१३ वर्षीया बालिकालाई ललाइफकाइमा विवाह गर्दा जेलको यात्रा

हिमाल प्रेस १५ पुष २०८१ ८:४५
8
SHARES
१३ वर्षीया बालिकालाई ललाइफकाइमा विवाह गर्दा जेलको यात्रा सांकेतिक तस्बिर।

खोटाङ- जिल्ला प्रहरी कार्यालयले नाबालिकासँग विवाह गर्ने युवक (बेहुला)सहित दुई जनालाई पक्राउ गरेको छ। आफन्तकामा हिँडेकी १३ वर्षीया बालिकालाई बाटैमा रोकेर ललाइफकाइ विवाह गर्ने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपाका २८ वर्षीय रमेश राई र बालविवाह गराउनमा संलग्न बालिकाको आफन्त कमला राईलाई प्रहरीले पक्राउ गरेको हो ।

यही पुस८ गते बालिकासँग विवाह गर्ने रमेशलाई पुस १२ गते र कमलालाई पुस १३ गते पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयको प्रवक्ता प्रहरी निरीक्षक मोहन पोखरेलले जानकारी दिए। उनका अनुसार पक्राउ परेका दुवै जनाविरुद्ध बालविवाहसम्बन्धी कसुर अन्तर्गतको मुद्दा चलाइएको छ ।

बालविवाहसम्बन्धी घटना भएको जानकारी पाएपछि फरक–फरक समय तथा ठाउँबाट पक्राउ परेका उनीहरू दुवै जनालाई प्रहरी हिरासतमा राखेर घटनाको विषयमा थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । अभियुक्त उनीहरू दुवै जनालाई जिल्ला अदालतमा उपस्थित गराएर थप अनुसन्धानका लागि पाँच दिनको म्याद थप गरिएको प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए ।

कक्षा–८ मा अध्ययनरत बालिकालाई युवक ९बेहुला०को घरबाट उद्धार गरेर जिल्ला अस्पतालमा स्वास्थ्य परीक्षण गरेपछि आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ । पुस ८ गते युवकको घर पुर्‍याइएकी बालिकालाई पुस९ गते किरात संस्कार अनुसार भित्र्याइएको बुझिएको प्रहरी प्रवक्ता पोखरेलले जानकारी दिए।

मुलुकी अपराधसंहिता २०७४ को परिच्छेद ११ विवाहसम्बन्धी कसुरमा बालविवाह गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद तथा रु ३० हजारसम्म जरिवाना हुने कानुनी व्यवस्था छ। विवाह गर्ने व्यक्तिको उमेर २० वर्षभन्दा कम भएको खण्डमा उक्त विवाह स्वतः रद्द हुने मुलुकी अपराधसंहिताको बालविवाहसम्बन्धी कसुरमा उल्लेख छ ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाले मङ्सिर १४ र १५ गते जालपामा बालविवाह न्यूनीकरणसम्बन्धी क्षमता विकास तालिम सञ्चालन गरेको थियो । सोही कार्यक्रमको प्रभावस्वरुप जालपामा भएको बालविवाहसम्बन्धी सूचना प्रहरीलाई प्राप्त भएको जनाइएको छ ।

प्रकाशित: १५ पुष २०८१ ८:४५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast