अन्धकारले ढाकिँदै बंगलादेशको बिहानी

हिमाल प्रेस १४ पुष २०८१ २०:४७
82
SHARES
अन्धकारले ढाकिँदै बंगलादेशको बिहानी

गत अगस्टमा सेख हसिनाको सरकार ढलेपछि अब बंगलादेशमा मिरमिरे बिहानीको सुरुवात भएको ठानियो। तर विश्वमै धेरै युवा जनसंख्या भएका देशमध्येको बंगलादेश अपेक्षित बाटोतर्फ अघि बढेको छैन। बरु यहाँ त पुरानै चलन फर्किएको छ, बदला लिन कानुनको दुरुपयोग। सेख हसिना आफ्नो पालामा विरोधीलाई तह लगाउन यसै गर्थिन्।

यतिबेला बंगलादेशी सरकार नाम चलेका दुई पत्रकारमाथि अनुसन्धान गरिरहेको छ। उनीहरूमाथि अघिल्लो सरकारलाई आन्दोलनकारीको हत्या गर्न उक्साएको आरोप छ। हसिनाको पार्टीबाट सांसदसमेत रहिसकेका एक खेलाडी अन्य १ सय ५० जनासँगै आन्दोलनकारीको हत्याको घटनामा मुछिएका छन्। जबकि घटना भएका बेला उनी बंगलादेशबाहिर क्रिकेट खेलिरहेका थिए।

ती आन्दोलनकारी गत वर्ष मारिएका थिए। यस घटनालाई लिएर बंगलादेशी प्रहरीले यस वर्ष करिब ७०० जनामाथि अनुसन्धान गरिरहेको छ। यसरी आन्दोलनकारीको मृत्युमाथि भइरहेको अनुसन्धानमा सेख हसिनाको पार्टीसँग आबद्ध कार्यकर्तालाई अनुसन्धानमा तान्ने मात्र होइन ठाउँठाउँमा हत्या पनि गरिएको छ।

अर्थशास्त्री मोहम्मद युनुसले बंगलादेशी सत्ता सम्हालिरहेका छन्। आन्दोलनकारी विद्यार्थीको माग स्वीकार गर्दै सरकार चलाइरहेका युनुसमाथि अघिल्लो सरकारले गरेको ज्यादतीबारे छानबिन गर्नुपर्ने बाध्यता छ। तर सेख हसिना सरकारको ज्यादतीको सिकार बनेकालाई न्याय दिइरहँदा बंगलादेशमा अर्को चरणको आन्दोलन र हिंसा सुरु नहोस् भन्नेमा उनी सचेत हुन जरुरी पनि छ। यसो भएमा बंगलादेशी लोकतन्त्रलाई स्थिरता दिने उनको प्रयास खेर जानसक्छ।

‘यो नयाँ बंगलादेश हो, यो तथ्यलाई हामी भुल्दैनौँ। हामी पुरानो बंगलादेशको शासन गर्ने तरिका अपनाउन चाहँदैनौँ,’ युनुसले एक अन्तर्वार्तामा भनेका छन्। सेख हसिनाको शासनकालमा पीडित बनेका भनिएकाहरु यतिबेला न्याय खोजिरहेका छन्। निकै लामो समय बंगलादेशको सत्ता हाँकेकी हसिनाविरुद्ध गत जुलाईमा आन्दोलन सुरु भएको थियो। आन्दोलन थेग्न नसकेर उनी भारततर्फ भाग्ने बेलासम्म करिब १५ सय आन्दोलनकारी मारिएको आँकडा छ।

आफ्नो शासनकालमा हसिनाले विरोधी र आलोचकलाई तह लगाउन कुनै कसर बाँकी राख्दैन थिइन्। हसिना सरकारको निसानामा हजारौँ बंगलादेशी परेका थिए। यो सूचीमा युनुस पनि थिए। युनुसलाई उनी आफैँले स्थापना गरेको लघुवित्त संस्थाबाट निकालिएको थियो। संस्था र पदको दुरुपयोग गरेको आरोप खेपेका उनलाई अनुसन्धानको नाममा निकै दुःख दिइएको थियो। सरकारबाट अनियमितताको आरोप खेपेका उनीमाथि गत अगस्टमा अदालती प्रक्रिया सुरु हुनेवाला थियो। तर बंगलादेशको सत्तामा आएपछि उनीमाथि लागेका तमाम मुद्दा अदालतले खारेज गरिदिएको छ।

पूर्वी पाकिस्तानलाई बंगलादेशमा रूपान्तरण गर्ने लडाइँको प्रमुख योद्धा सेख मुजिब उर रहमानकी छोरी हसिना देश चलाउने हैसियतमा पुग्नसाथ अधिनायकवादी बनेकी होइनन्। पहिलो पटक प्रधानमन्त्री बन्नुअघि उनले सेनाको पन्जाबाट बंगलादेशलाई बाहिर निकाल्न अन्य पार्टीसँग मिलेर आन्दोलन गरेकी थिइन्। सैन्य शासनका बेला हसिनालाई पटकपटक जेल हालिएको थियो।

जब उनी सन् २००९ मा दोस्रो पटक प्रधानमन्त्री बनिन् तब उनी फरक मनस्थितिमा देखा परिन्। सत्तामा फर्कनासाथ उनले शत्रुलाई तह लगाउन हतार गरिन्। आलोचकहरूका अनुसार उनले अदालतको दुरुपयोग गरेर विरोधीलाई जेल हालिन्। कतिलाई त मृत्युदण्डको सजायसमेत दिइयो। जेल र मृत्युदण्डको सजाय पाउनेमा बंगलादेशको प्रमुख इस्लामिक पार्टी जमात ए इस्लामीका कार्यकर्ता पनि थिए। विरोधीलाई यातना दिन हसिना सरकारका पालामा बनाइएका यातना केन्द्र अनुसन्धानकर्ताहरूले पत्ता लगाएका छन्। यातना दिइएका प्रशस्त प्रमाण पनि भेला पारिएको बताइँदैछ। यतिबेला बेपत्तासम्बन्धी करिब १७ सय उजुरीमाथि छानबिन भइरहेको छ।

बेपत्ताका घटनाबारे छानबिन गर्न युनुस सरकारले बनाएको आयोगले बुझाएको प्रारम्भिक रिपोर्टका अनुसार कैयौँलाई टाउकोमा गोली हानिएको थियो। त्यसरी हत्या गरिएकाहरुको शव सिमेन्टको बोरामा हालेर नदीमा फ्याँकिने गरिएको थियो। हसिना सरकारले बेपत्ता बनाएकामध्येका एक हुन्, बंगलादेशी सेनाका पूर्वअधिकृत अब्दुल्लाहिल अमान। उनलाई आठ वर्ष बन्धक बनाएर राखिएको थियो। हसिना सरकार ढलेपछि स्वतन्त्र भएका अमानले भनेका छन्, ‘म प्रत्येक रात भगवानसँग प्रार्थना गर्थेँ, मेरो मृत शरीर कुकुरको खाना नबनोस्।’

हसिना सरकारमा सूचनामन्त्री रहेका मोहम्मद अराफत आफ्नो सरकार अधिनायकवादी नरहेको दाबी गर्छन्। नागरिकलाई बेपत्ता बनाउने नीति अवामी लिगले नलिएको उनको जिकिर छ। बरु उनी बंगलादेशको जासुसी संयन्त्रलाई शंकास्पद मान्छन्। बंगलादेशमा जासुसी संस्थाले के के गर्छन् भन्ने जानकारी र सूचना सजिलै नपाइने उनको भनाइ छ। जासूसी संस्थाहरूको मनोमानी हसिना सरकारका लागि महँगो साबित भएको उनको ठम्याइ छ।

हसिना भागेपछि छोटो समयका लागि बंगलादेश हिंसामा रुमल्लिन पुग्यो। त्यसबखत अवामी लिगका कार्यकर्ता र प्रहरीमाथि आक्रमण भए। जसमा परेर एक सयभन्दा बढीको मृत्यु भयो। बंगलादेशी सरकारका अनुसार हाल बदला लिने नियतले हुने गरेका आक्रमणमा निकै कमी आएको छ। हसिना सरकारमा काम गरेका, सरकार र पार्टीसँग जोडिएका धेरै व्यक्ति हाल आक्रमण वा पक्राउको सिकार हुने डरले लुकेको धेरैको विश्वास छ।

अवामी लिगको युवा संगठनसँग आबद्ध फिरोज खानले गत अगस्टमा आफ्नो सहर चट्टोग्राम छाडेका थिए। असुरक्षित महसुुस भएपछि घर छाडेका खान कैयौँ महिना लुके। अक्टोबरमा आफूसँग भएको पैसा सकिएपछि उनी पैसा लिन साथीकहाँ पुगेका थिए। तर त्यस सेरोफेरोमा रहेका उनका विपक्षीले उनलाई चिनिहाले। उनी त्यहाँ आइपुगेको हल्ला तत्कालै फैलियो र उनलाई समात्न समूह बनिहाल्यो।

विपक्षी समूहबाट बच्न उनी रूखमा चढेका थिए। अँध्यारो भइसकेका कारण त्यस समूहले खानलाई भेटेन। उनलाई उद्धार गर्न उनको परिवारले अटोरिक्सा पठाएको थियो। अटोरिक्सामा सुरक्षितस्थानतर्फ गइरहेका उनलाई फेरि त्यो समूहले भेट्यो र आक्रमण गर्‍यो। रड प्रहारबाट घाइते भएका उनलाई अस्पताल त पुर्‍याउन सकियो तर बचेनन्।

खानमाथि भएको सांघातिक हमलाको योजनाकार मानिएका बंगलादेश नेस्नालिस्ट पार्टी (बीएनपी) सँग आबद्ध एक व्यक्तिलाई समातिएको छ। तर ती व्यक्तिका पक्षमा मुद्दा लडिरहेका वकिल आक्रमणमा उनको संलग्नता नरहेको दाबी गर्छन्। उता खानकी भाउजू आफ्नो देवरको हत्याको कारण राजनीतिक प्रतिशोध भएको बताउँछिन्। ‘नत्र हत्या गर्नुपर्ने कारण के थियो?’ घाइते अवस्थामा रहेका खानलाई भेट्टाएकी रुक्सना अख्तरको प्रश्न छ।

बीएनपीको नेतृत्वमा रहेका एक नेता यस्ता घटनाको मुख्य कारण राजनीतिक उद्देश्य नभई व्यक्तिगत रिसिइबी भएको जिकिर गर्छन्। अवामी लिगका कार्यकर्तामाथि आक्रमण  गर्ने आफ्ना कार्यकतालाई तत्काल कारबाही गर्ने आफूहरूको नीति रहेको उनको भनाइ छ।

बंगलादेशको हिन्दु समुदाय पनि यतिबेला त्रसित छ। किनभने यो समुदायलाई हसिनाको समर्थक मानिन्छ। मुस्लिम बाहुल्य बंगलादेशमा हसिना शासनकालमा हिन्दुलगायतका अलपसंख्यक समुदायले सुरक्षित महसुस गर्ने गरेको बताइन्छ।

पहिले चिट्टागोङ भन्ने गरिएको चट्टोग्राम सहरले गत नोभेम्बरमा धार्मिक तनाव झेल्नुपर्‍यो। मुस्लिम र हिन्दु समुदायबीच सडकमा झडप भयो। एक हिन्दु धार्मिक नेता पक्राउ परे भने एक मुस्लिम वकिलको हत्या भयो। त्यसयता युनुस सरकारले पटकपटक अल्पसंख्यक समुदायको सुरक्षामा आफू संवेदनशील रहेको प्रतिबद्धता जाहेर गर्दै आएको छ। युनुस सरकार के पनि दाबी गर्छ भने बंगलादेशमा अल्पसंख्यकहरू असुरक्षित छन् भनेर आएका खबर अतिरञ्जित हुन्।

बंगलादेशमा हाल बदला लिन प्रहरीमा उजुरी गर्ने चलन बढेको छ। जब हसिना सरकार अस्तित्वमा थियो, तब विपक्षीलाई तह लगाउन यसरी प्रहरीमा उजुरी दर्ता गर्ने गरिन्थ्यो। बंगलादेश प्रहरीका प्रवक्ताका अनुसार जुलाई र अगस्टमा भएको आन्दोलनका बखत आन्दोलनकारीमाथि भएका आक्रमणमा संलग्नविरुद्ध २३ सय ५० उजुरी परेका छन्। छानबिनका क्रममा प्रहरीले हालसम्म १० हजारलाई गिरफ्तार गरिसकेको छ।

‘आन्दोलनका क्रममा आक्रमणमा परेकाहरूको परिवारका तर्फबाट अहिले उजुरी आइरहेका छन्। सरकार प्रमुखका रूपमा म कसैलाई पनि उजुरी नगर भन्न सक्दिनँ। आन्दोलनका क्रममा मारिएको एक बालकको पितालाई म कसरी उजुर नगर भन्न सक्छु र?’ अन्तरिम सरकारका प्रमुख युनुसको प्रश्न छ। युनुसका अनुसार बंगलादेश सरकारले आन्दोलन दबाउन संलग्न उच्च अधिकारीहरूविरुद्ध मुद्दा दर्ता गरिरहेको छ। युनुसको सरकार त भारतसमक्ष हसिनालाई फिर्ता पठाउन औपचारिक रूपमै माग राख्ने योजनामा छ।

राजनीतिक विश्लेषकहरूका अनुसार हाल युनुस सरकारका तर्फबाट अघि बढाइएका यस्ता धेरै मुद्दा छन् जसलाई अत्यधिक चासोका साथ हेरिन जरुरी छ। त्यस्तै मुद्दामध्येको एक हो, फरजाना रुपा र उनको श्रीमान् सकिल एहमदमाथि लगाइएको मुद्दा। यो दम्पती अवामी लिगसँग नजिक रहेको एक टेलिभिजन च्यानलमा काम गर्थे।

हसिना सरकार ढलेपछि रूपा र उनका श्रीमान‍्लाई  जागिरबाट निकालियो। उनीहरूलाई ज्यान मार्ने धम्कीसमेत आए। त्यसपछि किशोरी छोरीलाई साथमा लिएर यो जोडी केही समय लुक्यो। देश छाड्न लागेका यी तीनलाई अन्ततः अगस्ट २१ मा ढाका अन्तर्राष्ट्रिय विमानस्थलबाट समातियो। उनीहरू फ्रान्स जान लागेका थिए। पत्रकार जोडीमाथि आरोप छ, आन्दोलन तथा आन्दोलनकारीमाथिको अपमान।

जुलाईको मध्यतिर तातिँदै गरेको आन्दोलनलाई लिएर रूपाले पत्रकार सम्मेलनमा तत्कालीन प्रधानमन्त्री हसिनालाई प्रश्न सोधेकी थिइन्। त्यसबेला जवाफ दिँदा हसिनाले आन्दोलनकारीले सन् १९७१ को स्वतन्त्रता संग्रामका नायकहरुको अपमान गरिरहेको आरोप लगाएकी थिइन्। त्यही बेला हो हसिनाले आन्दोलनकारीलाई रजाकार भनेको, जसका कारण आन्दोलन थप चर्किन पुग्यो। आखिरमा त्यही पत्रकार सम्मेलन हसिना सरकारका लागि ‘टर्निङ प्वाइन्ट’ बन्यो।

अन्तर्राष्ट्रिय प्रेस स्वतन्त्रतासम्बन्धी वकालत गर्ने संस्थाहरूले रूपा र उनको श्रीमान‍्लाई गैरकानुनी रूपमा पक्राउ गरिएको भन्दै युनुस सरकारको आलोचना गरिरहेका छन्। हसिना शासनकालमा पत्रकारमाथि जेजसरी अन्याय गरिन्थ्यो, युनुस सरकारको पालामा पनि त्यसले निरन्तरता पाएको उनीहरूको भनाइ छ।

रुपा र एहमदलाई जमानतमा रिहा गर्न मानिएको छैन। बरु अन्य दुई पत्रकारमाथि पनि आन्दोलनकारीको हत्या गर्न उक्साएको भन्दै मुद्दा चलाइएको छ। यतिबेला अन्य कैयौँ पत्रकार पनि फरकफरक मुद्दामा अदालत धाइरहेका छन्। उता युनुस सरकार पत्रकारमाथि लागेका आरोपबारे छानबिन गर्न आयोग बनाएको बताउँछ। झुटो आरोप लागेका पत्रकारलाई रिहा गरिने सरकारको प्रतिबद्धता छ।

यो आयोगलाई रूपा र एहमदले पत्र लेखेका छन्, जसमा उनीहरूले आफूहरू कुनै पनि हत्याको घटनासँग सम्बन्धित नरहेको बताएका छन्। उसो त उनीहरूको परिवारका सदस्यहरुको जिकिर पनि छ, ‘रूपा र उनका श्रीमान् दुवैले निष्पक्ष पत्रकारिता गरेका थिए।’

केही समयअघि पाका वकिल जी खान पन्नाले आफूमाथि कसैको हत्याको आरोप लागेको थाहा पाए। उनलाई यो खबर एक पत्रकारले दिएका थिए।

तरकारी व्यापारी मोहम्मद बाकेर आन्दोलनका क्रममा गोली लागेका छोरालाई न्याय दिलाउन संघर्ष गरिरहेका छन्। राजनीतिक रूपमा सक्रिय वकिलहरूले बाकेरलाई प्रहरीसमक्ष उजुरी दिन मद्दत गरेका थिए। बाकेर र वकिल मिलेर एक सय ८० व्यक्तिको सूची बनाई उजुरीमा विपक्षी बनाइएको थियो। ७० वर्ष नाघेका वकिल खान त्यही सूचीमा परेका हुन्। जबकि खान आन्दोलनकारीको पक्षमा बोलिरहेका थिए।

‘यो देश यसरी चलाउन सम्भव छ? पक्कै छैन,’ खानको भनाइ छ। आफूलाई किन मुछियो, खान पत्तो पाउन सकिरहेका छैनन्। खानसँग नजिक रहेकाहरू भने यसो भन्छन्, ‘धर्मनिरपेक्ष विचार बोक्ने भएका कारण खानलाई फसाउन खोजिएको हो।’ हसिना शासनको अन्त्यपछि बंगलादेशमा धर्म निरपेक्षता धरापमा परेको धेरैको बुझाइ छ। यतिबेला बंगलादेशी राजनीतिमा इस्लामिक समूहहरूको जगजगी बढेको राजनीतिक विश्लेषकहरू बताउँछन्।

बाकेरले वकिल खानलाई राम्रोसँग चिनेका छैनन्। बाकेर आफूले खानलाई एक दुई पटक टेलिभिजनमा देखेको सुनाउँछन्। छोराको हत्या प्रयासमा संलग्नहरुको सूचीमा बाकेरको नाम पर्नु गल्ती भएको उनको स्वीकरोक्ति छ। यो मुद्दामा खानले जमानत पाइसकेका छन्। यद्यपि मुद्दाबाट उनको नाम औपचारिक रूपमा हटेको छैन।

‘म सामान्य मान्छे हुँ। हजारौँको हत्या गर्ने, घाइते बनाउनेहरुविरुद्ध मैले मुद्दा हालेको हुँ’, बाकेर भन्छन्। वाल स्ट्रिट जर्नलको सहयोगमा

प्रकाशित: १४ पुष २०८१ २०:४७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast