अमेरिकाका पूर्वराष्ट्रपति जिमी कार्टरको निधन

हिमाल प्रेस १५ पुष २०८१ ७:१०
14
SHARES
अमेरिकाका पूर्वराष्ट्रपति जिमी कार्टरको निधन तस्बिर साभार : कार्टर सेन्टर

काठमाडौँ- अमेरिकाका पूर्वराष्ट्रपति जिमी कार्टरको निधन भएको छ। सय वर्षीय कार्टरको आइतबार (डिसेम्बर २९) को दिन अमेरिकाको जर्जियामा निधन भएको हो। कार्टर सन् २००२ को नोबेल शान्ति पुरस्कार विजेता हुन्।

१९२४ अक्टोबर १ मा जन्मिएका उनी १९९७ देखि २०८१ सम्म अमेरिकाको राष्ट्रपति बनेका थिए। बीबीसीका अनुसार उनी अमेरिकी इतिहासमा सबैभन्दा बढी बाँच्ने पूर्वराष्ट्रपति हुन्। उनले गत अक्टोबरमा आफ्नो सयौँ जन्मोत्सव मनाएका थिए। अमेरिकाका ३९ औँ राष्ट्रपति कार्टरले संसारमा लोकतन्त्र र मानवअधिकार रक्षाका लागि पनि विशेष योगदान दिएका थिए। उनी कार्टर सेन्टरमार्फत मानवअधिकार अभियानमा सक्रिय थिए। उनले

इजरायल र इजिप्टबीच शान्ति समझौता गराउन विशेष भूमिका खेलेका थिए। उनी सन् १९७७ देखि १९८१ सम्म अमेरिकाका राष्ट्रपति थिए। उनको कार्यकालमा पनामा नहर सन्धि, क्याम्प डेबिड सम्झौता, इजिप्ट र इजरायलबीचको शान्ति सन्धि, सोभियत संघसँगको सन्धि र चीनको जनगणतन्त्रसँग कूटनीतिक सम्बन्ध स्थापना भएका थिए। उनले ३२ वटाभन्दा बढी पुस्तक लेखेका छन्।

सन् १९८२ मा जिमी कार्टरले जर्जियास्थित इमोरी विश्वविद्यालयमा प्राध्यापन गराएका थिए। त्यसपछि उनले रोजालिन कार्टरसँग मिलेर कार्टर सेन्टर स्थापना गरे। गैरनाफामूलक यो सेन्टरले राष्ट्रिय र अन्तर्राष्ट्रिय सार्वजनिक नीति सम्बद्ध विषयमा काम गर्दै आएको छ। साथै सेन्टर संसारका विभिन्न देशमा द्वन्द्व समाधान, प्रजातन्त्र प्रवर्द्धन, मानव अधिकार संरक्षण, रोग तथा अन्य समस्याहरूको रोकथामका प्रयासमा संलग्न छ।

राष्ट्रपति कार्टर र कार्टर सेन्टरले विभिन्न द्वन्द्व समाधानमा सहभागिता जनाएका छन्। इथियोपिया र इरिट्रिया (१९८९), उत्तर कोरिया (१९९४), लाइबेरिया (१९९४), हाइटी (१९९४), बोस्निया (१९९४), सुडान (१९९५), अफ्रिकाको ग्रेट लेक्स क्षेत्र (१९९५-९६), सुडान र युगान्डा (१९९९), भेनेजुएला (२००२-२००३), नेपाल (२००४-२००८), इक्वेडर र कोलम्बिया (२००८), मध्यपूर्व (२००३-हालसम्म) र माली (२०१८-हालसम्म) शान्ति स्थापनामा सेन्टरको योगदान छ।

यसैगरी विभिन्न देशको चुनाव अनुगमनमा पनि कार्टर सेन्टरले मिसन पठाउँदै आएको छ। नेपालमा भएको पहिलो संविधानसभा चुनाव २०६४ को अनुगमनमा कार्टर आफैँ नेपाल आएका थिए।

राष्ट्रपति कार्टरका सन्तान ज्याक, चिप, जेफ र एमी, ११ नातिनातिना र १४ पनाति-पनातिनी जीवित छन्। उनकी पत्नी रोजालिन र एक नातिको निधन भइसकेको छ। ‘मेरो बुबा मेरो मात्र नभई शान्ति, मानवअधिकार र निःस्वार्थ प्रेममा विश्वास गर्ने सबैका लागि नायक हुनुहुन्थ्यो’, पूर्वराष्ट्रपति जिमीका छोरा चिप कार्टरले भने।

कार्टर सेन्टरका अनुसार एटलान्टा र वासिङ्टन डीसी मा सार्वजनिक श्रद्धाञ्जली कार्यक्रमहरू आयोजना गरिनेछ। त्यसपछि जर्जियाको प्लेन्समा उनी अन्त्येष्टि गरिनेछ।

कार्टर सेन्टरले आफ्ना दूरदर्शी संस्थापक निधनप्रति गहिरो शोक व्यक्त गरेको छ। सेन्टरले भनेको छ, ‘मानवताको सेवामा उहाँको लामो र निःस्वार्थ जीवनले हामी र विश्वमा गहिरो छाप छोडेको छ।’

राष्ट्रपति कार्टरले संसारमा सकारात्मक परिवर्तन ल्याउन सकेसम्म व्यापक प्रयास गर्नुपर्ने विश्वास राखेको स्मरण गर्दै सेन्टरले उनको विरासत कार्टर सेन्टरका लागि र करुणा, न्याय, र मानव अधिकारमा विश्वास गर्ने सबैका लागि निरन्तर प्रेरणाको स्रोत बन्ने विश्वास लिएको छ।

प्रकाशित: १५ पुष २०८१ ७:१०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + 20 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast