क्षेत्रीयतावादी दलमा टाँसिएर मात्रै मधेशको विकास हुँदैन

डा. बाबुराम भट्टराई १५ पुष २०८१ १३:२१
528
SHARES
क्षेत्रीयतावादी दलमा टाँसिएर मात्रै मधेशको विकास हुँदैन

यही पुस ५ र ६ गतेको मधेश भ्रमण अविस्मरणीय रह्यो। म अन्तर्राष्ट्रिय मैथिली सम्मेलनमा भाग लिन सिरहा गएको थिएँ। त्यही क्रममा जनकपुरमा पार्टी नेसपा (नयाँ शक्ति) को प्रदेश भेला पनि थियो। यसबीचमा त्यहाँका राजनीतिक दलका प्रतिनिधिहरू, व्यवसायीहरू, सरकारी निकायका पदाधिकारीहरू, सभामुख, मुख्यमन्त्री र केही मन्त्रीहरूसँग पनि भेटघाट गर्ने अवसर मिल्यो। मैले सिरहा र जनकपुरको बाटोमा मोटरबाट यात्रा गरेँ। हुलाकी मार्गमा पनि छुट्टै यात्रा भयो। यी सबै मेरा अनुभूति र अनुभव महत्त्वपूर्ण रहेको मैले ठानेको छु।

अन्तर्राष्ट्रिय मैथिली सम्मेलन पुस ५ गते सिरहामा भएको थियो। त्यहाँ नेपाल र भारतका बिहार, झारखण्डलगायतका ठाउँहरूबाट मैथिली विद्वान्हरू आउनुभएको थियो। उहाँहरूले आफ्ना प्रकाशनहरू दिनुभयो। मैथिली भाषा, संस्कृति र सभ्यताबारे विमर्श गर्ने अवसर मिल्यो। मेरा निम्ति मैथिली सभ्यताबारे ताजकीकरण हुने अवसर थियो त्यो। मलाई मैथिली सभ्यता र त्यसले नेपालमा पारेको प्रभावबारे जनमानसमा कम जानकारी रहेछ र अझ बुझाउनुपर्छ भन्ने लाग्यो।

यस विषयमा मैले ठट्टा र गम्भीर ढंगले कुरा पनि राखें। म पहाडमा जन्मिएँ तर मधेशलाई प्रेम गर्छु। प्रेममा कुनै सर्त हुँदैन, निःसर्त हुन्छ। तर यसलाई न मधेशले बुझ्यो न पहाडले। मैले मेरो प्रेम त्यागेको छैन भन्ने कुरा राखेँ। हिमाल, पहाड, तराईमा बस्ने नेपालीमध्येमा पनि पहाडमा बस्ने नेपालीलाई के भ्रम छ भने मधेश भनेको पहिले नेपालको अंग थिएन। त्यो भारतीय मूलका मानिस बस्ने ठाउँ हो भनेर आफ्नै देशका जनतालाई पराई ठान्ने असाध्यै त्रुटिपूर्ण र घातक सोच छ। यथार्थ के हो भने हिमाल, पहाड, तराई मधेश गरेर हाम्रो नेपाल राज्य बनेको छ। त्यसका मधेशभित्रको मिथिला सभ्यता नेपाल र यस भेगको सबभन्दा पुरानो सभ्यता हो।

साहित्यका हिसाबले पनि पन्ध्रौँ शताब्दीमा मैथिली भाषाका महाकवि विद्यापति ठाकुरले जुन कविता लेखेका थिए ती कविताको प्रभाव भारतको विहार, बंगाल, असम, उडिसासम्म परेको र रवीन्द्रनाथ टैगोरले समेतले पनि तिनको प्रशंसा गरेको पाइन्छ। अहिले हामीले बोल्ने नेपाली भाषालाई खस कुरा भनिन्थ्यो। पछि गोर्खा भाषा पनि भनियो। यसले अहिलेको रूप ग्रहण गरेको १९ औँ शताब्दीमा मात्र हो। आदिकवि भानुभक्त आचार्यको काल मान्ने हो भने त्यो १९ औँ शताब्दीको काल हो। त्यसभन्दा ४०० वर्षपहिले नै मैथिली भाषा आधुनिक रूपमा विकसित भइसकेको थियो। त्यसो हुँदा त्यो सभ्यताको विशेष महत्त्व छ।

सोह्रौँ शताब्दीमा मकवानपुरका सेन राजाहरूले मैथिली भाषालाई राष्ट्रभाषा बनाएका थिए। मल्ल कालमा नेपालका सबै क्षेत्रमा मैथिली सभ्यताको प्रभाव थियो। हामीले यो विषय किन बुझ्न जरुरी छ भने पहाड र मधेशबीचमा जुन दूरी सिर्जना गर्ने काम नेपालभित्रका विगतका शासकहरूले गरे। बाह्य शक्ति केन्द्रहरूले पनि आफ्नो भूराजनीतिका निम्ति मनोवैज्ञानिक दरारमा खेल्ने जुन प्रयत्न गर्छन् यसलाई ठिक ढंगले बुझ्नुपर्छ। हिमाल, पहाड, तराई मधेशका भाषा, संस्कृति, धर्मको समुच्चय नै नेपाल हो। इन्द्रधनुषी नेपाल राज्य सभ्यता हो। यो यथार्थलाई मैले मैथिली सम्मेलनका राख्ने कोसिस गरेँ। म के ठान्दछु भने हामी सबै नेपालीले यसलाई त्यही गहिराइका साथ बुझ्न जरुरी छ।

त्यसपछि मैले मोटरबाटो हुँदै जनकपुरसम्मको यात्रा गरेँ। अर्थ–राजनीति, क्षेत्रीय विकास योजना र सहरीकरणको विद्यार्थीको नाताले मैले के देखेँ भने अहिलेको हाम्रो जुन मधेश प्रदेश छ त्यो नेपालको इतिहासदेखि ठूलो खाद्य भण्डार हो। त्यसले हाम्रो जनसंख्यालाई अहिलेसम्म पाल्दै आएको छ। राणाकालपछि समग्र देश अल्पविकास र परनिर्भरताको दुष्चक्रमा फस्यो। मधेशमा पनि प्राकृतिक सम्भावना, मुख्यतः कृषि क्रान्ति र भारतसँग सिमाना जोडिएको हुनाले व्यापार, उद्योगधन्दाको विकासको जुन सम्भावना थियो त्यो अत्यन्त मन्द गतिमा भयो।

अहिले बिस्तारै टुसाउन खोजेजस्तो देखिन्छ। त्यहाँको विकासले खासै गति दिन नसकेको मैले पाएँ। यसलाई म कसरी बुझ्न र बुझाउन चाहन्छु भने आर्थिक विकास र समृद्धिका निम्ति सबैभन्दा पहिले राजनीतिक प्रणाली र राजनीतिक संस्थाहरू सही ढंगले स्थापित हुनुपर्छ र सही राजनीतिक नेतृत्वले, सुविचारित ढंगले, योजनाबद्ध ढंगले कार्य गरेर मात्रै कुनै क्षेत्रको विकास हुन्छ। यसरी हेर्दा मधेशले आन्दोलन गरेर खासगरी २०५२ पछि तत्कालीन माओवादी नेतृत्वमा पहिचान, अधिकार, संघीयताका निम्ति लडाइँ भयो। त्यसैको बलमा मधेशले आफ्नो पहिचानसहितको संघीयता प्राप्त गरेको छ। त्यो एउटा सकारात्मक पक्ष हो। भलै, त्यसमा पनि कतिपय शक्तिले खेल्ने प्रयत्न गरे। त्यसमा फाटो हालेर पहाड र मधेशबीचको दूरी बढाउन खोजे। म त प्रत्यक्ष रूपमा त्यो आन्दोलनमा सहभागी भएको नाताले त्यो कुरा मैथिली सम्मेलनमा राखेँ।

म के प्रस्ट पार्न चाहन्छु भने नेपालका मधेशी, थारुहरू र मुख्यतः पूर्वी र मध्यपहाडमा बस्ने किराँत मूलका जातिहरू, जसलाई हामीले आदिवासी जनजाति भनेका छौँ। मध्य र पश्चिम पहाडमा बस्ने खस आर्यहरू ऐतिहासिक रूपले त्यहाँका मूलवासी हुन्। यी मुख्य जातीय क्लस्टरले नेपाल राज्य बनेको हो। त्यसैले यी तीनैथरीको नेपाल राज्य निर्माणमा आआफ्नो भूमिका छ। तीनैथरी मिलेर मात्र नेपाल बन्नसक्छ भन्ने मेरो मान्यता हो। त्यसैले उनीहरूलाई आआफ्ना भौगोलिक क्षेत्रहरूमा पहिचान र अधिकारसहितको संघीय राज्यको व्यवस्था गरेर मात्रै वास्तविक भावनात्मक र राजनीतिक एकता कायम हुन्छ। त्यसको बलमा आर्थिक विकास र समृद्धि कायम हुनसक्छ भन्ने मेरो बुझाइ हो। त्यही क्रममा मधेशले आफ्नो पहिचान, अधिकारसहितको संघीयता प्राप्त गर्‍यो।

अरू क्षेत्रहरूमा अलिकति बाँकी छन्। त्यो बेग्लै कुरा हो। फेरि पनि लोकतन्त्रको लडाइँमा संघीय लोकतन्त्रको सापेक्षता मधेशले प्राप्त गर्‍यो त्यो एउटा उपलब्धि हो। त्यसमा सबैले गर्व गर्नुपर्छ। त्यसपछि पनि विकास र समृद्धिले गति लिन सकेन। मेरो प्रस्ट बुझाइ के हो भने जातिभित्र वर्ग हुन्छ। हाम्रो समाज जातपात र वर्णमा विभाजित छ। मधेशको आन्दोलनमा सुरुको चरणमा त्यहाँका ब्राह्मण, भूमिहार, राजपुतको बढी नेतृत्व र भूमिका रह्यो। उनीहरू त्यहाँ सानो संख्यामा थिए। तिनीहरूले प्रारम्भिक लोकतन्त्रको भूमिका खेले। पछिल्लो चरणमा त्यहाँका भूमिपतिहरू यादव अनि वैश्यहरूलगायतका समुदायको वर्चस्व रह्यो।

विकास र समृद्धिको चरणमा जाँदा मधेशका मानिस पनि जुन विभिन्न जाति, वर्ण, धर्ममा विभाजित छन् उनीहरूको एकताले मात्रै विकास हुन सक्छ। हिजोको जातपात, वर्णजन्य पहिचानभन्दा माथि उठेर राष्ट्रिय पहिचानका रूपमा मधेशी जनता एकताबद्ध हुनुपर्छ। त्यो चेतना बिस्तारै जागृत भएको मैले पाएँ। वर्णजन्य जुन विभाजन थियो, खासगरी कथित उपल्लो जात र मध्यम भन्नेमा यादवको वर्चस्व थियो त्योभन्दा माथि उठेर सबै वर्णभित्रका अग्रगामी, लोकतान्त्रिक, प्रगतिशील सोच राख्नेहरूबीचको एकता बन्दै गरेको मैले पाएँ। वास्तवमा त्यहाँका राजनीतिक दलहरू, सभामुख, मुख्यमन्त्री, मन्त्रीहरू, कर्मचारी, उद्यमी व्यवसायीसँग संवाद गरेँ। त्यसले बिस्तारै विकास केन्द्रित राजनीति अगाडि बढ्न खोजेको पाएँ। त्यसलाई मैले सकारात्मक रूपले ग्रहण गरेको छु।

मधेशको विकास कसरी हुनसक्छ?

मधेशको विकास अब कसरी हुनसक्छ भन्ने विषयमा पनि हामीले सामान्य कुराकानी गर्‍यौँ। मेरो त्यो अध्ययनको विषय पनि भएको हुनाले मैले व्यवसायीमाझ केही कुरा राखेँ। मेरो बुझाइ के हो भने फेरि पनि अर्थतन्त्रका मुख्यतः तीन क्षेत्र हुन्छन्। पहिलो कृषि अर्थात् वनजन्य, भूमिजन्य, उत्पादनको क्षेत्र। दोस्रो उद्योगको क्षेत्र र तेस्रो बन्दव्यापार, वित्त, आईटीलगायतका सेवा क्षेत्र। यी जुन अर्थतन्त्रका क्षेत्र हुन्छन् तीमध्ये अहिले पनि तराई मधेशमा ठूलो जनसंख्या कृषिमा आश्रित छ। त्यहाँको भूमि पनि कृषिका निम्ति निकै उपयोगी छ।

पहिलो  कृषि क्रान्तिमा जोड दिनुपर्छ भन्ने मेरो बुझाइ हो। कृषिको विकासका निम्ति सबैभन्दा पहिले सिँचाइको व्यवस्था गर्नुपर्छ। त्यसका निम्ति सुनकोशी–मरिन डाइभर्सन योजना करिब पूरा हुँदैछ। म प्रधानमन्त्री हुँदा सुरु भएको सुनकोशी–कमला डाइभर्सन आयोजना थाती भएर बसेको छ। नदी डाइभर्सन योजनाहरूलाई पूर्णता दिएर चुरेको फेदीबाट नहरको शृंखलाको विकास गरेपछि पर्याप्त मात्रमा सिँचाइको व्यवस्था गर्न सकिन्छ। चुरेबाट निस्केका नदीहरूले धेरै कटान गरेका जमिन खेर गइरहेका छन्, त्यसका निम्ति चुरेको फेदीमा बाँधहरू बाँधेर नदी कटानको व्यवस्थापन गर्‍यौँ भने थुप्रै जमिन उकास्न सकिन्छ र सिँचाइको राम्रो व्यवस्थापन गर्न सकिन्छ। त्यसैले पहिलो काम सिँचाइको पूर्वाधारमा ध्यान दिनुपर्छ।

कृषिलाई उद्योग र सेवासँग जोड्नका निम्ति यातायात र सञ्चार क्षेत्रको विकास गर्नुपर्छ। यसका निम्ति हुलाकी लोकमार्गले मधेशका बस्तीहरूलाई ऐतिहासिक ढंगले जोड्छ। हिजोका शासकहरूले हुलाकी मार्गको विकासलाई जोड दिन चाहेनन् र पछि मैले नै हुलाकी मार्गलाई राष्ट्रिय गौरव आयोजनाका रूपमा जोड दिएँ। त्यसको काम अगाडि बढ्दैछ। अझै पनि त्यो पूरा हुन नसक्नु अत्यन्त दुःखद् छ। सिरहा र जनकपुरबीचको जुन कमला नदी छ, त्यो नदीमा रहेको पुल वर्षौँदेखि अलपत्र परेको देख्दा हात्ती छिर्‍यो पुच्छर अड्क्यो भएझैँ लाग्यो। त्यसैले हुलाकी लोकमार्गलाई सबैभन्दा छिटो पूरा गर्नुपर्छ। त्यसो हुँदा त्यहाँका मुख्यमुख्य बस्ती आपसमा जोडिन्छन्। त्यहाँ कृषि औद्योगीकरण हुन्छ। अनि बजार र सेवासँग जोडिन्छ। भारतसँगको खुला सिमाना नेपालका निम्ति आयात–निर्यातको बजार छ, भारतका मुख्य सहरबाट नेपालको चुरेका फेदीका बस्तीहरूसँग जोड्ने खालका सडक बने भने त्यो सडक सञ्जालले त्यसको रूपान्तरणमा मद्दत पुर्‍याउँछ। त्यसपछि अर्को जोड दिनुपर्ने क्षेत्र भनेको शिक्षा हो। शैक्षिक जनशक्तिको विकास नभएसम्म विकास हुन सक्दैन।

दुःखको कुरा छ, सन् २०२१ को जनगणनाले के देखाउँछ भने मधेश प्रदेशमा ४९.७ प्रतिशत जनसंख्या निरक्षर रहेछन्। जबकि नेपालको साक्षरता प्रतिशत ७६ मानिन्छ। विश्वको ९०/९५ पुगिसक्यो। आधा जनसंख्या निरक्षर भएर त्यो ठाउँको विकास कहिल्यै पनि हुन सक्दैन। ठूलो मात्रामा गरीब किसान, दलित, मुस्लिममा शिक्षाको पहुँच कम छ। अभियानकै रूपमा उनीहरूलाई अगाडि सारेर गुणस्तरीय शिक्षा दिनुपर्छ। यसबारेमा मैले त्यहाँका मुख्यमन्त्री, शिक्षामन्त्रीसँग कुरा राखेँ। राम्रो शैक्षिक जनशक्ति उत्पादन गर्न सकियो भने त्यसले उद्योग र सेवाको राम्रो जनशक्ति उत्पादन गर्छ।

अर्थतन्त्रको दोस्रो क्षेत्र उद्योग हो। त्यसका निम्ति मधेश महत्त्वपूर्ण ठाउँ हो। वीरगन्जदेखि जनकपुर, सप्तरीसम्म औद्योगिक क्षेत्रहरू त्यहाँ खुलेका छन्। तिनीहरूका लागि अझ व्यवस्थित ढंगले त्यहाँको तुलनात्मक लाभको क्षेत्रलाई ध्यान दिएर विशिष्ट प्रकृतिको औद्योगिक क्षेत्र विस्तार गर्नुपर्छ। विकसित हुँदै आइरहेका सहरमा साना मध्यम खालका उद्योगको विकास, कृषिजन्य, वनजन्य, पशुजन्य उद्योग हुँदै आधुनिक उद्योगहरूको सञ्जाल निर्माण गर्न सकियो भने त्यसले भारतसँगको परनिर्भरताबाट बचाउँछ। हामी विगतमा जुट, चिनी, सुर्ती निर्यात गथ्र्यौँ। कमसेकम त्योबाहेकका अन्य उद्योग अगाडि बढाउन सकिन्छ।

त्यसपछि तेस्रो क्षेत्र भनेको सेवाकै क्षेत्र हो। त्यसमा वित्त, व्यापार, पर्यटन, मनोरञ्जन, आदि पर्दछन्। अहिले आईटीको दुनियाँ छ। आधुनिक प्रविधि सिकेर मान्छेले घरमै बसीबसी ठूलो कमाइ गर्न सक्छ। गरी पनि रहेका छन्। हामीले दक्ष जनशिक्त तयार गर्‍यौँ र सुविधा दिन सक्यौँ भने मधेशले नेपाली अर्थतन्त्रको ठूलो केन्द्रको रूपमा विकास गर्न सक्छ भन्ने मलाई लाग्छ। मैले यिनै सुझाव त्यहाँका उद्यमी, व्यवसायीहरू, सरकारका प्रतिनिधिहरूसँग राखेँ।

अन्यत्रजस्तै मधेशमा पनि राजनीति केन्द्रमा आउँछ। जतिसुकै असल नीति बनाए पनि तिनको कार्यान्वयन गर्ने भनेको राजनीतिक नेतृत्वमार्फत हो। नेपालको राजनीति केन्द्रीय स्तरमा पनि जुन ढंगले बगेलिएको छ, पुराना पार्टी कांग्रेस, एमाले, माओवादीकै सीमित नेताहरू चरम भ्रष्टाचार र अनियमिततामा डुबेका छन्। तिनीहरूले नै आफ्नो सत्तास्वार्थका निम्ति राजनीतिलाई असाध्यै फोहोरी खेलमा परिणत गरेका छन्। मधेश आन्दोलनका क्रममा अगाडि आएका राजनीतिक दलहरू थिए ती पनि सिंहदरबारको सत्तासँग जोडिएर भ्रष्टीकृत भएका छन्। त्यसैले तिनीहरूप्रति जनताको आम रूपमा वितृष्णा बढेको प्रस्ट रूपमा देखिन्छ।

त्यसो भएको हुनाले अब मधेश र पहाडमा पनि एउटा नयाँ वैकल्पिक राजनीतिको धारलाई विकास नगरेसम्म न देशको राजनीतिले निकास पाउँछ न मधेशका विकास समृद्धिका आकांक्षा पूरा हुनसक्छ। हस्तक्षेपचाहिँ मुख्य रूपमा राजनीतिक सुधारबाट हुनुपर्छ। त्यसैको निम्ति हामीले सुरुदेखि नै वैकल्पिक शक्ति अर्थात् नयाँ शक्ति अभियान चलाएका थियौँ। सतप्रयास र नियत राम्रो हुँदाहुँदै राम्रो परिणाम दिन सकेन। किनभने मधेश केन्द्रित दलहरूसँग मिलेर जाऔँ भनेर पार्टी एकता गर्‍यौँ। मधेश आन्दोलनबाट आएका नेताहरूमा चरम सत्तालिप्सा र असाध्यै संकीर्ण सोच देखापर्‍यो। त्यसले हाम्रो वैकल्पिक राजनीतिक अभियानलाई सघाउ पुर्‍याउनुको सट्टा घाटा पुर्‍यायो। नयाँ शक्तिको वैकल्पिक राजनीतिको जुन छवि थियो त्यो नै धुमिलियो। अहिले फेरि नयाँ ढंगले नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का रुपमा अगाडि बढाएका छौँ।

पुराना पार्टीप्रति वाक्कदिक्क भएका मानिसले विकल्प खोजेको देखियो। मधेशभित्र पनि केही नयाँ दलहरूको उदय हुँदै गएकोले त्यतापट्टि पनि आकर्षित भएको पाइयो। पढेलेखेका युवाले देशव्यापी रूपमै नयाँ वैकल्पिक शक्ति खोजिरहेका छन्। किनभने संघ, प्रदेश र स्थानीय तहका जुन तीनवटा सरकार छन् त्यसमा राम्रो तालमेल मिल्न सकेन भने प्रदेश सरकारले अथवा स्थानीय सरकारले मात्र चाहेको परिणाम ल्याउन सक्दैन। त्यसैले राष्ट्रिय रूपको वैकल्पिक शक्ति बन्यो र त्यसमा मधेशी जनता सहभागी भए, उनीहरू पनि त्यसको अभिन्न अंग भए भने समग्र मधेशको विकास हुनसक्छ। हिजो पहिचानको आन्दोलनमा बनेका क्षेत्रीयतावादी जुन दल थिए त्यो चरण त गुज्रिसक्यो।

विकास र समृद्धिका निम्ति राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा पुँजी प्रविधि परिचालन गरेर मात्रै विकास समृद्धि ल्याउन सक्छौँ। अबको चरणमा क्षेत्रीयतावादी दलमा मात्रै टाँसिएर मधेशको विकास हुन सक्दैन। विकास र समृद्धिका निम्ति नेपालव्यापी रूपको वैकल्पिक शक्तिको आवश्यकता पर्छ भन्ने किसिमको बोध क्रमशः भएको मैले पाएँ। हिमाल, पहाड, मधेशका अग्रगामी, प्रगतिशील, समाजवादी सोच राख्नेहरू एकताबद्ध भएर देशलाई विकल्प दिनुपर्छ। त्यसैका निम्ति हामीले नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) लाई अगाडि बढाइरहेका छौँ। यो विषय राख्दा सकारात्मक प्रतिक्रिया मैले पाएको छु। मेरो विश्वास के छ भने आगामी वर्षभित्र देशले एउटा वैकल्पिक राजनीतिक धार सिर्जना गर्नेछ। त्यसमा इतिहासदेखि सचेत जनता बस्ने ठाउँ भएको हुनाले मधेशले त्यो वैकल्पिक शक्ति निर्माणमा महत्त्वपूर्ण भूमिका खेल्नेछ।

(पूर्वप्रधानमन्त्री एवम् नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का संयोजक डा. भट्टराईरसँग रमेश दवाडीले गरेको कुराकानीमा आधारित)

प्रकाशित: १५ पुष २०८१ १३:२१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast