काठमाडौँ- शीर्षस्थानको लिभरपुलले इंग्लिस प्रिमियर लिगमा आइतबार वेस्ट ह्याम युनाइटेडलाई हराएको छ ।
वर्षको अन्तिम खेलमा लिभरपुलले वेस्ट ह्यामलाई ५-० पराजित गरेको हो । वेस्ट ह्यामको घरेलु मैदानमा लिभरपुलको जितमा लुइस डियाज, कोडी गाक्पो, मोहम्मद सलाह, ट्रेन्ट एलेक्जेन्डर–आर्नोल्ड र डिओगो जोटाले गोल गरे।
डियाजले ३०औं मिनेटमा पहिलो गोल गरे । त्यसको १० मिनेटपछि गाक्पोले गोल गर्दै अग्रता दोब्बर बनाए ।
खेलको ४४औं मिनेटमा सलाह गोल गरेपछि पहिलो हाफमा लिभरपुल ३-० ले अगाडि रह्यो। आर्नोल्डले ५४औं र जोटाले ८४औं मिनेटमा गोल गर्दै लिभरपुलको फराकिलो जित निश्चित गरे ।
लिभरपुलको १८ खेलबाट ४५ अंक पुगेको छ । दोस्रो स्थानको नटिङ्घम फोरेस्टको ३७ अंक छ । वेस्ट ह्याम १९ खेलबाट २३ अंकका साथ १३औं स्थानमा छ ।
अर्को खेलमा साभिन्हो र इर्लिङ हालान्डको गोलमा म्यानचेस्टर सिटीले लेस्टर सिटीलाई २-० ले हराएको छ।