दा पाण्डेले पनि ओलीमा ‘स्टालिन’ स्वभाव देखिएको बताएकी छन्। ओलीको स्वाभावका कारण एमालेलाई क्षति पुर्याउने विन्दाको दाबी छ। पूर्वपरराष्ट्रमन्त्री डा. विमला राई पौडेलले एमालेले हालै गरेका कारबाही गलत भएको बताएकी छन्।
एमालेमा यति सम्म चर्चा छ कि आउँदो महाधिवेशनपछि अध्यक्षमा भिडन्त ओली-भण्डारीबीच हुन सक्ने सम्भावना छ। किनभने ओली तेस्रो पटक अध्यक्ष हत्याउने दाउमा लागेका छन्। उनले यसअघिको एक कार्यक्रममा २० वर्ष पार्टी नेतृत्वमा आँखा नलगाउन अनुरोध गरेका थिए। ‘एमालेबिनाको नेपाल र ओलीबिनाको एमालेको कल्पना नगर्न’ उनको आग्रह थियो। तर ओली नै तेहेरिने भए पनि भण्डारी पछि नहट्ने कतिपयको तर्क छ। किनकि, ओली इतर समूहको दबाबले पनि भण्डारी अध्यक्षमा दाबेदारी दिने तयारीमा छन्।
किनकि, एमालेभित्र उपाध्यक्षहरू विष्णु पौडेल, गुरु बराल, उपमहासचिव पृथ्वीसुब्बा गुरुङलगायतका नेता भण्डारी निकट मानिन्छन्। एमाले विभाजन हुँदा एकीकृत समाजवादीतर्फ नगई एमालेमा रहेका ‘दसबुँदे’ नेताहरूसमेत भण्डारी निकट रहेको ओली निकट नेताहरूको तर्क छ। यसैले पनि भण्डारी एमालेको अध्यक्ष बन्ने लगभग पक्का रहेको राजनीतिक विश्लेषक विष्णु दाहालको बुझाइ छ।
‘भण्डारीले राष्ट्रपति हुँदा नै सक्रिय राजनीतिको चाल चालेकी थिइन्। अब भने पुष्टि भइसक्यो,’ राजनीतिक विश्लेषक दाहाल भन्छन्, ‘ओलीप्रतिको वितृष्णाले पनि भण्डारी सक्रिय भएको देखिन्छ।’ एमालेभित्र भने ओली फेरि अध्यक्षको दाबेदार भएको देखिन्छ। यसअघि एमालेमा रहेको ७० वर्षे उमेर हद पनि ओलीले हटाएर आफू अनुकूल बनाएका छन्। उनी निकट नेताहरू अब एक कार्यकाल ओली नै अध्यक्ष हुने दाबी गर्छन्।
‘अबको २ वर्षपछि एमालेको महाधिवेशन हुन्छ। त्यसबेला ओली निर्विरोध अध्यक्ष चुनिनुहुन्छ,’ एमाले सांसद एवं नेता दयालबहादुर शाही भन्छन्, ‘यसपछि ओली निर्विकल्प र निर्विरोध अध्यक्ष हो।’ एमालेभित्रका नेताहरूको गतिविधि देख्दा शाहीले भनेजस्तो देखिँदैन।
अधिकांश नेताको मौनता र केहीमाथिको कारबाहीको डण्डाले पनि ओलीको विकल्प एमाले नेतृत्वमा खोजिएको नेताहरूको बुझाइ छ। ओलीमाथिको पछिल्लो वितृष्णा र विवादित विषयले पनि अब ओली फेरि अध्यक्षमा आउने सम्भावना कम रहेको विश्लेषक दाहालको बुझाइ छ।
‘एमालेका अबका मिटिङ नै पनि दुई भागमा विभक्त हुने सम्भावना छ। एकातिर ओली र अर्कातिर विद्या पक्षधर हुने सम्भावना छ। यसैबाट थाहा हुन्छ कि फेरि ओली नेतृत्वमा आउन सक्दैनन्’, दाहालले भने। एमाले सचिवालयको पछिल्लो बैठकले पूर्वउपाध्यक्ष भीम रावल, स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सेनामाथि कारबाही गर्दा समेत केही पदाधिकारीले कारबाही विरुद्धमा उभिएको एमाले वृत्तमा चर्चा छ। ‘एमालेमा ओलीइतर मानिने नेताहरूले कारबाहीविरुद्ध बोलेका थिए। तर ओलीपछि हटेनन् र कारबाही गरेरै छाडे’, सचिवालयका एक सदस्य भन्छन्।
विद्या एमाले नेतृत्वमा आउने आधार
विद्या एमाले नेतृत्वमा आउन सक्ने मुख्य आधार ओलीप्रतिको वितृष्णा भएको कतिपयको बुझाइ छ। ओलीकै कारण नेकपादेखि एमालेसम्म विभाजित बनेकाले अब नेतृत्वबाट विमुख हुनुपर्ने बुझाइ छ। पूर्वएमाले नेता साथै हालका एकीकृत समाजवादी महासचिव घनश्याम भुसाल ओलीले अब राजीनामा दिनुपर्ने बताउँछन्।
उनी ओलीले एमालेमा उनको विपक्षमा बोल्दा मात्र होइन ‘आँखा कर्के पारेर हेर्दा’ समेत कारबाही गर्ने गरेको भुसालको आरोप छ। भुसाल पनि पछिल्लो ताका नेकपा ब्युँताउन लागेको वामपन्थी नेताहरूको बुझाइ छ। नेकपा ब्युँताउन वा पुरानो एमाले एक बनाउन भण्डारीले नेतृत्व गर्न सक्ने एमालेका एक नेताको भनाइ छ। भण्डारीको अर्को आधार, राष्ट्रपति हुँदा उनले खेलेको भूमिका हो।
भण्डारीकै सक्रियतामा पहिले एमाले–माओवादी एक भएको र नेकपा भएको राजनीतिक विश्लेषक दाहाल बताउँछन्। भण्डारीले राष्ट्रपति हुँदा सी जिङपिङलाई समेत नेपाल ल्याउन सफल भएको दाहाल दाबी गर्छन्। यस्तै भण्डारीलाई शक्तिशाली बनाउनमा मदन भण्डारी फाउन्डेसनसमेत लागेको उनले बताए। ‘फाउन्डेसनमा प्रदेशको भन्दा बढी रकम छ। यसैबाट पनि भण्डारीको ग्रोथ पहिले पनि भएको थियो र अहिले पनि हुँदैछ’, दाहाल बताउँछन्।
पछिल्लो वैकल्पिक शक्तिप्रतिको वितृष्णाले पनि भण्डारी राजनीतिमा आउन लागेको बुझाइ छ। ‘उनी (भण्डारी)लाई एमालेको पहिलो महिला अध्यक्ष बन्न मन छ। किनकि, हालसम्म एमालेमा महिला अध्यक्ष भएका छैनन्। यसले वैकल्पिक शक्तिमा पनि महिना नआएकाले उनलाई फाइदा पुग्न सक्छ,’ दाहाल भन्छन्।
ओली नै तगारो!
कुनै बेला एमालेमा भण्डारी–ओलीको गुट एउटै थियो। एमालेको आठौँ महाधिवेशनमा ओली अध्यक्षमा उठ्दा त्यही गुटबाट भण्डारीमा उठेकी थिइन्। ओलीले चुनाव हारे भने भण्डारीले जितिन्। ओली–भण्डारीमा विगतमा एउटै गुट भए पनि अहिले प्रतिस्पर्धामा रहेको कतिपयको बुझाइ छ। यसअघि एमालेले दिएको सम्मान पनि भण्डारीलाई एमालेको राजनीतिमा रोक्नका लागि भएको स्रोत बताउँछ। ‘सम्मानित व्यक्ति हो। सम्मानित भएर बस्दा हुन्छ। भन्ने तवरले सम्मान गरिएको हो’, एमालेका एक पदाधिकारी भन्छन्।
यसअघि एमाले भ्रातृ संगठनका कार्यक्रममा ओली प्रमुख अतिथि बन्ने गरेका थिए। भण्डारीको सक्रियतासँगै ओली विशेष अतिथिमा खुम्चिने गरेका छन्। ‘पार्टी अध्यक्ष र प्रधानमन्त्री हुँदा पनि विशेष अतिथि बन्नुपरेको छ। अध्यक्षज्यूलाई समस्या भएको देखिन्छ’, एमालेका ती नेता भन्छन्, ‘यसैकारण ओलीले भण्डारीको पेलानमा परेको महसुस गरेका छन्।’ राजनीतिक विश्लेषक दाहाल भने अब ओलीले रोकेर भण्डारी नरोकिने बताउँछन्। उनले भने, ‘अब एमालेको राजनीतिमा भण्डारीलाई रोक्न सकिँदैन।’