झापा- भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले सडक तथा संरचनाहरूलाई आर्थिक समृद्धिसँग जोड्नुपर्ने बताएका छन्। सडक बोर्ड नेपालको २२औँ स्थापना दिवशको अवसरमा सोमबार वोर्डमा आयोजीत कार्यक्रममा उनले सडक तथा पूर्वाधारलाई आर्थिक समृद्धीसँग जोड्न आवश्यक रहेको बताए।
अब बन्ने संरचनाहरूले देशको समृद्धि यात्रामा कति महत्व राख्छन् भन्ने विषयलाई ध्यान दिन जरुरी रहेको उनको भनाइ थियो। नेपाल अझै पनि निर्माणकै चरणमा रहेको उल्लेख गर्दै मन्त्री दाहालले अब बन्ने संरचनाहरूलाई दिगो, सुरक्षित र उपयोगी बनाउनेतर्फ ध्यान दिनुपर्ने बताए।
जनजीविका, राजस्व संककल, आर्थिक क्रियाकलाप तथा बृहत जनसंख्या र भूगोललाई प्रत्यक्ष फाइदा पुर्याउने योजनाहरूमा मन्त्रालयले प्राथमिकता दिएको भन्दै मन्त्री दाहालले अब कुनै पनि संरचना निर्माण गर्दा प्राथमिकता निर्धारण गर्नु पर्नेसमेत बताए।
कार्यक्रममा मन्त्री दाहालले सडक बोर्डअन्तर्गत रहेका रुग्ण ठेक्काहरूको शीघ्र व्यवस्थापन गर्न निर्देशन दिँदै सडक मर्मतसँगै अनुगमनलाई समेत प्रभावकारी बनाउन आग्रह गरे।
बोर्डका अध्यक्ष मन्त्रालयका सचिव केशवकुमार शर्माको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा.शिवराज अधिकारीले आर्थिक वृद्धीको प्रमुख आधार सडक समेत भएकाले आर्थिक विकास र वृद्धीलाई सहयोग पुग्ने गरि सडक सञ्जाल विस्तार गर्नुपर्ने बताए। पूर्वाधारमा गरिएको लगानीले दीर्घकालीन प्रतिफल दिने भएकाले कुनै पनि पूर्वाधार तथा संरचना निर्माण गर्दा स्थायित्व र गुणस्तरमा पनि ध्यान दिनु पर्नेमा उनले जोड दिए।